२८ अंकको फड्को मारेर शेयर बजार १२ सय अंकमाथि उक्लियो, किन बढ्यो? लगानीकर्ता यसो भन्छन्

बिजमाण्डू
२०७५ साउन ३० गते १५:४० | Aug 15, 2018

 
काठमाडौं। करिव २९ अंकको बृद्धिसहित शेयर बजार सुचक फेरि १२ अंकमाथि उक्लिएको छ। तीन दिनयता शेयर बजार निरन्तर बढिरहेको छ। बुधबार सुचक २८. ७३ अंकले उक्लिएको छ।
 
लगातार सात दिन घटेर सोमबार देखि बढ्न थालेको शेयर बजारले बुधवार फराकिलो अंकले फड्को मारेको हो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १२०९.७१ अंकमा उक्लिएको छ। 
 
गत साउन १६ गते नेप्से १ हजार १ सय ९३ अंकमा थियो। त्यसयता शेयर बजार लगातार घटेर आइतबार नेप्से १ हजार १ सय ६४ अंकमा आएको थियो। जुन साढे दुर्इ वर्षकै न्यून थियो। आइतबारको नेप्से सूचक ०७२ पुस २४ गते भन्दा पनि तल पुगेको थियो।
 
बजार निक्कै तल झरेकोले नियमित प्रक्रिया अन्तर्गत नै बजार बढेको लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेलले बताए। बजारमा लगानीकर्तामा ऋणको व्याज घट्छ भन्ने विश्वास पलाउँदा पनि बजार सकारात्मक देखिएको फुलेलको भनाइ छ। 
 
केही दिनदेखि लगानीकर्ता सकारात्मक भएकाले बजार बढेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बताए। साथै आजै धेरै बैक वित्तीय संस्थाको चौ मासिक वित्तीय विवरण सार्वजनिक भएको र त्यसले लगानीकर्तालाई सकारात्मक सन्देश दिएकोले बजार बढ्न टेवा दिएको घिमिरेको भनाइ छ। 
 
बुधवार १६५ कम्पनीका १० लाख ६८ हजार कित्ता शेयर ३६ करोड रुपैयाँमा कारोबार भयो। सर्वाधिक नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको नबिला बकैको सबैभन्दा बढी कारोबार भयो। प्रति कित्ता २८ रुपैयाँ वृद्धि हुँदा बैंकको एक करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
 
कारोबारमा आएका सबै उपसूचक बढेका छन्। सबैभन्दा बढी निर्जीवन बिमा समूह ३.५६ प्रतिशत बढेको छ। कारोबारमा आएका १० वटै उपसूचक एक प्रतिशत भन्दा माथि बढेका छन्।
 
स्वरोजगार लघुबित्त विकास बकैका शेयरधनीले करिब १० प्रतिशत कमाए। वोमि माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत गुमाएका छन्।

Tata
GBIME
Nepal Life