नेपालको चुरोट कतार निकासी हुँदै, नाकाबन्दीपछि कतारी व्यवसायी चुरोट किन्न नेपालमा

बिजमाण्डू
२०७५ बैशाख ६ गते ०९:४३ | Apr 19, 2018

काठमाडौं।नेपालमा उत्पादन भएको चुरोट कतार निकासी हुने भएको छ।छिमेकी मुलुकले नाकाबन्दी लगाएपछि कतारका व्यवसायीले नेपालबाट चुरोट किन्ने प्रकृया अघि बढाएका छन्।

Tata
GBIME
Nepal Life

गोर्खा लहरीसँग कतारका व्यवसायीले चुरोट किन्न छलफल अगाडि बढाएका छन्।‘कतारमा चुरोट आपूर्तिको लागि त्यहाँका व्यावसायीहरुसँग छलफल भइरहेको छ, उद्योगका कर्मचारी चित्रकुमार पोखरेलले बिजमाण्डूसँग भने, "चुरोट निकासीका लागि ट्रेडमार्क दर्ता प्रकृयामा छौं। सामान निर्यातको टुङ्गो भने लागिसकेको छैन। दुई/तीन महिना भित्र टुङ्गो लाग्छ होला।‘

१७ वर्ष अघि हेटौडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेको लहरीले ६ वर्षदेखि अमेरिकामा चुरोट निर्यात गर्दै आएको छ। अमेरिकामा लहरीको उत्पादन डर्ट, नोबेल र एक्सन प्रतिष्ठित ब्राण्ड मानिन्छन्। नेपालमा भने गोल्ड फ्लेक चर्चित ब्राण्ड हो।

अन्तर्राष्ट्रिय बजारमा निकासी गरिरहेकाले कतारी व्यावसायीको छनोटमा परेको हो।

 व्यापार घाटा घटाउने अवसर
कतारमा नाकाबन्दी लागेपछि नेपालसँगको व्यापारमा धेरै संकुचन आएको छ। गत आर्थिक वर्षको पहिलो ८ महिनामा २९ करोड ४० लाख रुपैयाँको सामान नेपाल आयात हुँदा नेपालबाट भने ६० लाख रुपैयाँको सामान मात्रै निर्यात भएको थियो।

चालु आर्थिक वर्षको सोही अवधिमा कतारबाट ५ करोड १६ लाख रुपैयाँको मात्रै सामान आयात हुँदा ६४ लाख रुपैयाँको सामान निर्यात भएको छ।चालु आर्थिक वर्षमा कतारको नेपाल सँगको निर्यात मात्रै ८२ प्रतिशतले खुम्चिएको छ। नेपालको निर्यात भने सामान्य वृद्धि भएको छ।ठूलो परिमाणमा कतारमा चुरोट निर्यात गर्न सके व्यापार घाटा केही कम हुनेछ।