तोङ्बाको कच्चा सामग्री कोदो भारतबाट पैठारी गरिन्छ, कोदोमा मुलुक किन छैन आत्मनिर्भर ?

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ चैत्र १० गते १५:०५ | Mar 24, 2019
तोङ्बाको कच्चा सामग्री कोदो भारतबाट पैठारी गरिन्छ, कोदोमा मुलुक किन छैन आत्मनिर्भर ?


विराटनगर। तोङ्बा पूर्वी पहाडमा प्रसिद्ध छ । तोङ्बा सँगसँगै छ्याङ र निगारको विक्री पनि निकै छ । धनकुटाको हिलेमा त तोङ्बा चोक नै छ । तोङ्बा, छ्याङ, निगार जे भने पनि मदिराका अलग/अलग प्रकार हुन् तर उत्पादनको मुख्य सामग्री भने कोदो हो ।

Tata
GBIME
Nepal Life

‘कोदाको घरेलु’ भनेपछि पहाडतिर अर्को रुचाइने प्रकार हो ।तोङबा, छ्याङ, निगार, कोदाको घरेलु जे भने पनि लोकमा चलेका तर सरकारी निकायमा कानुनी प्रक्रिया पूरा नगरिएका ती शुद्ध नेपाली ब्रान्ड हुन् ।तर मौलिक नेपाली ब्रान्डका मदिरा उत्पादनमा प्रयोग गरिने मुख्य कच्चा पदार्थ कोदोमा नै देश आत्मनिर्भर छैन । पूर्वी पहाडमा उत्पादन गरिने यस्ता घरेलु मदिराको मुख्य कच्चा पदार्थ कोदो भारतबाट पैठारी गरिन्छ।

पूर्वी नेपालमा कोदो पैठारी गरिने मुख्य नाका विराटनगर र काँकडभिट्टा हुन् । काँकडभिट्टा नाकाबाट चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा १३ करोड २ लाख ५५ हजार मूल्यको ५ हजार १ सय ५१ टन कोदोको पैठारी भएको छ । यसबाट ६५ लाख १२ हजार राजस्व प्राप्त भएको छ ।
सोही नाकाबाट अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १९ करोड ५० लाख १० हजार मूल्यको ७ हजार ५ सय ४४ टन कोदो पैठारी भएको देखिन्छ । यसबाट ९७ लाख ५० हजार राजस्व सङ्कलन भएको छ ।

काँकडभिट्टाका तुलनामा विराटनगर नाकाबाट भने कोदोको पैठारी कम छ । विराटनगर नाकाबाट चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा ४ करोड ३३ लाख ३५ हजार मूल्यको १ हजार ५ सय ५२ टन कोदो पैठारी भइसकेको छ । यसबाट २२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७४/७५ मा ४ करोड ८० लाख ५० हजार मूल्यको १ हजार ५ सय ४४ टन कोदो आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यसबाट २४ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।कोदोको पैठारीमा भन्सार कार्यालयले मूल्यको ५ प्रतिशत कृषि सुधार शुल्क असुल गर्दछ ।

बसाइँ सराइ र वैदेशिक रोजगारी मुख्य समस्या
कृषि मन्त्रालयका उपसचिव एवम् कृषि विज्ञ राजेन्द्र उप्रेतीका अनुसार कम्तीमा पनि तोङ्बाका लागि चाहिने कोदोमा नेपालको पहाडी क्षेत्र आत्मनिर्भर हुनसक्छ।

‘पहाडबाट ठूलो जनसङ्ख्या तराईतिर बसाइँ सर्नु र युवाहरूको अधिकांश हिस्सा वैदेशिक रोजगारीमा जानु, यी दुई मुख्य कारण हुन्’, विज्ञ उप्रेतीले भने, ‘पहिले–पहिले पूर्वी पहाडका कतिपय भागमा उब्जनीको २५ प्रतिशत भाग दिएर जग्गाधनीले खेती गर्न लगाउँथे, हिजोआज ७५ प्रतिशत हिस्सा दिन्छु भन्दा पनि मान्छे पाइँदैनन् । यस्तो छ अवस्था ।’ खेती गर्ने मानिसका अभावमा पूर्वी पहाडका कोदो फल्ने अधिकांश डाँडा बाँझै रहेको उनले बताए ।