माडीमा मगर होमस्टे: पर्यटकलाई सेवा, सँस्कृति संरक्षण, आयआर्जनमा टेवा

बिजमाण्डू
२०७६ जेठ ५ गते ०९:४७ | May 19, 2019
माडीमा मगर होमस्टे: पर्यटकलाई सेवा, सँस्कृति संरक्षण, आयआर्जनमा टेवा

Tata
GBIME
Nepal Life

चितवन। मारुनी, सोरठी, कौडा, सालैजो, ठाडेभाका, लाखेनाच लगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान हो । चितवनको माडी नगरपालिका ११ मा सञ्चालनमा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टेले जातीय सँस्कृतिको संरक्षणसँगै पर्यटकलाई सेवा दिइरहेको छ। यसले मगर समुदायको आयआर्जनमा टेवा पुगेको छ ।

नेपालको जातीय सँस्कृतिमा रुचि राख्नेहरुले पुन मगर जातीको गीत र नृत्यको आनन्द लिँदै घरकोजस्तै खाना र आत्मीय स्वागत पाउन अब देशको दुर्गम मगर बस्ती जानु पर्दैन। चितवनको दक्षिणी भेगमा रहेको माडी नगरपालिकाको शिवद्वार बस्तीमा सञ्चालनमा रहेको मगर होमस्टे पुग्ने जोकोहीले मगर सँस्कृतिसँगै पर्यापर्यटनमा रमाउन सक्छन्।

जलस्रोत र जैविक विविधतामात्र नभई नेपाल सँस्कृतिमा समेत धनी मानिन्छ। एक सय २५ जाति बसोबास गर्ने नेपालको मध्यक्षेत्रमा पर्ने चितवन यस्तो एकमात्र जिल्ला हो, जहाँ नेपालका विभिन्न भेगबाट बसाई सरेर आएका मानिसको बसोबास छ। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको माडी नगरपालिका जिल्लाको कान्छो नगरपालिका हो । यही नगरपालिकाको ११ नम्बर वडामा अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टे २०७२ साल पुस १२ गतेदेखि सञ्चालनमा आएको हो।

बाढीले बिस्थापित, माडीमा स्थापित
तीनतिर निकुञ्ज र दक्षिणमा भारतीय सीमासँग जोडिएको सोमेश्वर पहाडले घेरिएको सुन्दर उपत्यका माडी दुई सय ३८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। २०६८ सालको जनगणना अनुसार माडीको जनसंख्या ३७ हजार ६ सय ८३ रहेको छ।

आदिवासी थारु बाहुल्य क्षेत्र माडीमा पछिल्लो समय खस आर्य, जनजाति र अन्य समुदायका मानिस समेत बसोबास गर्छन्। म्याग्दी र पर्वतबाट २०२१ सालमा माडीको शिवद्वार बस्तीमा बसाई सरेर आएका ७० घर पुन मगरमध्ये अहिले जम्मा १२ घर मगर रहेका छन्।
२०२६ सालको बाढीले विस्थापित भएपछि ५० भन्दा बढी घरधुरीका मगर पुनर्वासका लागि बाँके पुगे। शिवद्वारमै रहेका १२ घरधुरी मगरमध्ये सात पुन मगर, एक थापा मगर, दुई नेवार र एक राई परिवारले अहिले शिवद्वारमा होमस्टे सञ्चालनमा ल्याएका छन्।

एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ११ घर परिवारले ४४ बेड क्षमताको होमस्टे सञ्चालनमा ल्याएको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले जानकारी दिए। एट्याच बाथरुमसहितको कोठा, स्थानीय परिकार र मगर साँस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा भित्र्याउने उद्देश्य लिइएको मगर बताउँछन्।

