हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित आए चिनियाँ कम्पनी, बुटवल पावरसँग सहकार्य गर्ने

बिजमाण्डू
२०७४ मंसिर ७ गते ०९:५६ | Nov 23, 2017
हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित आए चिनियाँ कम्पनी, बुटवल पावरसँग सहकार्य गर्ने

काठमाडौं। चीनको सिचुवानमा ३७ हजार मेगावाट विद्युत उत्पादन गरेको सिचुवान प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी (एससीआइजी) को अगुवाईमा तीन ठूला चिनियाँ कम्पनी नेपाल आएका छन्।

Tata
GBIME
Nepal Life

नेपालको बुटवल पावर कम्पनीसँग संयुक्त कम्पनी स्थापना गरि जलविद्युतमा लगानी गर्न ती कम्पनी नेपाल आएका हुन्।पाँच वर्षभित्र एक हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित सिचुवान प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी (एससीआइजी), चेन्दु सिचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी (सिएक्सआइजी) र छिमयुआन ईन्जिनियरिङ कम्पनी (क्युवाईइसी)नेपाल आएका हुन्।ती कम्पनीले तीन खर्ब रुपैयाँ नेपालको जलविद्युतमा लगानी गर्ने सार्वजनिक घोषणा गरेका छन्।

बुटवल पावर कम्पनीसँगको साझेदारीमा मंसिर ६ गते एक अर्ब ९० करोड रुपैयाँ पूँजी भएको एसजीआइजी ईन्टरनेशनल नेपाल हाइड्रोपावर कम्पनी पनि स्थापना गरिसकेका छन्।बुटवल पावर कम्पनीको २० प्रतिशत शेयर रहने यो कम्पनीमा एससीआइजीकोमात्रै ६२ प्रतिशत शेयर रहने बुटवल पावरका अध्यक्ष पद्मा ज्योतीले जानकारी दिए। अन्य बाँकी शेयर क्युवाईसी र सिएक्सआइजीको रहने छ।

सय मेगावाट क्षमताको तल्लो मर्स्याङदी जलविद्युत आयोजनामा साझेदारी गरेर सुरु भएको चिनियाँ कम्पनीको नेपाल यात्रा ९०० मेगावाट बराबरका अन्य जलविद्युत आयोजना निर्माणमा टुंगिने उनले बताए। सिचुवान प्रान्तमा ७५ हजार मेगावाट विद्युत उत्पादन भएकोमा ३७ हजार मेगावाट विद्युत एससीआइजीले मात्रै उत्पादन गरिरहेको छ। सिएक्सआइजीले सिचुवान प्रान्तको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ भने क्युवाईइसी हाइड्रो पावरको डिजाईन गर्ने उच्चस्तरिय कम्पनी हो।

एससीआईजीका अध्यक्ष लीउ गोछानले नेपाली जलविद्युत उत्पादक कम्पनी बिपिसिसँग चिनजान भएको एक वर्षमै ठूलो लगानी गर्न उत्सुक भएको बताए।उनले जलविद्युत वाहेक अन्य क्षेत्रमा समेत लगानी गर्ने बताए।

ट्रान्समिसन लाईन पनि आफै निर्माण गर्ने
सरकारले अनुमति दिएमा प्रसारण लाईन पनि आफै निर्माण गर्ने योजना सहित चिनियाँ कम्पनी नेपाल आएको बिपिसिका सिईओ उत्तमकुमार श्रेष्ठले बताए।

‘चिनियाँ कम्पनीले चीनका प्रान्तमा जुन गतिमा काम गरेका छन्, त्यो हेर्दा उनीहरुले नेपालमा पनि तीब्र गतिमा काम गर्ने विश्वास छ।‘ श्रेष्ठले भने, ‘चीनमा राम्रो काम गरेकैले प्रान्तीय सरकारले तीन वटै कम्पनीलाई सरकारी मान्यता दिएको छ।‘राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. अरबिन्दकुमार मिश्रले चिनियाँ कम्पनी सँग भएको संयुक्त लगानीको सहकार्यले नेपालमा बैदेशिक लगानी आगमनमा बृद्धि हुने बताए।