काठमाडौं। शेयर बजार सूचक तीन वर्ष सात महिना (४३ महिना) अगाडिको अवस्थामा फर्किएको छ। बिहीबार शेयर बजार ८.२१ अंकले घटेर १११२.८७ अंकमा ओर्लिएको हो। नेप्से सूचक यस अगाडि २०७२ साउन ३१ गते १११२.०५ विन्दुमा थियो। त्यतिबेला बजार बढ्दै यो बिन्दूमा पुगेको थियो भने अहिले घट्ने क्रममा बजार त्यहाँ पुगेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि योजना ल्याएपछि बजार निरन्तर उकालो लाग्न थालेको थियो। त्यसक्रममा २०७३ साउन १२ गते बजार बढेर अहिलेसम्मकै उच्च १८८१ अंकसम्म पुगेको थियो। बैंक तथा वित्तीय संस्थाले चार गुणा पुँजी जुटाएसँगै दोस्रो बजारमा शेयर आपूर्ति बढ्दा पछिल्लो साढे दुई वर्षदेखि शेयर बजार घट्दो क्रममा छ।
बैंकसँगै बीमा कम्पनीको पनि पुँजी वृद्धि योजनाले दोस्रो बजारमा शेयर आपूर्ति बढेको हो। पुँजी वृद्धि योजना अन्तिम चरणमा पुगेसँगै बैंकको व्याजदर बढ्न थालेपछि शेयर बजार ओरालो लाग्न सुरु भएको थियो।
शेयर बजार अधिकतम विन्दुमा पुग्दा बैंकको ब्याजदर एकल अंकमा थियो। जसले गर्दा शेयर बजार बढ्न मद्दत पुगेको थियो। अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव देखिन थालेपछि शेयर कारोबारमा पनि असर पार्दै आएको छ।
पूर्व बैंकर तथा बजारबार जानकार अनलराज भट्टराई बैंक तथा वित्तीय संस्थाको नाफा बढे पनि लाभांश वितरणको क्षमतामा ह्रास आउँदा लगानीकर्तामा त्यसको प्रभाव देखिएको बताए। उनले शेयर बजारमा स्थायी लेखा नम्बर, करलगायतका विषय उठ्दा लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको उल्लेख गरे। 'यो त्यति ठुलो कुरा होइन, तर लगानीकर्तालाई बुझाउन नसक्दा केही कमजोरी भएको देखिन्छ,' उनले भने।
यसैगरी नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष आत्माराम घिमिरेले अर्थतन्त्र चलामान हुन नसक्दा पुँजी बजारमा पनि त्यो विषय परावर्तन देखिएको बताए। 'सरकारले खर्च गर्न सकेको छैन, त्यसले बजारमा तरलता सिर्जना गर्न नसक्दा बजारलाई पनि असर गरेको देखिन्छ,' उनले भने।
शेयर बजार बढ्दा दैनिक एक अर्बदेखि दुई अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेकोमा हाल त्यो २०/३० करोडमा सिमित हुने गरेको छ। बजारमा उच्च आपूर्ति र चर्को ब्याजदरले लगानीकर्तालाई प्रभावित बनाएको हो।
यस्तो रह्यो विहीबारको शेयर बजार
यो साताको अन्तिम कारोबार दिन विहीबार शेयर बजार ११२०.८२ अंकमा खुलेको थियो। कारोबार अवधिभर ओरालो देखिएको बजार अन्तिममा १११२.८७ अंकमा बन्द भएको छ। विहीबार १६४ कम्पनीको ८० लाख ९५ हजार कित्ता शेयर २ अर्ब १६ करोड रुपैयाँको किनबेच भएको छ।
विहीबारको कारोबार गत मंसिर १९ गतेको भन्दा पनि तल झरेको हो। गत मंसिर १९ गते शेयर बजार १११८.१३ विन्दुसम्म झरेको थियो। त्यस पछि बजार १२१६.२७ विन्दुसम्म उक्लिएको थियो।
विहीबार एभरेष्ट बैंकको संस्थापक शेयर सबैभन्दा धेरै कारोबार भएको छ। विहीबार कारोबार भएका सम्पूर्ण उपसूचक घटेका छन्। सबैभन्दा धेरै होटल समूह १.५७ प्रतिशतले घटेको छ।
सबै समूहको शेयर घटेको दिन चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै ४.५७ प्रतिशत कमाएका छन्। विहीबार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४३ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ। एभरेष्ट बैंकको संस्थापक शेयरका अतिरिक्त माथिल्लो तामाकोशी, प्रभु बैंक र एनसिसी बैंकको शेयर धेरै कारोबार भएको छ।