एनएसीको उडानमा ब्राण्डेड सामान किन्न पाइने, जहाजभित्रै परफ्युम, ज्वेलरी र घडी बिक्री गरिने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर २६ गते १०:२१ | Dec 12, 2017
एनएसीको उडानमा ब्राण्डेड सामान किन्न पाइने, जहाजभित्रै परफ्युम, ज्वेलरी र घडी बिक्री गरिने

काठमाडौं। नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा इनफ्लाइट ड्युटी फ्री सामान बिक्री गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

निगमले ड्युटी फ्रि सामान बिक्रीका लागि टेण्डर आब्हान गरेको छ।अन्तर्राष्ट्रिय उडानमा विभिन्न कम्पनीले जहाजभित्रै परफ्युम,ज्वेलरी,घडी लगायतका सामान बिक्री गर्छन्। यही अभ्यास अनुसार निगमले ड्युटी फ्रि सामान बिक्रीका लागि टेण्डर आब्हान गरेको हो।निगमका कार्यकारी निर्देशक सुगतरत्न कंशाकारले अन्तर्राष्ट्रिय उडानमा ब्राण्डेड सामान बिक्रीका लागि राख्न लागिएको बताउँदै यसले निगमको आम्दानी समेत बढ्ने बताए।

उनका अनुसार इनफ्लाइट ड्युटी फ्रि सामान यात्रुले सस्तो मूल्यमा किन्न पाउने र निगमले केही प्रतिशत कमिशन पाउनेछ। ओमन एयर, कतार एयरवेज  लगायतका विभिन्न एयरलाइन्सले इनफ्लाइट ड्युटी फ्री सर्भिस दिँदै आएका छन्।निगमले नागरिक उड्डयन प्राधिकरण, अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका सरकारी निकायको  अनुमति लिएर ड्युटी फ्रि सामान बिक्री गर्ने कंशाकारले बताए।तीन महिनापछि निगमको अन्तर्राष्ट्रिय उडानमा सामान किन्न पाइनेछ।

निगमका अनुसार ड्युटी फ्री सामान बिक्री गर्ने कम्पनी ट्राभल क्षेत्रमा आवद्ध सेवा वितरक दक्षिण एसिया, एसिया प्रशान्त वा खाडी मुलुकमा दर्ता भएर दश वर्षदेखि संचालनमा रहेको हुनुपर्ने प्रावधान छ।कम्पनीले दुर्इवटा ध्वजावाहकसँगै दश वटा एयरलाइन्स कम्पनीको व्यवस्थापन गरेको हुनुपर्ने प्रावधान निगमले राखेको छ।

निगमका अनुसार सेवा कम्पनीले वार्षिक ५० लाख यात्रुलाई हवाइ सेवा र क्याटरीङ सेवा दिएको हुनुपर्नेछ।  कम्पनीले हाल नेपाल नजिकै रहेका दुईवटा एयरलाइन्समा सामान बिक्री गरिरहेको हुनुपर्ने प्रावधान निगमले राखेको छ।