घटेको मौका छोप्दै शेयर बजारमा १६ हजार नयाँ लगानीकर्ता भित्रिए, गरे तीन अर्ब लगानी

बिजमाण्डू
२०७४ चैत्र ३० गते १४:१८ | Apr 13, 2018

काठमाडौँ। शेयर बजार घटेको मौका छोप्दै पछिल्लो दुई महिनामा शेयर बजारमा हजारौँ नयाँ लगानीकर्ता थपिएका छन्। दोस्रो बजारमा कारोबार गर्नकालागि गत दुई महिनामा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा १६ हजार दुई सय १३ जना नयाँ लगानीकर्ता दर्ता भएको नेप्सेले जनाएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेका अनुसार गत माघ २८ गतेदेखि चैत २८ सम्म यी नयाँ लगानीकर्ता दोस्रो बजारमा कारोबारकालागि दर्ता भएका हुन्। गत बुधबारसम्म दोस्रो बजारमा कारोबार गर्न नेप्सेमा १२ लाख १६ हजार ३७० जना दर्ता भैसकेका छन्।

पछिल्लो समय बजार लगातार घटेका कारण नयाँ लगानीकर्ता शेयर बजारमा आकर्षित भएको नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरीप्रसाद रिमालले बताए। रिमालका अनुसार बजारमा भएका पुराना लगानीकर्ताले नै नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गराउन सहयोग गरेका छन्। पुराना लगानीकर्ताले नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्ने उचित समय भएको भन्दै बजारमा ल्याइरहेको उनको भनाई छ।

बजारमा आउने नयाँ  लगानीकर्ताले शेयर बजारमा कारोबार गर्ने पुराना लगानीकर्ताले आफूसँग लगानी गर्ने रकम सकिएको तर यही बेलानै लगानी गर्दा बढी फाइदा हुने भनेका कारण शेयर बजारमा प्रवेश गर्न लागेको प्रतिक्रिया दिएको रिमाल बताउँछन्।

गत माघ २८ गते बजार १३८४ .७१ अंकमा रहेको थियो। त्यसयता बजार गत चैत १२ गते ११६८.६२ अंक सम्म झरेको थियो। त्यस अवधिमा बजार २१६ अंकले घटेको थियो। तर पछिल्लो समय बजार पून बृद्धि हुँदा बजारले १०४.७१ अंक पूर्ति गरिसकेको छ।

गत माघ २८ गतेको सूचकको आधारमा बजार अझै १११ अंकले तल छ। यही बजार घटेको मौका छोप्दै नयाँ लगानीकर्ता बजार प्रवेश गरेको रिमालको ठहर छ। नयाँ लगानीकर्ताले शेयर बजारमा राम्रो लगानी गरेका छन्। उनीहरूले पछिल्लो दुई महिनामा कुल कारोबारमा १९.९१ प्रतिशत योगदान समेत दिएका छन्।

नयाँ भित्रिएका लगानीकर्तामध्ये सात हजार २३ लगानीकर्ताले दुई महिनामा ३५ हजार ६ सय ७१ कारोबारबाट तीन अर्ब २० करोड ९५ लाख ४५ हजार २०६ रुपैयाँ बराबरको कारोबार गरेका छन् जुन दुई महिनामा भएको कुल कारोबारको १९.९१ प्रतिशत हो।

गत माघ २८ गतेदेखि चैत २८ सम्म नेप्सेमा १६ अर्ब ११ करोड ९० लाख ५० हजार ६५६ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
यतिबेला नयाँ तर राम्रा लगानी गर्नसक्ने लगानीकर्ता भित्रिएकाले कारोबार समेत राम्रो भएको रिमाल बताउँछन्।

रिमालका अनुसार     विभिन्न क्षेत्रका ब्यवसायीहरु बजारमा ठूलो पैसा लिएर प्रवेश गरिरहेका छन्। सोही कारण बजारमा नयाँ लगानीकर्ताको राम्रो योगदान देखिएको हो।नयाँ लगानीकर्ता उल्लेख्य बढेको र उनीहरूको कारोबारमा समेत उल्लेख्य भूमिका देखिएको भएपनि यही तथ्याङ्कको आधारमा वास्तविक नयाँ या पुराना भनेर यकिन भने गर्न नसकिने नेप्सेले जनाएको छ।

दोस्रो बजारमा कारोबार गर्न सदस्य दलाल मार्फत केवाइसी फारम भरेर निवेदन दिनुपर्छ। एक लगानीकर्ताले सबै ब्रोकर मार्फत कारोबार गर्न सक्छन्।
५० सदस्य दलाल मार्फत दोस्रो बजारमा कारोबार हुने गरेको छ। लगानीकर्ता एउटा सदस्य दलाललाई छाडेर अर्कोमा गएको पनि हुन सक्ने नेप्सेको अनुमान छ। तर पनि पछिल्लो समया नेप्सेमा दर्ता भएका लगानीकर्ता नयाँ नै बढी देखिएको पनि नेप्सेले जनाएको छ।    

"युनिक क्लाइन्ट कोड"को अभावमा अझै वास्तविक लगानीकर्ताको पहिचान हुन सकेको छैन। नयाँ अनलाइन कारोबार प्रणालीमा "युनिक क्लाइन्ट कोड"को आधारमा मात्र कारोबार हुने हुँदा लगानीकर्ता पहिचानको समस्या स्वत: हटेर जाने नेप्सेले जनाएको छ। जसका लागि केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले ईन्भेस्टर आईडीको काम अघि बढाईसकेको छ।