निकुञ्जको सीमा भएर बग्ने रिउ नदी किनारसँग जोडिएको शिवद्वारमा पशुपालन, खेतीकिसानी र माछापालन गरिँदै आएको उनले बताए। ‘खेतीकिसानीलेमात्र खान नपुग्ने अवस्था देखेर विभिन्न संघसंस्थाको सहयोगमा होमस्टे सुरु गरेका छौँ’ अध्यक्ष मगर भन्छन्, ‘निकुञ्जको गैँडा र अरु जनावर आएर बालीनाली खाइदिने गरेपछि विकल्प खोजेका हौँ ।’ निकुञ्जभित्र पदमार्ग निर्माण गरी माडीको बगईहुँदै शिवद्वार निस्कने रुट विकास गर्नसके आफूहरुलाई राम्रो हुने उनको भनाइ छ।

निकुञ्ज नजिकको बस्ती भएकोले शिवद्वार वन्यजन्तु तथा चरा अवलोकनका लागि उपयुक्त देखिन्छ। पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन्। नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ। नेपाल जेसीजका पूर्वअध्यक्ष महेश दाहाल होमस्टे सञ्चालकहरुको आत्मीय आतिथ्यता र मगर सँस्कृतिको अवलोकन गर्न पाउनु यहाँको प्रमुख आकर्षण भएको बताउँछन् ।

केही समय पहिले शिवद्वारस्थित होमस्टेमा बास बसेर फर्केका दाहालले मगर सँस्कृति र उनीहरुको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताउँछन् । स्वस्थ्यकर खाना, आरामदायी बसाई र मनोरञ्जनात्मक मगर सँस्कृतिको अवलोकनले होमस्टे बसाई अविष्मरणीय बनेको उनले अनुभव सुनाए।

मगर होमस्टेको घर नम्बर ६ की सञ्चालक गीता पुन मगरले एक महिनाअघि नै होमस्टे तयार भई अनौपचारिकरुपले सञ्चालनमा आएकोे बताइन् । एक महिनामा एक सय २० जना अतिथिलाई होमस्टेमा स्वागत गरिसकेको जानकारी दिँदै उनले भनिन्, ‘खेतीपातीलेमात्र खानलाई समस्या थियो। होमस्टे सञ्चालनमा ल्याएपछि आम्दानीको स्रोत थपिएको छ।’ गोठमा गाई र खोरमा कुखुरा पालेकी गीताले होमस्टेको घर निर्माणमा पाँच लाख रुपैयाँ खर्च भएको बताइन्।

घर निर्माणका लागि निकुञ्जले मध्यवर्ती उपभोक्ता समितिमार्फत् आवश्यक काठ निःशुल्क उपलब्ध गराएको, माडी नगरपालिकाले पाँच हजार र तराई भूपरिधि कार्यक्रमले ६ हजार रुपैयाँ अनुदान दिएको उनले जानकारी दिइन्। स्थानीय सहकारीबाट तीन लाख रुपैयाँ ऋण लिएर बाँकी रकम थपथाप गरी होमस्टेका लागि घर निर्माण गरेको उनले सुनाइन्।

मगर होमस्टे निर्माणका लागि विश्व वन्यजन्तु कोषले हरियो वन र तराई भूपरिधि कार्यक्रममार्फत् आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। कोषबाट प्राप्त रकममध्ये तराई भूपरिधिले सहकारीमा घुम्ती कोषका रुपमा ६ लाख रुपैयाँ जम्मा गरेको थियो। त्यसैको आधारमा सहकारीले होमस्टे सञ्चालकहरुलाई ऋण प्रवाह गरेको थियो।

कोषकै रकमबाट हरियो वनले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिने सामुदायिक भवन निर्माण, साँस्कृतिक पोशाक, मादल, साउण्ड सिस्टम र होमस्टे सञ्चालकलाई तालिममा कूल पाँच लाख २० हजार रुपैयाँ खर्च गरेको छ। होमस्टे सञ्चालनसँगै पर्यापर्यटनमा सहयोग पुगोस् भन्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जले आठ लाख रुपैयाँको जैविक विविधता संरक्षण कोष स्थापना गरिदिएको छ।