खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पास भएन, ट्रम्प सरकारलार्इ धक्का, सरकारी कामकाजमै समस्या

रासस
२०७४ माघ ६ गते २१:४६ | Jan 20, 2018
वासिङ्टन।अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धि कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ बर्षको अमेरिकी इतिहासमा यो चौँथो पटक हो । 
 
विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रत्यक्ष प्रभाव देखिने विज्ञहरूको भनाइ छ । यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न बाटो खुल्ने थियो ।फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षा जस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेन ।
 
पूर्व राष्ट्रपति बराक ओबामाको पालोमा ल्याइएको कार्यक्रम अन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरुलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्रयाटहरुको माग विवादको मुख्य विषय रहँदै आएको छ ।
 
 गत सेप्टेम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए। अब संसदले मार्च महिनासम्ममा त्यसको स्थानमा विकल्प खोज्नुपर्ने देखिएको छ ।खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको छ । ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदा समेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो । 
 
सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भएपनि डेमोक्रयाटहरुले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको बताए।
 

Tata
GBIME
Nepal Life