पाँच अर्ब नोक्सानीको युटिएललाई रिभाइभल गर्दै देशका ठूला घराना, भारतीयको शेयर खरिद अन्तिम चरणमा

बिजमाण्डू
२०७४ पुष १६ गते १०:२७ | Dec 31, 2017
पाँच अर्ब नोक्सानीको युटिएललाई रिभाइभल गर्दै देशका ठूला घराना, भारतीयको शेयर खरिद अन्तिम चरणमा

काठमाडौं। वित्तीय रुपमा संकटग्रस्त नेपालको पहिलो निजी दूरसञ्चार कम्पनी युटिएलको 'रिभाइभल'का लागि देशका ठूला औद्योगिक घरानाले हात अघि बढाएका छन्।

Tata
GBIME
Nepal Life

भारतका तीन कम्पनीको ८० प्रतिशत स्वामित्वसहित १५ वर्ष अघि २०५९ असोज १८ गते अनुमति प्राप्त गरेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) अहिले पाँच अर्ब रुपैयाँभन्दा बढीको नोक्सानीमा छ। २०६० भदौमा सेवा सुरु गरेर वित्तीय रुपमा ठूलो नोक्सानीमा रहेको युटिएलसँग देशभरका तीन करोड ७० लाख टेलिकम कनेक्सनमध्ये जम्मा पाँच लाख २६ हजार कनेक्सन मात्र छन्। युटिएलभन्दा दुई वर्षपछि सेवा सुरु गरेको एनसेलले भने अहिले एक करोड ६१ लाख टेलिकम कनेक्सन उपलब्ध गराएको छ।

सुरुमा युटिएलमा भारतका तर्फबाट टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडले २६ दशमलव ६६ प्रतिशतका दरले शेयर लिएका थिए। नेपालका तर्फबाट युटिएलमा नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत शेयर थियो।नेपाल भेन्चर्सका नाममा विशाल समूहसँग रहेको यो शेयर पछि उपेन्द्र महतोको समूहले खरिद गरेको थियो।

युटिएलमा शेयर साझेदार भारतीय कम्पनीले लगानी नबढाएपछि महतोले इक्विटिमा परिवर्तन हुने गरी लगानी बढाएका थिए। त्यही कारण अहिले युटिएलमा महतो समूहको ५३ प्रतिशत तथा भारतीय पक्षको सेयर ८० बाट घटेर ४७ प्रतिशतमा झरेको छ।

भारतीय समूह लगानी झिक्दै
युटिएलको रिभाइभलका लागि महतोसहित विशाल ग्रुप, दीपक मल्होत्राको आइएमएस, जावलाखेल ग्रुप अफ कम्पनीजका राजबहादुर शाह, ज्योति समूहका सौरभ ज्योती लगायतका औद्योगिक घरानाले हात अघि बढाएका छन्।

‘नेपालकै आफ्नै एउटा टेलिकम कम्पनी हुनुपर्छ भनेर हामीले एउटा कन्सोर्टियम बनाएर काम अघि बढाएका छौं, युटिएलको रिभाइभललाई लिड गरिरहेका उपेन्द्र महतोले बिजमाण्डूसँग भने। उनले अहिले भारतीय लगानीकर्ताहरुलाई विदा गर्ने गरी काम भैरहेको समेत जानकारी दिए। कम्पनी झण्डै पाँच अर्ब रुपैयाँ नोक्सानमा भएपनि भारतीय लगानीकर्तालाई उनीहरुले यहाँ गरेको लगानी फिर्ता दिइने भएको छ। उनीहरुलाई लगानी फिर्ता दिन डेढ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने छ।

भारतीयलाई फिर्ता दिन चाहिने रकमका लागि नेपाली समूहले पहिलो चरणको फन्डिङ समेत जुटाइसकेको छ। कम्पनी वित्तीय रुपमा टाट पल्टिए पनि उनीहरुले यहाँ गरेको डेढ अर्ब रुपैयाँभन्दा बढीको लगानी फिर्ता गर्नुपर्नेछ, त्यसका लागि चाहिने अधिकांश रकम बैंकमा जम्मा भैसकेको छ, लगानीकर्ता समूहका एक उद्योगीले बिजमाण्डूलाई बताए।

भारतीय लगानीकर्तालाई फिर्ता गरेपछि पनि नेपालका बैंक, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका नियमकारी निकाय तथा भुक्तान हुन बाँकी राजस्व गरेर साढे तीन अर्ब रुपैयाँ अतिरिक्त रकम चाहिन्छ। त्यो रकम जुटाएर भुक्तानी गरेपछि मात्रै कम्पनी क्लिन हुन्छ, ती उद्योगीले जानकारी दिए।पाँच अर्ब रुपैयाँ लगानीपछि कम्पनीले पूर्वाधार विस्तारका लागि थप रकम जुटाउनेछ। त्यसपछि इक्वीटी र ऋण गरेर थप दश अर्ब जुटाउने योजना छ, यो विषयमा जानकार अर्का एक उद्योगीले बताए।

त्यसपछि नयाँ बन्ने कम्पनीमा महतो समूहको ४० प्रतिशत सेयर साझेदारी हुनेछ भने बाँकी लगानीकर्ताको ६० प्रतिशत सेयर साझेदारी हुनेछ।त्यसमध्ये ३० प्रतिशत सेयर विशाल समूह र आइएमएससँग हुनेछ। मल्होत्रासँगै उनका आइएमएसका पुराना साझेदार दीपक सावर्थिया पनि यो परियोजनामा हुनेछन्। सावर्थिया मध्यपूर्वमा बसेर दक्षिण एसिया, हङकङदेखि अफ्रिकासम्म कारोवार विस्तार गरेका छन्।

त्यसवाहेक जावलाखेल ग्रुप अफ कम्पनीजका राजबहादुर शाहसँग १० प्रतिशत हाराहारीमा सेयर साझेदारी हुनेछ। त्यसबाहेक बाँकी २० प्रतिशत सेयर ज्योति लगायतका समूहसँग हुनेछ।

आठ महिनापछि आक्रामक
आगामी ६ देखि ८ महिनामा कम्पनीलाई क्लिन बनाउने काम हुन्छ, त्यसपछि कम्पनी आक्रामक बजार विस्तारमा जाने रणनीति बनाइएको छ। त्यसको काम समेत सुरु भएको छ।

अहिले युटिएलमा रसियन र फ्रेन्चहरुको एउटा समूहले प्राविधिक प्लानिङ गरिरहेको छ। त्यसबाहेक युटिएलले सामान आपूर्तिका लागि भेन्डरहरु समेत छान्दैछ।युटिएलले सिडिएमए प्रविधिमा सेवा सुरु गरेको थियो। तर यो प्रविधि विस्तारै फेजआउट भएपछि कम्पनी आक्रामक बन्न सकेन्। त्यसमाथि सुस्त भारतीय व्यवस्थापन नेपालसँग लामो समयसम्म कर विवादमा समेत रुमल्लियो।

कम्पनीले गतवर्ष मात्रै प्रविधि परिवर्तनका लागि युनिफाइड लाइसेन्स लिएको छ। अब युटिएलले पनि नेपाल टेलिकम र एनसेल जस्तै जिएसएम प्रविधिमा सेवा विस्तार गर्नेछ। युटिएलले सुरुमै फोरजी सेवाको रोलओभर गर्नेछ।