फेरिए वीरगंज करिडोरका मजदुर, बन्द हड्ताल होइन कामप्रति रुची बढ्यो, थपिए दर्जन उद्योग

बिजमाण्डू
२०७४ असोज २२ गते १६:३९ | Oct 8, 2017
फेरिए वीरगंज करिडोरका मजदुर, बन्द हड्ताल होइन कामप्रति रुची बढ्यो, थपिए दर्जन उद्योग
वीरगंज । वीरगंज–पथलैया औद्योगिक करिडोरमा एक वर्ष यता ठुलो परिवर्तन आएको छ। कुनै न कुनै उद्योगमा लफडा बल्झिरहने करिडोरमा अहिले नयाँ उभार आएको हो।
 
राजनीतिक आन्दोलन सेलाएसँगै वीरगंज बजारमा शान्ति फर्किएको छ। त्यससँगै ओद्योगिक करिडोरमा पनि बन्द हड्ताल भन्दा औद्योगिक गतिविधीले तीब्रता पाएको हो। एक बर्ष यता न्यून मात्रा बन्द हडताल तथा प्रदर्शनका घटना भएका छन्। लामो मधेस आन्दोलन तथा नाकाबन्दीले धेरै उद्योग पलायन भएसँगै मजदुर लगायत सबै सरोकारवालाले गम्भिरता देखाएका हुन्।

Tata
GBIME
Nepal Life


वीरगंज-पथलैया करिडोर स्थित एक कपडा उद्योगमा काम गर्दै मजदुर।
 

श्रम कार्यालय वीरगंजका कारखाना निरीक्षक राधेश्याम झाका अनुसार डेढ वर्ष यता छिटपुट घटना बाहेक अधिकांश उद्योग निर्वाद रुपमा सञ्चालन भएका छन्। ‘श्रम ऐन २०७४ ले पनि मजदुरको सेवा सुविधामा गुणात्मक सुधार सुनिश्चित गरेको छ,’ उनले भने- ‘ऐन कार्यान्वयनमा आएपछि मजदुर नेता चौविसै घण्टा उद्योग चलाउन अग्रसर भएका छन्।’ औद्योगिक सुरक्षा गुल्म स्थापनाले पनि व्यवसायीलाई सहज हुँदै गएको उनले बताए।
 
मजदुरलाई ज्यालादारी, करार, हुँदै बल्ल स्थायी गर्ने पुरानो प्रावधान नयाँ ऐनले हटाएको छ। अब जुन दिन नियुक्ति गरिन्छ त्यही दिन देखि स्थायी सरह सेवा सुविधा दिनु पर्ने व्यवस्था ऐनमा रहेको छ। साथै काम नगरेको दिनको तलव नदिने ‘नो वर्क नो पे’को प्रावधान पनि राखिएको छ। यही तत्काल स्थायी सरह सुविधा पाउने आकर्षण र काम नगर्दाको ज्याला नपाउने व्यवस्थाले मजदुरलाई काममा बढि प्रेरित गरेको विभिन्न औद्योगिक घारानामा कानुनी सल्लाहकारको रुपमा कार्यरत अधिवक्ता नवलकिशोर यादवले बताए। 
 
एक दशक देखि विभिन्न औद्योगिक घाराना एवं मजदुरबीचको टकराव समाधान तथा कानुनी परामर्श दिँदै आएका अधिवक्ता यादवका अनुसार हाल करिडोरका करिब ७०० उद्योगमध्ये अधिकांशमा कुनै समस्या छैन।
 
 ‘कुनै किसिमको अवरोध वा बन्द हडताल छैन, मजदुर तथा मजदुर नेता जिम्मेवार बनेका छन्,’ उनी भन्छन्- ‘कम्पनी चल्यो भने रोजीरोटी चल्छ, परिवार पाल्न सहज होला भन्ने सोच विकास हुन थालेको छ।’
 
रक्सौल–परवानीपुर प्रशारण लाइन चालु भएपछि अधिकांश उद्योग लोडसेडिग मुक्त भएका छन्। यसले पनि यस क्षेत्रका उद्योग निरन्तर चल्नमा महत्वपूर्ण योगदान पुर्यापएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए। करिडोरमा डेढ वर्ष यता साना ठूला गरि दर्जन बढि उद्योग समेत थपिएको उनले जानकारी दिए। मधेश आन्दोलन र नाकाबन्दीको बेलाको तुलनामा अहिले ठूलो परिवर्तन आइ सकेको उनले जानकारी दिए।


उद्योगमा यस्ता आन्दोलनका दृश्य अचेल देखिन छोडेका छन्। (फाइल तश्विर)
 

औद्योगिक करिडोरको वातावरण बदलिएसँगै व्यवसायीमा उत्साह देखिएको छ। मुलुककै मुख्य नाका वीरगंज, सिर्सिया सुक्खा बन्दरगाह, भारतबाट आयात गर्ने कच्चा पदार्थको लागि छोटो रुट, विद्युत आपुर्तीमा सहजतासँगै मजदुरको मनोवृतिमा आएको परिवर्तनले वीरगंजलाई पहिलेकै अवस्थामा फर्काउन सकिने विश्वास उनीहरुमा पलाएको छ।
 
एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय सदस्य अमर यादव मजदुरको सोचमा पछिल्लो समय परिवर्तन आएको स्वीकार गर्छन्। अब उद्योग सञ्चालक, प्रबन्धक र काम गराउने वर्गको पनि मजदुर प्रतिको धारणा बदलिनु पर्ने उनको भनाइ छ। ‘अब उद्योगी तथा साहुले पनि कारखाना र मजदुरको जीवन बारे सोच्नु पर्छ,’ उनले भने- ‘दुवैको सोचपरिर्तन भयो भने लगानीकर्ताको लागि यो क्षेत्र पहिलो गन्तव्य हुनेमा शंका छैन।’