तीन महिनाको तस्बीर हेर्न नसक्दा बैंकिङमा तरलता अभाव, ब्याज बढाउँदा पनि पैसा आएन

बिजमाण्डू
२०७४ पुष ६ गते १३:१८ | Dec 21, 2017
काठमाडौं। गत बर्ष माघ २५ गतेबाट चरम अभाव भएको बैंकिङ तरलता यसपाली मंसिरको अन्तिम साताबाटै अभाव सुरु भएको छ। अभावका कारण बैंकहरुले निक्षेपको जोहो गर्न ब्याज बृद्धि गर्न थालिसकेका छन्।
 
'अभाव भएकाले ब्याज नबढाइ नहुने अवस्था आएको छ'एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिजमाण्डूसँग भने, 'निक्षेप नबढ्ने तर ऋण बृद्धि बढि हुँदा अभाव देखिएको हो।' 
 
अहिले बैंकहरुले  बचत र मुद्दति दुबैको एकै अनुपातमा ब्याज बढाउन थालेका छन्। मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशत पुगिसकेको छ। बचतको ब्याज ८ प्रतिशत हाराहारी छ।
 
'निक्षेपको ब्याज बढ्दा ऋणको पनि बृद्धि हुन्छ। बृद्धिका बावजुद पनि ऋणको माग घटेको छैन' रिसालले भने। बैंकहरुले पुरानो कर्जाको ब्याज यथावत राखे पनि नयाँको बढाइरहेका छन्। बैंकहरुले क्षमता अनुसार, अल्पकालिन ब्यापारिक कर्जा ९ देखि १३ प्रतिशतसम्ममा दिइरहेका छन्, जुन बढ्ने सम्भावना छ। बीचमा यस्तो ऋणको ब्याज ८ प्रतिशतभन्दा तल आइसकेको थियो। 
 
'निर्वाचनका कारण जुन स्तरमा पैसा आउला भन्ने सोचिएको थियो, त्यो आएको छैन' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'पैसा आउने अपेक्षामा ऋण लगानी विस्तार भइसकेको थियो। तर पैसा आएन। त्यही भएर अहिले तरलतामा धेरै  दवाव पुगेको हो।'
 
यसवाहेक सरकारले यसपाली आर्थिक बर्षको सुरुवातमै आन्तरिक ऋण उठाइ दियो। त्यो बापत झन्डै एक खर्ब रुपैयाँ हाराहारी सरकारी कोषमा पुग्यो। साथै पुस मसान्तमा सरकारी राजश्वका लागि ठूलो पैसा जुटाउनु पर्छ। त्यसको तयारी अहिलेबाटै हुँदा तरलतामा दवाव पुगेको हो।
 
'राजश्वका लागि अहिलेबाटै तयारी गर्नु पर्ने हुन्छ' केसीले भने, 'पछिल्लो समय ऋणको विस्तार पनि निक्कै भयो। यही कारण अहिले अभाव छ।' 
 
 
अहिले बैंकहरुको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ७७ प्रतिशत हाराहारी छ। अझै पनि बैंकहरुलाई २/३ प्रतिशत नै ऋण बढाउने ठाउँ छ। तर राजश्वका लागि ठूलो पैसा सरकारी खातामा जाँदा निक्षेपको तह घटेर स्वत सिसिडी रेसियो ८० प्रतिशत हाराहारी पुग्छ। त्यही भएर बैंकले अहिले चाहेर पनि ऋण दिन सकिरहेका छैनन्।
 
बैंकहरुले पछिल्लो समय ब्याज दर बढाउँदा आवधिक स्किम ल्याइरहेका छन्। ७५ दिने मुद्दति खाता भन्दै ल्याइएका योजनाहरुलाई विश्लेषण गर्दा तरलता एक/दुई महिनाको मात्र समस्या हो भन्ने देखिन्छ। यद्यपी पोहोर पनि बैंकहरुले आवधिक योजना ल्याएका थिए, अभाव चरम भएपछि १३ प्रतिशतसम्म ब्याज तिरेर पैसा उठाएका थिए।
 
'ब्याज बढाएर मात्र पैसा आउँदैन भन्ने त पोहोर नै देखिसकियो' केसीले भने, 'तैपनि प्रतिस्पर्धि बजारमा एउटाले बढाउँदा अर्को पनि बढाउन बाध्य भइहाल्छ।'
 
बाणिज्य बैंकहरुले ब्याज बढाउँदै गर्दा त्यसको असर विकास बैंक र फाइनान्स कम्पनीमा अझै बढि परेको छ। 'बाणिज्य बैंकले नै माथि दिएपछि हामीले आफ्नो निक्षेप जोगाइ राख्न अझ माथि दिनु पर्ने वाध्यता छ' ज्योति विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, 'तीन महिनापछि के हुन्छ भन्ने पनि बैकहरुले देख्न छाडे। ब्यवसायिकता भन्ने कुरा नै बैंकिङबाट हरायो।' 
 
उनका अनुसार, बाणिज्य बैंकमा निक्षेप अभाव हुने वित्तिकै उनीहरु विकास बैंकबाट पैसा खोस्न बढि ब्याज दिइहाल्छन्। 'एकदमै तानातानको अवस्था भयो' उनले भने, 'अलिकति प्रोफेसनल इथिक्सभित्र बस्ने हो भने ब्याज यसरी बढ्न पाउँदैन थियो।'

Tata
GBIME
Nepal Life