मार्जिन सुविधा लिएर शेयरको स्टक बढाउँदै लगानीकर्ता, बजार घट्दा पनि एक अर्बको कारोबार

बिजमाण्डू
२०७६ बैशाख ९ गते १५:२७ | Apr 22, 2019
मार्जिन सुविधा लिएर शेयरको स्टक बढाउँदै लगानीकर्ता, बजार घट्दा पनि एक अर्बको कारोबार

काठमाडौ। बजार सुधार हुन थालेसँगै मार्जिन कर्जा लिएर कारोबार गर्ने लगानीकर्ता बढ्न थालेका छन्। शेयर बजार लगातार सुधार हुन थालेपछि बैंकहरुले पनि बोलाइ बोलाइ शेयर कर्जा दिन थालेका छन्। 

Tata
GBIME
Nepal Life

लगानीकर्ताले शेयर स्टक बढाउन मार्जिन सुविधा लिन थालेका हुन्। 

अबको दुई वर्षमा शेयर बजारले यस अगाडि अधिकतम विन्दुलाई उछिन्ने अनुमान लगाउँदै शेयरको स्टक बढाउन थालेका हुन्। बजार सुधार हुन थालेसँगै दोस्रो बजारमा ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार हुन थालेको हो। 

बाणिज्य बैंकको शेयरमा दिनदिनै उछाल आउँदा मार्जिन सुविधाको सीमा पनि बढ्न थालेको हो। मार्जिन सुविधाका लागि ब्रोकरहरुले मध्यस्थता गर्दै आएका छन्। जति धेरै कारोबार भयो ब्रोकर कमिसन पनि राम्रो आउने भएपछि ब्रोकरहरुले लगानीकर्तालाई मार्जिन सुविधाको लागि मध्यस्थता गर्ने गरेका हुन्। 

बढ्दो ट्रेण्डमा रहेको शेयर बजारमा मार्जिन सुविधा सबैभन्दा सुरक्षित हुने भन्दै बैंकहरुले पनि सुविधा लिन आह्वान गरिरहेको एक ब्रोकरले बताए। बजारमा पुराना लगानीकर्तासँगै नयाँ लगानीकर्ताको प्रवेश पनि बढिरहेको छ। 

पुराना लगानीकर्ताले मार्जिन सुविधामार्फत शेयर खरिद गरिरहेका छन्। त्यस्तै नयाँ लगानीकर्ताले पनि विस्तारै शेयर खरिद गर्न थालेको एक ब्रोकरले जानकारी दिए। गएका दिनमा बाणिज्य बैंकको मात्रै शेयर बढिरहेकोमा आजदेखि बीमा कम्पनीकोको बजार बढ्न थालेको छ। 

बाणिज्य बैंकको मात्रै बजार मूल्य सुधार हुँदा तुलनात्मक रुपमा बीमा कम्पनीको बजार मूल्य कम छ। यसले गर्दा बाणिज्य बैंकको शेयरमा नाफा बुक गरेर बीमा कम्पनीको शेयरमा लगानीकर्ता सिफ्ट भएका हुन्। 

सोमबार शेयर बजारमा ७.२६ अंकले करेक्सन देखिएको छ। कारोबारको अन्तिम घण्टामा बाणिज्य बैंकको शेयर सप्लाइ बढ्दा १७ अंकसम्मले गिरावट आएको थियो। जीवन तथा निर्जीवन बीमा कम्पनीको सूचक र उत्पादन तथा प्रसोधनको सूचक बढे पनि बाँकी सुचक तथा उसूचक ओरालो लागेका छन्। 

नेप्से सूचक ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा ओर्लिएको छ। कारोबार रकम भने एक अर्ब तीन करोड रुपैयाँको भएको छ। आइतबार पनि एक अर्ब दुई करोड रुपैयाँको करोबार भएको थियो। 

आज पनि नेपाल बैंकको अधिकतम ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार पनि बैंकको अधिकतम कारोबार भएको थियो। 

एभरेष्ट इन्स्योरेन्सको कारोबारमा अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको बजार मूल्य ३२ रुपैयाँले बढेर ३५४ रुपैयाँ पुगेको छ। आज अधिकतम कमाउनेमा बीमा कम्पनीका शेयरधनीहरु छन्।