विराटनगरमा पनि खुल्यो भाटभटेनीको स्टोर, सात तले सुपर मार्केटमा एक अर्ब रुपैयाँको लगानी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ बैशाख १ गते १६:२८ | Apr 14, 2018
विराटनगरमा पनि खुल्यो भाटभटेनीको स्टोर, सात तले सुपर मार्केटमा एक अर्ब रुपैयाँको लगानी

Tata
GBIME
Nepal Life

विराटनगर । नयाँ वर्षको आगमनसँगै विराटनगरमा एक लाख २५ हजार प्रकारका सामग्रीसहित सात तले भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ। विराटनगरमा पूर्णतः वातानुकूलित सुपर मार्केटको अवलोकन गर्ने र त्यहाँ वस्तु खरिद गर्न जानेको शनिवार दिनभरि घुइँचो लागिरह्यो। 


निर्माणको काम सुरु गरेको ११ महिना मै विराटनगरको धरान रोडमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको हो । गत वर्ष वैशाखको अन्तिम साताबाट भवन निर्माण सुरु गरिएको थियो । भवनलाई साजसज्जासहित अन्तिम रूप दिन तीन सय ५० कामदारले २४ घण्टा काम गरेको सञ्चालक मीनबहादुर गुरुङले बताए।

भवन तयार गर्न बाढीले अवरोध गरेको एक महिनाबाहेक बाँकी १० महिना २४ घण्टा नै काम गरिएको थियो ।

विराटनगर भाटभटेनीको १५ औँ शाखा हो। विराटनगरबाहेक राजधानीमा १० वटा तथा पोखरा, बुटवल, चितवन र धरानमा गरी भाटभटेनीका १४ सुपर मार्केट सञ्चालनमा छन्।


भाटभटेनीले अब भैरहवा र ललितपुरको सातदोबाटोमा शाखा विस्तार गर्दैछ । सञ्चालक गुरुङका अनुसार एक अर्ब रुपैयाँको लगानीमा विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सुपर मार्केट सञ्चालनमा ल्याइएको हो ।

उनले स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको अगुवाइमा गरिएको कन्सोर्टियम ऋण लगानीमा सुपर मार्केटको निर्माण सम्पन्न भएको जानकारी दिए। गुरुङले साढे आठ कट्ठा जमिन र एक लाख ४५ हजार वर्गफिट भवनका लागि ६० करोड खर्च गरिएको र ४० करोड मूल्यका सामग्री राखिएको जानकारी दिए।

सुपर मार्केटमा दुई तलाको बेसमेन्ट र त्यसमाथि पाँच तला छ। बेसमेन्टको पार्किङ र कार्यालयका लागि छुट्याइएको छ ।

भुईं तलामा खाद्य सामग्री, पहिलो तलामा भान्साका सामग्री (किचनवेयर) र शृङ्गार–प्रसाधन (कस्मेटिक)का सामग्री राखिएको छ । त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामग्री छन् ।

हाल प्रयोगमा नआइसकेको पाचौँ तला मनोरञ्जनका लागि छुट््याइएको छ । यस तलामा दुई छुट्टाछुट्टै वातानुकूलित सिनेमा हलको तयारी गरिँदैछ । यही तलामा फुडकोर्ट रेस्टुरेन्टको व्यवस्था पनि गरिने छ। 


सिनेमा हल र फुडकोर्टका लागि काठमाडौंमा काम गरेर नाम कमाएको क्युएफएक्सलाई जिम्मेवारी दिइएको गुरुङले जानकारी दिए । गुरुङको सञ्चालनमा रहेको भाटभटेनीले अहिले मुलुकका विभित्र ठाउँमा छ हजार पाँच सय र विराटनगरमा मात्र तीन सय ५० जनालाई रोजगारी दिएको छ।