काठमाडौं।यातायात व्यवस्था विभागले विहिबार दिउँसो अचानक सार्वजनिक यातायातको भाडा बढाउने निर्णय भएको सूचना सार्वजनिक गर्यो।
विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा बिहीबार बसेको बैठकले उपत्यकाभित्र र बाहिर सबै ठाउँमा लागु हुने गरी भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो। वैज्ञानिक भाडादर अनुसार २० प्रतिशतसम्म भाडा वृद्धि गरिएको जानकारी गराउँदै केही समयभित्रै विभागको वेवसाइटमार्फत भाडादर सार्वजनिक गर्ने विभागकै कर्मचारीले जानकारी गराएका थिए।
विभागका निर्देशकहरु कुनै संचारमाध्यममा १२ प्रतिशत भाडा बढेको सूचना सम्प्रेषित भइरहँदा आफैले उत्साहित हुँदै २० प्रतिशत बढेको जानकारी दिइरहेका थिए।मानौं उपभोक्तालाई राहत दिने निर्णय विभागबाट भइरहेको थियो। अहिले भाडा बढाउनुपर्ने कुनै कारण थिएन। दशैंमा मात्रै भाडा बढेको थियो।
विभागले भाडा वृद्धिको जानकारी गराउँदा यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समेत अनविज्ञजस्तै देखिन्थ्यो। महासंघका महासचिव सरोज सिटौंलाले भाडा वद्धिको बारेमा कुनै जानकारी नपाएको बताएका थिए।‘भाडा बढ्यो र? कति बढेछ?’उनले बिजमाण्डूसँग उल्टै प्रश्न गरेका थिए।
यो पटक भाडा बढाउन यो महासंघले कुनै दबाब दिएको थिएन्। भाडा बढाउन सार्वजनिक यातायातनै ठप्प पार्ने घोषणासहितको हड्तालमा उत्रिने महासंघले कुनै दबाब बिनै २० प्रतिशत भाडा वृद्धिको वम्पर पाएका थिए।विभागका उच्च तहका कर्मचारी र व्यवसायीको आपसी मिलेमतोमा भाडादर वृद्धि गरिएको थियो।र,अस्त्र थियो वैज्ञानिक भाडादर।सरकारले ०६५ फागुन २१ गते लागु गरेको वैज्ञानिक भाडादर कार्यान्वयनमा ल्याएको थियो। त्यही अस्त्रको उपयोग गर्दै विभागका उच्च तहका कर्मचारी र यातायात व्यवसायीको मिलेमतोमा भाडादर निर्धारण हुँदै आएको छ।
त्यो वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम पदार्थको वेटेज ३५ प्रतिशत र यातायातका कर्मचारीको तलब,ह्रासकट्टी लगायतका कम्पोनेन्टलाई ६५ प्रतिशतको वेटेज दिइएको छ।तर यो वेटेजका आधारमा नभई मिलेमतोमा भाडादर निर्धारण हुन्छ।पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि विभागले भाडा घटाउन कुनै पहल गर्दैन्।यो पटक पनि मिलेमतोमा भाडादर वृद्धिको निर्णय गरिएको थियो।तर प्रधानमन्त्री कार्यालयबाटै भाडादर स्थगनको निर्देशन आएपछि विभागले वृद्धि भएको भाडादर स्थगन गर्यो।विभागका उपहानिर्देशक प्रेम कुमार सिंहले भाडादर वृद्धि गर्ने निर्णय तत्कालका लागि स्थगन भएको बताए।