राष्ट्रिय आविष्कार केन्द्रको भवन बनाउन वृज सिमेन्टको सहयोग, निःशुल्क सिमेन्ट दिने सम्झौता

बिजमाण्डू
२०७५ बैशाख १३ गते १२:२४ | Apr 26, 2018

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा पुष्प तारा केडिया सेवा संस्था एवं वृज समेन्ट इन्डस्ट्रिजले निशुल्क सिमेन्ट सहयोग गर्ने भएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन  र पुष्पतारा केडिया संस्था एवं वृज सेन्ट इक्ण्डस्ट्रिज प्रा.लिका संस्थापक ताराचन्द्र केडियाबीच सहकार्य गर्ने सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life


नेपालको सिर्जनशील जनशक्तिको क्षमता अभिवृद्धि गर्नका लागि आविष्कार केन्द्रले  काम गर्ने  केन्द्रका संस्थापक महावीर पुनले कार्यक्रममा बताए।
केन्द्रले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा छ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याबको काम ६० प्रतिशत सकिसकेको पुनले बताए।

पुनले भने,'ल्याबमा पढेलेखेकाका साथै नपढेपनि वौद्धिक सर्वसाधारणबाट उत्पादन क्षमता अभिबृद्धिकालागि निकालिएको सोचलाई प्राथमिकता दिनेछ। यस्तै पाइलट स्केलको रुपमा अध्ययन अनुसन्धान र प्रविधीको उपयोग निःशुल्क गरिने छ।’

उनले अध्ययन सफल भएको खण्डमा यसलाई व्यापारीकरण गर्ने समेत बताए। साथै अध्ययन र अनुसन्धानमा लाग्नेहरुलाई आर्थिक सहयोग गरी लगानी तथा बजार सम्म पुर्‍याउन मद्दत गर्ने पनि पुनले जानकारी दिए।

अहिले ९३ प्रतिशत दैनिक उपयोगी सामाग्री आयात भइरहेको र सात प्रतिशत उपभोग्य वस्तुमात्र नेपालमै उत्पादन भइरहेको जनाउँदै पुन ले भने,'स्वदेशमा सिमेन्ट र औषधि मात्र उत्पादन भएको देखिन्छ। देशलाई समृद्ध बनाउन व्यापार घाटा नघटाइ हुँदैन।'

अध्ययनमा लागेका दक्ष जनशक्तिका लागि राष्ट्रिय आविष्कार केन्द्र(एनआइसि)ले आम्दानी हुने क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ।बैकल्पिक उर्जा, सौर्य उर्जा, वायोग्यास, ब्याट्री म्यानिफ्याक्चरिङ, मिनरल वाटर प्लान्ट लगायत क्षेत्रमा लगानी गर्ने पुनले जानकारी दिए।

 केन्द्रले नेपालमा उब्जाउ हुने यार्सागुम्बा, धसिङ्गरे, जटामसी, अलैंची, अदुवा लगायत विभीन्न वनस्पती तथा जडीबुटीको खेती गर्दै औषधी उद्योग संचालनमा ल्याउने योजना पनि बनाएको छ।  उनले भने,'सिलीकन भ्याली बनाउन नसकेपनि  हाम्रो उद्धेश्य भनेको नेपाली दक्ष र सिर्जनशील युवालाई नयाँ खोज तर्फ प्रोत्साहन गर्नु हो।'

पुन बृज सुपर प्रिमीयम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसडर समेत रहेका छन्।  म्यागासेसे पुरस्कार विजेता एवं ताररहित वायरलेस इन्टरनेट सेवाका अभियन्ता पुनले आफूसहित छ जनाको संचालक सदस्य र दक्ष जनशक्तिको सहयोगमा विकट क्षेत्रका लागि तीन किलो औषधी बोक्न सक्ने क्षमतायुक्त ड्रोनको समेत आविष्कार गरेका छन्। उनका अनुसार थप अपग्रेड गर्न बाँकी नै रहेको कारण ड्रोन औपचारिक रुपमा संचालनमा आउन बाँकी छ। अहिले परिक्षण भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा वृज सिमेन्टका प्रवन्ध निर्देशक मनोज केडियाले राष्ट्रिय आविष्कार केन्द्र (एनआइसि) सँग हातेमालो गर्न पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा समेत सहयोग जारी रहने जानकारी दिए।