नेपाली रुपैयाँ १६ महिनायताकै कमजोर अवस्थामा, लगानीकर्ताले ऋणपत्र बेच्दा असर

बिजमाण्डू
२०७५ जेठ २ गते १३:१२ | May 16, 2018
नेपाली रुपैयाँ १६ महिनायताकै कमजोर अवस्थामा, लगानीकर्ताले ऋणपत्र बेच्दा असर
काठमाडौं। अमेरिकी बैंकहरुले डलर खरीद तीब्र बनाउँदा त्यसको असर नेपालमा देखिएको छ। बुधबार अमेरिकी डलरको भाउ १०९ रुपैयाँ २२ पैसा पुगेको छ। यसअघि २०७३ माघ १६ गते डलरको भाउ १०९ रुपैयाँ २३ पैसा पुगेको थियो।
 
१६ महिनायताकै उच्च मूल्यमा डलरको भाउ पुग्नुको अर्को कारण विश्वभरका पोर्टफोलिया लगानीकर्ताहरुले आफूसँग भएको ऋणपत्र बेच्नु पनि हो। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर बृद्धि हुँदा आयातकर्ताले बढी डलर निकालिरहनुपरेको छ। यसले पनि डलरको माग बढ्दा भाउ चुलिएको हो। 
डलर चुलिँदा नेपाली रुपैयाँको भाउ खस्किएको हो। अमेरिकी डलरसँग नेपाली रुपैयाँको भाउ सोझै तलमाथि हुँदैन। नेपाली रुपैयाँ १६० बराबर भारतीय रुपैयाँ १०० रुपैयाँको स्थिर विनिमय दर छ। डलरसँग भारु कमजोर हुँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पर्दा नेरु कमजोर देखिएको हो।
 
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली सामानका निकासीकर्ताको आम्दानी बढ्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ।
 
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।
 
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
 
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

Tata
GBIME
Nepal Life