इन्धनको मूल्यबृद्धि भएपछि हवाई भाडा पनि बढ्यो, नयाँ भाडादर मंगलबारदेखि लागु

बिजमाण्डू
२०७४ मंसिर २४ गते १७:१९ | Dec 10, 2017
काठमाडौं । हवाई इन्धनको मूल्य बृद्धि भएपछि वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा बढाएको छ। संघले दूरी अनुसार ४५ देखि २२० रुपैयाँसम्म भाडा बढाएको हो। काठमाडौं-सिमरा सबैभन्दा कम र धनगढीको भाडा सबैभन्दा धेरैले बृद्धि भएको हो। अब सिमरा जाँदा तीन हजार ५० र धनगढी जाँदा १२ हजार ३२० रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ।
 
सरकारले दुई दिन अघि हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँका दरले बढाएको थियो। त्यही अनुरुप हवाई भाडा बढाइएको संघका कोषाध्यक्ष रुपेश जोशीले जानकारी दिए। नयाँ भाडा मंगलबार देखि लागु हुने उनले बताए।
 
संघले माउन्टेन फ्लाइटको भाडा दुई अमेरिकी डलरले बृद्धि गरेको छ। यस्तै काठमाडौं-बिराटनगर भाडा १२० रुपैयाँले बढेर ७ हजार २२० रुपैयाँ पुगेको छ। नेपालगंजको भाडा १६५ रुपैँयाले बढेर ९ हजार ४०० रुपैयाँ कायम भएको छ। भद्रपुरको भाडा १५० रुपैयाँ बढाएर ८ हजार ७५० कायम गरिएको छ।

Tata
GBIME
Nepal Life

जनकपुरको भाडा ६० रुपैयाँले बढाएर चार हजार १० रुपैयाँ कायम भएको छ भने तुम्लिङटारको भाडा ९५ रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ। 
 

पोखरा, भैरहवा र भरतपुरको भाडा क्रमशः ८०, १०५ र ५५ रुपैयाँले बढेर ४ हजार ७३०, ६ हजार ५५ र ३ हजार ५०५ रुपैयाँ पुगेको छ। संघले तोकेको भाडादर अधिकतम हो। कम्पनीहरुको प्रतिश्पर्धाका कारण यो भन्दा कम मूल्यमा नै सर्वसाधारणले उडान गर्न पाउँदै आएका छन्।