६० वर्षपछि जनकपुर विमानस्थलमा पनि ‘आइएफआर’, बुद्ध एयरले परीक्षण उडान गर्दै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ जेठ १२ गते ११:४१ | May 26, 2019
६० वर्षपछि जनकपुर विमानस्थलमा पनि ‘आइएफआर’, बुद्ध एयरले परीक्षण उडान गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। सञ्चालनमा आएको करिब ६० वर्षपछि जनकपुर विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स(आइएफआर) लागू हुने भएको छ।

आइतबार बेलुका बुद्ध एयरको एटिआर-७० जहाजमार्फत आइएफआर कार्यान्वयनमा ल्याउन परीक्षण उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका मेकानिकल इन्जिनियर कुलप्रसाद सिंखडाले जानकारी दिए। जनकपुर विमानस्थल सन् १९६० बाट सञ्चालनमा आएको थियो।

सिंखडाका अनुसार विमानस्थलमा आइएफआर कार्यान्वयनका लागि सबै पूर्वाधार राखिइसकेको छ।'जनकपुरमा पनि चन्द्रगढीसँगै आइएफआर सुरु गर्ने योजना रहेको थियो। यसका लागि एयरफिल्ड लाइट (रनवे लाइट, डिम लाइट, फग लाइट, ट्याक्सी-वे लाइट) जडान गरियो। तर इनरुट प्रोसिड्योरका लागि रुख काट्नुपर्ने अवस्था देखिएपछि यता आइएफआर सुरु गर्नका लागि केही समय थप लागेको हो,'सिंखडाले बिजमाण्डूसँग भने।

आरन्याप(रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स, भिएफआर) प्रोसिड्योरमा परीक्षण उडान गरेपछि चालक, एयर ट्रान्सपोर्ट म्यानेजमेन्ट र एयर नेभिगेसन सिस्टम डिपार्टमेन्टले सुरक्षित, सहज र विश्वसनीय ठहर गरेपछि आन्तरिक विमानस्थलमा आइएफआर लागू गरिँदै आएको प्राधिकरणले जनाएको छ।

'परीक्षण उडान पछि चालक, एयर ट्रान्स्पर्ट म्यानेजमेन्ट र एयर नेभिगेसन सिस्टम डिपार्टमेन्टले सुरक्षित, सहज र विश्वसनीय भनेपछि डाटा सेटलाइटमा कनेक्ट गर्छौँ। त्यही अनुसारको प्रोसिड्योर बनेपछि औपचारिक रुपमा आइएफआर लागू गरिनेछ। आइएफआर लागू भएपछि मौसमले गर्दा कम भिजिविलिटीमा जहाज अवतरण गर्न सकिन्छ।' उनले भने।

प्राधिकरणका अनुसार चालक र प्रविधिकको प्रतिकृया अनुसारको डाटा सेटलाइटमा कनेक्ट गर्नका थप दुई महिना समय लाग्नेछ।काठमाडौं-जनकपुर उडान समय आधा घण्टा छ। परीक्षण उडानका लागि कम्पनीका प्राविधिक र क्यानका प्रावधिक रहनेछन्।

इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स लागू भएपछि २५ सय मिटरको भिजिविलिटीमै अवतरण गर्न सकिने प्राधिकरणले जनाएको छ। भिजुअल फ्लाइट रुल्स 'भिएफआर'मा भने जहाज अवतरणका लागि पाँच हजार मिटर भिजिविलिटी चाहिन्छ।