पूर्व राजपरिवारको नारायणहिटी अगाडिको जग्गा आङछिरिङलाई लिजमा, व्यावसायिक भवन बनाउँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन ३० गते ११:१६ | Mar 14, 2018
काठमाडौं। पूर्व राजपरिवारको नाममा रहेको जग्गा नेपाल ट्रष्टले आफ्नो नाममा ल्याएपछि लिजमा दिन थालेको छ।
 
दरवारमार्गस्थित नारायणहिटी दरवार संग्रहालय अगाडि रहेको एक रोपनी १४ आना जग्गा ३० वर्षकालागि लिजमा दिइएको छ।


 
ट्रष्टका प्रवक्ता अशोक भट्टरार्इका अनुसार, तीस वर्षकालागि एक अर्ब ३९ करोड रुपैयाँमा थामसेर्कु कम्पनीलार्इ लिजमा दिइएको छ। यो जग्गामा व्यावसायिक भवन बन्न सुरु भइसकेको छ। थामसेर्कु यति एयरलाइन्सका संचालक आङछिरिङ शेर्पाको कम्पनी हो। 
 
पूर्व राजपरिवारको नाममा रहेको प्राइम प्रोपर्टी शेर्पाले लिजमा लिन सफल भएका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी हुन्। शेर्पाले नै पूर्व राजपरिवारको नाममा रहेको गोकर्ण रिर्सोटसमेत लिइसकेका छन्। लोकमान सिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुँदा गोकर्ण रिर्सोटका बारेमा समयमा उचित निर्णय लिन नसकेको भन्दै सचिव श्रीधर गौतमलार्इ विभागीय कारवाही गर्न निर्देशन दिएको थियो।
 
ट्रष्टको कार्यालयले दरबारमार्गमा रहेको जग्गासमेत ‘अस्वभाविक सम्झौता’ मा थामसेर्कुले पाएको छ। ट्रष्टको कार्यालयबाट बिजमाण्डूलार्इ प्राप्त कागजातमा कम्पनीले एक अर्ब ३९ करोड रुपैयाँ ट्रष्टलार्इ दिने भनिएपनि भवन बनाउन लाग्ने सबै खर्च कटाउन पाइनेछ। 
 
‘दरबारमार्गमा रहेको प्राइम प्रोपर्टी भाडामा दिँदा कम्पनीलार्इनै पोस्ने गरेर दिइएको छ। तीस वर्षमा १ अर्ब ३९ करोड भाडामा पाउने भनिएपनि भवन बनाउन लाग्ने खर्च त्यहीबाट कटाउन पाइनेछ’ट्रष्टका एक कर्मचारीले भने, लिजमा पाउने कम्पनीका संचालकको राजनीतिक पहुँच माथिसम्म भएकोले यस्तो सम्झौता भएको हो। ‘शेर्पा प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी हुन्। सम्झौता अनुसार तीन वर्ष निर्माण अवधि र ३० वर्ष भाडा उठाउन दिने गरी ३३ वर्ष लिजमा जग्गा पाएको हो।
 
ट्रष्टले कमलादी र कालिमाटीमा रहेको पूर्व राजपरिवारको जग्गा लिजमा दिएको हो। कमलादीमा रहेको दुई रोपनी १४ आना जग्गा र कालिमाटीमा रहेको दुई रोपनी जग्गा क्लिन डेभलोपर्स नेपालले लिजमा लिएको प्रवक्ता भट्टराईले बताए। उक्त जमिनको लिज ३० वर्षको लागि कमलादीको ६० करोड र कालिमाटीको ४० करोड रुपैयाँ मात्रै रहेको छ।
 
शेर्पाको शक्ति
श्रीधर गौतम ट्रष्टको कार्यालयमा सचिव थिए। प्रशासन क्षेत्रमा उनको छबि राम्रो थियो। ट्रष्टमा हुँदा पूर्व राजपरिवारको सम्पत्तिसँग जोडिएको गोकर्ण रिसोर्टसँग सम्बन्धित एउटा निर्णयका लागि गौतमलार्इ दबाब आयो। तर उनले 'अनइथिकल' काम गर्न मानेनन्। गौतमले गोकर्ण रिर्सोटको निर्णय नगरेको विषय तात्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसम्म पुग्यो। कार्कीको दबाब पनि गौतमले मानेन्। उनी गरिबी निवारण मन्त्रालय सरुवा गरिए। त्यही बेलामा कार्कीको ठाडो निर्देशनमा गोकर्ण रिर्सोटको मुद्दा ४ वर्षसम्म सुनुवाइ नगरेको भन्दै कारवाही गर्न अख्तियारले निर्देशन दियो।
 
सन् १९९५ मा तत्कालीन राजदरबार र विदेशी कम्पनी एलएम सुबिर ब्रदर्शबीच गोकर्ण जंगलमा होटल, रिसोर्ट र गल्फ मैदान बनाउने सम्झौता भयो।
 
