जापानसँग सीधा हवाई सेवा सुरु गर्न नेपालको प्रस्ताव, दक्ष नेपाली कामदार लैजान आग्रह

बिजमाण्डू
२०७५ मंसिर ४ गते १६:१८ | Nov 20, 2018


काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा सुरु गर्न जापानसँग प्रस्ताव गरेका छन्।

Tata
GBIME
Nepal Life

जापान भ्रमणमा रहेका मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न प्रस्ताव गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पनि मन्त्री ज्ञवालीले आग्रह गरेका छन्। नेपालले हालै भित्र्याएको दुईवटा वाइडबडी जहाजका लागि गन्तव्य खोज्ने क्रममा नेपालले सीधा हवाई उडानका लागि जापानसँग प्रस्ताव गरेको छ।

गत असारमा नेपाल र जापानबीच द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। दुई देशबीच हवाई सम्झौतामा पुनरावलोकन भएसँगै नेपाललाई जापान जाने बाटो खुलेको थियो।

दुई देशबीच सातामा १४ उडान गर्ने सम्झौतामा उल्लेख छ।

यस्तै मन्त्री ज्ञवालीले नेपालमा लगानीको पर्याप्त संभावना रहेको भन्दै लगानीका लागि जापानी लगानीकर्तालाई पनि आग्रह गरेका छन्। उनले जापानमा नेपाली दक्ष कामदार जान सक्ने वातावरण बनाइदिन पनि आग्रह गरेका छन्।

दुई मन्त्रीबीच ३५ करोड जापानी ऐन बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। यो रकम खाद्य सुरक्षाका लागि उपयोग गरिने मन्त्रालयले जनाएको छ।