हरियो स्टिकर नभएका सवारीसाधन साउन १ गतेदेखि शहरी क्षेत्रमा नो इन्ट्री, चलाए यस्तो छ कारवाही

बिजमाण्डू
२०७५ असार ९ गते १२:१२ | Jun 23, 2018
हरियो स्टिकर नभएका सवारीसाधन साउन १ गतेदेखि शहरी क्षेत्रमा नो इन्ट्री, चलाए यस्तो छ कारवाही

 
काठमाडौं। यातायात व्यवस्था विभागले साउन १ गतेबाट शहरी क्षेत्रमा प्रदुषण जाँचपास गराएर हरियो स्टिकर अनिवार्य रुपमा लिनुपर्ने नियम लागु गर्ने भएको छ। मुलुकभर हरियो स्टिकर अनिवार्य गर्नका लागि पहिलो चरणमा  देशभरका उपमहानगरपालिका र महानगरपालिकामा  कार्यान्वयमा ल्याउन लागिएको हो। विभागका अनुसार काठमाडौं उपत्यकाको भने सबै स्थानीय तहमा अनिवार्य हुनेछ।
 
यसका लागि यातायात व्यवस्था विभागले ३८ वटा मेसिन ल्याइसकेको छ। दुर्इ वटा मेसिन आउने क्रममा रहेको यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए।
 
‘हामीले  बैशाखदेखि नै कार्यान्वयनमा ल्याउने तयारी गरेका थियौ तर मेसिनहरु आइपुगेनन् अहिले मेसिन आइपुगेको छ साउनदेखि अनिवार्य गर्छौ’ उनले भने। उनका अनुसार कर्मचारीहरुलार्इ तालिम दिन लागिएको छ। उक्त ४० वटा मेसिन १४ वटा यातायात कार्यालय  तथा छ वटा सेवा कार्यालयमा राखेर प्रदुषण जाँच गरिने  विभागले जनाएको छ। 
 
निजी सवारीसाधनले बर्षमा एकपटक र सार्वजनिक सवारीसाधनले प्रत्येक ६/६ महिनामा सवारीसाधन जाँचपास गराएर हरियो स्टिकर लिनुपर्ने व्यवस्था छ। यस्तो व्यवस्थालार्इ कार्यान्वयनमा ल्याउनका लागि साउनबाट हरियो स्टिकर अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।
 
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधनका लागि छुट्टा छुट्टै मेसिन आवश्यक पर्छ। पेट्रोलबाट चल्ने सवारीसाधने फ्याक्ने धुवाको मात्रा ‘ग्यास एनालार्इजर’ मार्फत नापिन्छ भने डिजेलबाट चल्ने सवारीसाधनले फ्याक्ने धुवा ‘डिजेल स्मोक मिटर’ मार्फत नापिन्छ।
 
जाँचपास नगराएको सवारीसाधन चलाए के हुन्छ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०(३) बमोजिम  प्रदुषण फेल भएका सवारीसाधनलार्इ दुर्इ सयदेखि १ हजार रुपैयासम्म जरिवाना गर्ने व्यवस्था छ। सोही ऐनमा यस्ता सवारीसाधनलार्इ रातो स्टिकर समेत दिनसक्ने उल्लेख छ। रातो स्टिकर पाएका सवारीसाधनलार्इ मर्मत गर्ने ठाउ वर्कशपसम्म मात्रै जाने अनुमति हुन्छ।
 
तर अहिले प्रदुषण फेल भएका सवारीसाधनलार्इ समान्य जरिवाना गरेर छोड्ने गरिएको छ जसका कारण प्रदुषण फेल भएका सवारीसाधनको सङख्या ठुलो छ।

Tata
GBIME
Nepal Life