एमालेले माओवादीको सहयोग बिना एक्लै सरकार बनाउन सक्छ? माओवादी विना एमालेइतर सरकार असम्भव

बिजमाण्डू
२०७४ मंसिर २७ गते १६:२५ | Dec 13, 2017

काठमाडौँ ।प्रतिनिधि सभाको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको छ। १६५ सिटका लागि भएको निर्वाचनमा १०३ जना उम्मेदवार उठाएको एमालेले ८० सिट जित्यो। माओवादीसँगको तालमेलसहित प्रतिस्पर्धामा उत्रिएको वाम गठबन्धनले ११७ स्थानमा जित हासिल गरेको छ।

Tata
GBIME
Nepal Life

गठबन्धनको सुविधाजनक बहुमत हुने हुनाले सरकार बन्न कुनै अप्ठेरो देखिँदैन। तर के एमालेले माओवादीको सहयोग बिना एक्लै सरकार बनाउन सक्छ त? 

समानुपातिकतर्फको मतगणना जारी रहेको कारण कसले कति सिट पाउँछन्, त्यसको टुङ्गो लागिसकेको छैन। तर पाँच दलले मात्र तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने अनुमान सही भए एमालेले समानुपातिकबाट पाउने सिटको संख्या कममा ४१ बढीमा ४३ हुनसक्छ। प्रत्यक्षतर्फको ८० सिट र समानुपातिकतर्फको अनुमानित ४२ सिट जोड्दा एमालेको संसदमा कूल संख्या १ सय २२ पुग्नेछ।

२७५ सदस्यीय संसदमा सरकार बनाउन बहुमतका लागि १३८ सिट आवश्यक हुन्छ। एमाले यो संख्याभन्दा १६ सिटले पछाडि हुनेछ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षतर्फ १० सिट र समानुपातिकतर्फ अनुमानित ५ सिट पाउँदा १५ सिट हुन्छ। फोरमले बढीमा ६ सिटसम्म पाउन सक्छ। त्यसैगरी मधेसकेन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपालले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकतर्फ अनुमानित ४ अथवा ५ सिटसम्म जित्न सक्छ।

यस्तो अवस्थामा एमालेलाई माओवादीको सहयोग बिना सरकार बनाउन कम्तिमा एउटा मधेसकेन्द्रित दलको समर्थन काफी हुन्छ। यसले माओवादीको बार्गेनिङ शक्ति पनि घटाउँछ।

के एमाले बिना सरकार सम्भव छ?
सबैभन्दा ठूलो दल एमालेलाई प्रतिपक्षमा राखेर ऊबिना सरकार बनाउन सम्भव छ त? एमालेलाई जस्तो सहज छैन तर अङ्कको हिसाबले सम्भव भने छ। यसका लागि चार दलहरु माओवादी, कांग्रेस, फोरम र राजपाको गठबन्धन बन्नुपर्छ।

माओवादीको प्रत्यक्ष माओवादी ३६ सिट र समानुपातिकतर्फ १६ वा १७ ‍सिट जोड्दा ५२/५३ सिट पुग्छ। कांग्रेसले प्रत्यक्षमा जितेको २३ सिट र समानुपातिकतर्फ पाउने अनुमानित ४१ सिट जोड्दा ६४ सिट पुग्छ। माओवादी र कांग्रेसको संयुक्त सिट ११६ मा मधेसकेन्द्रित दुई दलको ३० सिट जोडे १४६ सिट पुग्छ जुन सरकार बनाउन आवश्यक १३८ भन्दा बढी हो।

एमालेलाई सरकार बनाउन माओवादीको सहयोग अनिवार्य छैन। तर माओवादीको सहयोग बिना भने एमालेइतर सरकार बन्न सम्भव छैन।