चिलिमेसँगै आएको नयाँ लगानी मोडेल, साञ्जेनले यसरी बनाउँदैछ सर्वसाधारणलाई समृद्ध

बिजमाण्डू
२०७४ पुष २१ गते १२:२० | Jan 5, 2018
चिलिमेसँगै आएको नयाँ लगानी मोडेल, साञ्जेनले यसरी बनाउँदैछ सर्वसाधारणलाई समृद्ध
काठमाडौं। २०५१ ताका इन्जिनियर डम्बर नेपाली नेतृत्वको टोली रसुवाको चिलिमे खोलाबाट बिजुली निकाल्न सकिन्छ कि भनेर अध्ययन गर्न गयो। १३ मेगावाटको अपेक्षा थियो तर त्यहाँबाट २२ मेगावाट बिजुली निस्कने भयो।
 
आफ्नै शतप्रतिशत लगानीमा परियोजना बनाउँदै आएको प्राधिकरणले चिलिमेमा भने लगानीको नयाँ मोडेल अपनाउने भयो। उसले जनतालाई पनि शेयरधनी बनाएर आयोजना निर्माण थाल्ने निर्णय गर्यो। 


 
०५२ सालमै चिलिमे जलविद्युत कम्पनी दर्ता भयो। प्राधिकरणले ५१ प्रतिशत शेयर राख्यो र बाँकी कर्मचारी सञ्चय कोष, प्राधिकरणका कर्मचारी एवं सर्वसाधारणलाई छुट्यायो। २०५४ सालमा परियोजना निर्माण थालियो र २०६० सालमा बत्ति बल्यो। २०६७ सालमा आयोजनाको शेयर सर्वसाधारणमा वितरण भयो। 
 
चिलिमे आज एउटा परियोजना मात्र होइन, नेपालमा जलविद्युत विकासको नयाँ रुपरेखा तयार गर्ने आयोजनासमेत हो। नेपाली लगानी, प्रविधि र जनशक्तिमा थालिएको यो आयोजना मातहत २ सय ७० मेगावाट क्षमतामा रसुवागढी, मध्य भोटेकोशी, साञ्जेन आयोजना निर्माण हुँदैछन्। 
 
चिलिमेको प्रबर्द्धन गरेको यी चार आयोजनामध्ये साञ्जेनले सर्वसाधारणलाई शेयर बेच्न नियामक धितोपत्र बोर्डबाट मंसिर २६ गते स्वीकृति पाएको छ। ठ्याक्कै चिलिमे मोडेलमा कम्पनी अगाडि बढिरहेको छ। कम्पनीले सर्वसाधारण समूहमा ४९ प्रतिशत अर्थात एक अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर निस्कासन गर्ने छ।
 
सान्जेन जलविद्युत कम्पनीले अहिले दुई वटा आयोजना निर्माण गरिरहेको छ। १८ महिनापछि संचालनमा आउने गरि निर्माण कार्य गरिरहेको कम्पनीले पुर्ण रुपमा उत्पादन थालेसँगै वार्षिक एक अर्ब ७५ करोड रुपैयाँ आम्दानी गर्ने छ। 
 
जम्मा ७ अर्ब २७ करोड रुपैयाँको लगानीमा आयोजना निर्माण भइरहेको छ। निजी क्षेत्रले प्रति मेगावाट २०/२२ करोड रुपैयाँ खर्चगरिरहँदा कम्पनीको १२ करोड ६८ लाख रुपैयाँमै एक मेगावाट बिजुली उत्पादन गर्ने छ। 
 
कम्पनीले उत्पादन थालेसँगै करिव साढे दुर्इ वर्षमा ५० प्रतिशत ऋण तिरिसक्नेछ। ऋण तिरेसँगै प्रत्येक वर्ष ४० प्रतिशतभन्दा माथि लाभांश दिन सक्नेछ। कम्पनीले यो प्रोजेक्ट सकिएपछि अर्को नयाँ प्रोजेक्टको लागि पनि लगानी गर्ने योजना पनि बनाएको छ। 
 
साञ्जेनमा ३८ प्रतिशत लगानीको चिलिमेको छ। निजी क्षेत्रको भन्दा कम लागतमा निर्माण हुने भएकाले कम्पनीले दिने प्रतिफल माथि हुने छ।
 
'निजी क्षेत्रले उच्च लागतमा आयोजना निर्माण गरिरहँदा कम्पनीले सक्दो थोरै खर्चमा आयोजना बनाउने छ,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने।
 
सान्जेन जलविद्युत कम्पनीले रसुवा जिल्लाको सान्जेन खोलामा ५७ मेगावाट क्षमताका दुर्इ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन अपर हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र ४२.५ मेगावाट क्षमताको सान्जेन लोअर हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको हो। अपरको काम ६५ र लोअरको ५५ प्रतिशत सकिसकेको श्रेष्ठले जानकारी दिए। 
 
