विज्ञ टोलीको प्रतिवेदनमा पुरातत्वको असहमति, कसरी होला रानीपोखरी पुनर्निर्माण?

बिजमाण्डू
२०७४ माघ ७ गते १७:२९ | Jan 21, 2018

काठमाडौं। रानीपोखरी पुनर्निर्माण विवाद समाधानका लागि बनेको विज्ञ सहितको सुझाव समितिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलार्इ अध्ययन प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
Nepal Life

पुरातत्व विभागले भने  अध्ययन प्रतिवेदनप्रति असहमति जनाएको छ। विभागका तीन सदस्य समेत सहभागी रहेको समितिले  तयार पारेको प्रतिवेदनमा बिभागका तीनैजना सदस्यले हस्ताक्षर नगरी असहमति जनाएका हुन् ।

पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले पुनर्निर्माण गर्ने भन्दैमा ऐतिहासिकतातिर जानु नपर्ने बताए। उनले आफ्नो मौलिकतालार्इ बचाउनुपर्ने तर ऐतिहासिकतातिर गर्इरहनु नपर्ने भन्दै आफूहरुले असहमति जनाएको बताए।

महानगरका प्रमुख र उपप्रमुखबीच रानीपोखरी पुनर्निर्माणको विषयलार्इ लिएर विवाद उत्पन्न भएपछि गत पुस १३ गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ सहितको सुझाव समिति बनाएको थियो। उक्त समितिले १५ दिन अध्ययन गरी पुनर्निर्माणका लागि सुझाव सहितको प्रतिवेदन दिने निर्णय भएको थियो।

समितिका संयोजक एवम् पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले प्रताप मल्लकालीन निर्माण शैलीमा रानीपोखरी पुनर्निर्माण गर्न सकिने उल्लेख भएको जानकारी दिए।

उनका अनुसार रानीपोखरी पुनर्निर्माण हुँदा ग्रन्थकुट 'शिखर शैली'मा निर्माण भएको र सोहि अनुसारको निर्माण सामाग्री र शैली प्रयोग गरी पुनर्निर्माण गर्न सकिन्छ।

समितिको सल्लाहकार विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पुरातत्व विभाग र महानगरकाबीचमा समन्वय नहुँदा रानीपोखरी पुनर्निर्माणमा ढिलार्इ भैरहेको बतार्इन् । दुर्इ निकायका बीचमा समन्वय हुन नसकेकै कारण यस्तो समस्या देखिएको उनको भनाई छ । उनले मेयर शाक्यलार्इ तत्काल रानीपोखरी पुनर्निर्माण  अघि बढाउन सल्लाह दिएकी छिन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले  प्रतिवेदन आइसकेकाले पुरातत्व  विभाग, पुनर्निर्माण प्राधिकरण र विज्ञ टोलीसंग बसेर छलफल गरी पुनर्निर्माण अघि बढाउने जानकारी दिए।

साथै सुझाव समितिले रानीपोखरी पुनर्निर्माणका क्रममा प्रयोग भएका क्रंकिट हटाउन  र क्रकिंट प्रयोग गरी बनाएको पर्खाल भत्काउन सिफारिस गरेको छ। रानीपोखरी पुनर्निर्माणका लागि विज्ञ टोलीले तत्कालीन  र दीर्घकालीन गरी दुर्इ खालको सुझाव काठमाडौं महानगरसमक्ष सिफारिस गरेको छ।

तत्कालीन सुझावमा परम्परागत स्वरुपमा जिर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवम अनुसन्धान कार्य अघि बढाउने, पानीको स्थायित्वका लागि हाइड्रोलोजिष्ट सेवा उपलब्ध गर्नुपर्ने, पोखरीको मौलिक स्वरुपमा प्रतिकुल प्रभाव पार्ने गरी निर्माण भएका कंक्रिट संरचना तत्काल हटाउनुपर्ने, बालगोपालेश्वर मन्दिरको पुरातात्विक उत्खनन गर्नुपर्ने, मन्दिरमा राखिएका मकराकृति धाराहरुमध्ये नयाँ स्वरुपमा निर्माण गरिएका धाराहरु हटार्इ एकरुपताका लागि पुरानो शैली अपनाउनुपर्ने, प्रतापमल्लकालीन ईंटाहरुको निर्माण गर्नुपर्ने, रानीपोखरीको सम्पूर्ण जिर्णोद्धार गर्ने ड्रइङ, डिजाइन गर्नुपर्ने लगायतका रहेका छन् ।

त्यस्तै दीर्घकालीन सुझावहरुमा रानीपोखरीको पानी सुक्नबाट जोगाउन उपायहरु अवलम्वन गर्नुपर्ने, पोखरीको पानी शुद्धताका लागि माछा तथा राजहाँस पालन गर्नुपर्ने, वरिपरिको बगैँचालार्इ दैनिक सरसफार्इ गर्न व्यवस्था मिलाउन पर्ने, पोखरीको सांस्कृतिक र प्राकृतिक स्वरुपलार्इ जोगाउनुपर्ने रहेका छन्।

रानीपोखरीको व्यवस्थापनका लागि नागरिककको पहुँचलार्इ सुगम तुल्यार्इ पोखरीको दिगो व्यवस्थापन कायम राख्नका लागि आम्दानीको स्रोत व्यवस्था गर्ने रहेका छन्।