गणतन्त्र आएपछि पहिले भएको सम्झौतालाई निरन्तरता दिँदै नेपाल ट्रष्टसँगको सम्झौता बमोजिम सो कम्पनी सञ्चालन भयो।
 
सो कम्पनीको ४९ प्रतिशत शेयर यति होल्डिङ कम्पनीले लिइरहेकामा बाँकी ५१ प्रतिशत शेयर पनि बिक्री गर्न एलएम सुबिर ब्रदर्श कम्पनीले नेपाल ट्रष्टसँग स्वीकृति माग्दा पनि नदिएको भन्दै गौतमलार्इ कारवाही भयो। शेर्पाले बाँकी सम्पूर्ण शेयर यतिलाई बेच्न २०६७ साउन ११ मै अनुमति मागे पनि चार वर्षसम्म नेपाल ट्रष्टले निवेदकको मागबमोजिम दिन मिल्ने वा नमिल्ने कुनै निर्णय नगरेको अख्तियारले आरोप लगाएको थियो।
 
सो फाइलमा अनुसन्धान अधिकृतसमेत रहेका अख्तियार प्रवक्ता श्रीधर सापकोटाले भनेका थिए-शेयर विक्री अनुमति दिने वा नदिने एउटा निर्णय हुनुपथ्र्यो, चार वर्षसम्म एउटा फाइलमा कुनै निर्णय नदिनु अख्तियारको दुरुपयोग नै हो ।
 
नेपाल ट्रष्टको वार्षिक आम्दानी १० करोड
नेपाल ट्रष्टको वार्षिक आम्दानी अहिले १० करोड रुपैयाँ पुगेको छ। उसको बचत खातामा पनि अहिले ५० करोड रुपैयाँ जम्मा छ। 
 
राजपरिवारले यसअघि लिजमा दिएका जग्गाबाट वार्षिक ८ करोड रुपैयाँ उठ्ने गरेको थियो। नेपाल ट्रष्टको नाममा आएपछि थप तीन ठाउँको जग्गा लिजमा दिँदै वार्षिक आम्दानी १० करोड रुपैयाँ पुर्याउन लागिएको छ।

Tata
GBIME
Nepal Life

यी हुन राजपरिवारलेनै लिजमा दिएका जग्गा

क्र सं जग्गा रहेको ठाउँ क्षेत्रफल कम्पनी अवधी भाडादर
गोकर्ण दुई हजार नौ सय ७१ रोपनी एलएम सुविर ब्रदर्श र यति होल्डिङ्स प्राली २०५२/०४/३१ देखि २०८२/०४/३० सम्म एक लाख ६० हजार देखि दुई लाख ६० हजार अमेरिकी डलर सम्म (वार्षिक)
कमलादी पाँच रोपनी दुई आना कन्सेप्ट डेभलोपर्स प्राली काठमाडौं २०५०/०३/०३ देखि २०७७/०३/०२ सम्म ६१ लाख रुपैयाँ देखि ७५ लाख रुपैयाँ सम्म (वार्षिक)
लाजिम्पाट छ रोपनी १३ आना स्ट्याण्डर्ड चाटर्ड बैंक २०६१ देखि २०७७ सम्म ७५ लाख देखि एक करोड १५ लाख रुपैयाँ सम्म (वार्षिक)
टेकु १९ रोपनी १२ आना टाउन डेभलोपर्स प्राली २०५३/१२/२८ देखि २०८३/१२/२७ ३० लाख देखि ५० लाख रुपैयाँ सम्म (वार्षिक)

 
यी हुन राजपरिवारलेनै भाडामा दिएका जग्गा

क्र सं जग्गा रहेको ठाउँ क्षेत्रफल कम्पनी भाडादर
कालिमाटी पाँच रोपनी छ आना सोल्टी आउटर कम्पलेक्स १५ लाख ४५ हजार (वार्षिक)
कालिमाटी   सार्वजनिक खरिद तथा अनुगमन कार्यालय १२ लाख रुपैयाँ (वार्षिक)
कालिमाटी   गरिवि निवारण कोष एक लाख ८६ हजार रुपैयाँ (मासिक)
कमलादी १२ आना काठमाडौं उपत्यका खानेपानी लिमिटेड ५५ हजार ८०० रुपैयाँ (मासिक)

 
नेपाल ट्रष्टले लिजमा दिएका जग्गाहरु

क्र सं जग्गा रहेको ठाउँ क्षेत्रफल कम्पनी अवधी भाडादर
दरवारमार्ग एक रोपनी १४ आना थामसेरको प्राली २०७४ साउन देखि २१०४ साउन सम्म एक अर्ब ३९ करोड रुपैयाँ (३० वर्ष)
कमलादी दुई रोपनी १४ आना क्लिन डेभलोपर्स प्राली २०७४ देखि २१०४ सम्म ६० करोड रुपैयाँ (३० वर्ष)
कालिमाटी दुई रोपनी क्लिन डेभलोपर्स प्राली २०७४ देखि २१०४ सम्म ४० करोड रुपैयाँ (३० वर्ष)