श्रेष्ठका अनुसार, कम्पनीले एउटा ड्याममार्फत दुर्इ वटा प्रोजेक्ट अगाडि बढाइरहेको छ। माथिल्लो प्रोजेक्टको ड्याम बनाउने काम भइरहेको छ भने अर्को प्रोजेक्टका लागि माथिल्लो पावरहाउसबाट निष्केको पानी तल्लोमा लैजान सुरुङ निर्माण भइरहेको छ। माथिल्लो आयोजनाका लागि चाहिने सुरुङ भने निर्माण भइसकेको छ।
 
'चाँडोभन्दा चाँडो काम सक्न चार स्थानबाट सुरुङ खन्ने काम गरिरहेका छौं,' श्रेष्ठले भने। 
 
तल्लो प्रोजेक्टको लागि ५२ सय मिटरको सुरुङ खन्नु पर्नेछ। ३००० मिटर सुरुङ खन्ने काम सकिएको छ। माथिल्लो ड्यामको पानी र दुर्इ वटा प्रोजेक्टको बीचमा रहेको खोलाको पानीलार्इ प्रयोग गर्न केहि स्थानमा पाइपलाइन निर्माण गर्नु पर्ने छ, यसका लागि भने केही समय लाग्ने छ। 
 
कम्पनीले दुवै प्रोजेक्टलार्इ पाँच भागमा विभाजन गरी निर्माण गरिरहेको छ। दुबै आयोजनाबाट उत्पादित विजुलीलाई चिलिमे हबमा जोड्न प्रसारणलाइन निर्माण गर्नु पर्ने छ। चिलिमे हबदेखि त्रिसुलीसम्म भने नेपाल विद्युत प्राधिकरणले प्रशासरलाइन तयार गर्छ। यी सबै योजना पुरा गर्न डिजाइनिङको काम भइरहेको छ। 
 
सान्जेन आयोजनामा १३० जना कर्मचारी छन्, यसमध्ये ९० जना स्थानीय हुन्। आयोजनाले स्थानीय विकासका काम पनि गरिरहेको छ। बाटो निर्माण, शिक्षक नभएको स्कुलमा शिक्षकलार्इ तलव उपलव्ध गराइ दिनेसम्मको काम गरिएको श्रेष्ठले जानकारी दिए।
 
शेयर संरचना
कम्पनीको माथिल्लो सान्जेनको लागत दुर्इ अर्ब २५ करोड र तल्लोको ५ अर्ब दुर्इ करोड रुपैयाँ गरी ७ अर्ब २७ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। कुल लागतमा कम्पनीले ५० प्रतिशत ऋण र ५० प्रतिशत इक्विटी (शेयर पूँजी) को हिस्सा छ। कम्पनीले ५० प्रतिशत ऋणका लागि २०६८ साल मंसिर २२ गते कर्मचारी संचय कोषसँग संझौता गरेको थियो।
 
कम्पनीले संस्थापक समुहतर्फको एक अर्ब ८६ करोड रुपैयाँ पूँजी जुटाइसकेको छ। अब सर्वसाधारण समूहको लागि एक अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर निस्कासन गरेर पूँजी जुटाउने छ। 
 
कम्पनीको संस्थापक शेयरधनीका तर्फबाट १० प्रतिशत शेयर नेपाल विद्युत प्राधिकरणको छ। ३८ प्रतिशत चिलिमे र ३ प्रतिशत रसुवा जिल्लास्थित स्थानीय निकायको छ। 
 
कसको भागमा कति शेयर?
सर्वसाधारणका लागि वितरण गरिने शेयरमध्येबाट आयोजनालाई ऋण उपलब्ध गराएको कर्मचारी सञ्चय कोषका बचतकर्ताले पहिलो प्राथमिकतामा पारिएको छ। कोषका ७ लाख २९ हजार सन्चयकर्ताको १९.५ प्रतिशत शेयरका लागि आवेदन दिन सक्छन्। ३.५ प्रतिशत शेयरमा संस्थापक कम्पनीमा काम गर्ने कर्मचारीले सहभागिता जनाउन पाउने छन्। 
 
यसमा नेपाल विद्युत प्राधिकरणका १० हजार ८५६ जना कर्मचारी, रसुवा जिल्लाका स्थानीय निकायका करिव २०० जना कर्मचारी र चिलिमेमा काम गर्ने कर्मचारीले शेयर दावी गर्न पाउने छन्।संचय कोषमा काम गर्ने ६०३ जना कर्मचारीहरुले पनि आवेदन दिन पाउने छन्। १० प्रतिशत आयोजना प्रभावित जिल्ला भरिका वासिन्दाले पाउने छन्। वाँकी १५ प्रतिशतमा मात्र आमसर्वसाधारण जनताले सहभागिता जनाउन पाउने छन्। 
 
कम्पनीमा शेयर आवेदन २०६८ मंसिर २२ गतेदेखि २०७४ मंसिर २६ गतेसम्म कायम भएका कर्मचारी तथा संचयकर्ताले दिन पाउने छन्। कम्पनीले सञ्चय कोषका बचतकर्ता तथा संस्थापक कम्पनीका कर्मचारीका लागि १५ दिनभित्र शेयर निस्कासन गर्दैछ। कम्पनीले पहिलो चरणको शेयर निस्कासनपछि मात्र आमसर्वसाधरणका लागि शेयर जारी गर्ने छ। 

Tata
GBIME
Nepal Life