सटडाउनपछि अमेरिकामा ७ लाख बेरोजगार, ट्रम्प भन्छन्- अर्थब्यबस्था अहिलेसम्मकै उत्कृष्ट

बिजमाण्डू
२०७४ माघ ७ गते १०:२९ | Jan 21, 2018

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेको शनिवार एक वर्ष पूरा भएको छ। आलोचना र बिबादले घेरिएको एक वर्षे कार्यकालमा अमेरिकाले उत्कृष्ट नतिजाका साथ काम गरिरहेको प्रतिक्रिया राष्ट्रपति ट्रम्पले दिएका छन्। उनले अमेरिकी अर्थब्यबस्था अहिलेसम्मकै सबैभन्दा राम्रो स्थितीमा रहेको बताए जबकि अमेरिका अझै पनि आर्थिक संकटसँग जुधिरहेको छ।

Tata
GBIME
Nepal Life

यसबारे वेवास्ता गर्दै ट्रम्पले उत्कृष्ट नतिजा ल्याउनकालागि लिएको नीतिले अमेरिकाकै भलाइ हुने बताएका छन्। ट्रम्पले भने- ‘रोजगारीको संख्या तथा पुनर्उत्थान भएका कम्पनीहरुको संख्यामात्र होइन स्टक मार्केट सर्वाधिक उचाइमा पुगेको छ, कहाँ छैन सुधार?’ बेरोजगारी दर १७ वर्ष यताकै सबैभन्दा कम भएको प्रतिक्रिया समेत उनले दिए।

सरकारी खर्चको एक महत्वपूर्ण विधेयकमाथि संसदले सहमति दिन नसकेपछि हाल सरकारले सटडाउनको घोषणा गरेको छ। सटडाउनले धेरै सरकारी बिभाग बन्द  छन् भने लाखौं कर्मचारीहरु घरमै बस्नुपर्ने स्थिती आएको छ।

सटडाउनको घोषणा भैसकेपछि ७ लाख कर्मचारीहरुलाई काममा नआउन सरकारले भनिसकेको छ। यो संख्या कुल सरकारी कर्मचारीको ४० प्रतिशत हो। अध्यागमन कार्यालय, स्वास्थ्य बिभाग, आयकर बिभाग जस्ता कार्यालयहरुका अधिकांश सेवा कटौती गरिएको छ। यस्तै सेनासम्बद्ध सिभिलियन कर्मचारीहरुलाई पनि काममा नआउन भनिएको छ।

पोष्ट अफिसको सेवा कायमै रहेको छ भने अदालतहरु आंशिक रुपमा मात्र खुल्ने बताइएको छ। देशका ४ सयभन्दा धेरै पार्कहरु खुलेपनि सफाइ कर्मचारीहरुलाई काममा नआउन निर्देशन दिइएको छ।

राष्ट्रिय सुरक्षा तथा अत्यावश्यक सेवासँग जोडिएका सबै बिभागको काम जारी रहने बताइएको छ। सैन्य सीमासुरक्षाबल, पुलिस, अग्निनियन्त्रक, एयरपोर्टका सुरक्षाकर्मी तथा एयर ट्राफिक कन्ट्रोलका साथै देशभरका सरकारी डाक्टरको सेवा जारी रहेपनि उनीहरुले सटडाउन अवधि सकिएपछिमात्र तलब पाउनेछन्।

अहिलेसम्म अमेरिकामा सन् १९७६ पछि १८ पटक सटडाउन घोषणा भएको छ। यसअघि सन् २०१३ मा राष्ट्रपति बाराक ओबामाको पालामा स्वास्थ्यसम्बन्धी बिधेयक पारित नहुँदा १६ दिनसम्म सटडाउन घोषणा भएको थियो। 

यसपटक पनि त्यति छिटै सटडाउन अवधि सकिने देखिँदैन किनभने बिधेयक पारितका बिषयलाई लिएर दुबै पार्टी आआफ्नो अडानमा छन्। सत्ता पक्ष रिपब्लिकन पार्टी र बिपक्षी डेमोक्रयाटबीच गैरकानुनी आप्रवासीहरुको मुद्दामा सहमति बन्न सकिरहेको छैन जसकाकारण सरकारी खर्चको बिल पारित हुन सकेको छैन।

राष्ट्पति ट्रम्पले सटडाउनको लागि विपक्षी नै दोषी भएको बताएका छन्। उनले बिपक्षीले अनावश्यक माग राखी नागरिकलाई समस्यामा पारेको आरोप समेत लगाएका छन्।

बिपक्षीहरुले भने बाल्यकालदेखि नै बाबुआमासँग अमेरिका आएका झण्डै ८ लाख आप्रवासीहरुलाई अमेरिकामा बस्न तथा काम गर्न छुट दिनुपर्ने प्राबधान पनि बिधेयकमा राख्नुपर्ने माग गर्दै आएका छन्। गत सेप्टेम्बरमा नै राष्ट्रपति ट्रम्पले  आप्रवासीहरुलाई दिँदै आएको छुट कार्यक्रम रद्द गर्ने बताएका थिए।

एक वर्ष अघि २० जनवरीमा ७१ वर्षका ट्रम्पले ४५औं राष्ट्रपतिका रुपमा सपथ लिएका हुन्।