कुखुराबाट मासिक डेढलाख रुपैयाँ कमाउँदै कञ्चनपुरका युवा, सात लाख रुपैयाँ बराबरका अण्डा उत्पादन

रासस
२०७४ असोज २२ गते १४:३७ | Oct 8, 2017

कञ्चनपुर। कञ्चनपुर शुक्लाफाटाका अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। 

Tata
GBIME
Nepal Life

वैदेशिक रोजगारीमा कतार बसेर फर्केका खत्रीले ३५ लाख रुपैयाँको लगानीमा कुखुरा फार्म सुरु गरेका थिए। 

दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर सञ्चालन गरेको लेयर्स कुखुरा फार्ममा तीन हजार कुखुरा रहेका छन्। उक्त कुखुराबाट दैनिक उत्पादन हुने दुई हजार ५०० अण्डाको बजार मूल्य २८ हजार आठ सय रुपैयाँ हुने खत्रीले बताए। 

दैनिक १२ पेटी अण्डा उत्पादन हुने गरेका छन्। एक पेटीमा २१० अण्डा हुन्छन्। एक पेटी अण्डा दुई हजार चार सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।

"मासिक सात लाख रुपैयाँभन्दा बढीको अण्डा बिक्री हुने गरेकोमा, कुखुराको औषधि, दाना र फार्म सञ्चालनका लागि बैंक तथा सहकारी संस्थाबाट लिएको ऋणको किस्ता, ब्याज र कामदारको तलबमा मात्र पाँच लाख ५० हजार रुपैयाँ खर्च हुन्छ।” सञ्चालक खत्रीले भने, "सबै खर्च कटाएर कम्तीमा डेढ लाख रुपैयाँ आम्दानी हुन्छ।"

फार्मबाट उत्पादित अण्डा झलारी, कलुवापुर, वनसमिति, गुलरिया, वाणी, दैजीलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएको उनले बताए। 

"वैदेशिक रोजगारीमा छँदा मासिक ३० देखि ३५ हजार रूपैयाँ कमाउने गरेको थिए" खत्रीले भने, “कुखुरा फार्म सञ्चालन गरेपछि एक लाख ५० हजार रूपैयाँ स्वदेशमा परिवारसँग बसेर कमाउँदै आएको छु।” 

वैदेशिक रोजगारीमा जानु नराम्रो नभए पनि स्वदेशमै उत्पादनशील काम गरे अझ बढी आम्दानी लिन सकिने खत्रीको अनुभव छ।

कुखुरा फार्मसँगै खत्रीले बाख्रापालनलाई समेत अगाडि बढाएका छन्। हाल उनको फार्ममा स्थानीय जातका ३० वटा बाख्रा रहेका छन्। 

स्थानीय बाख्रामा कृत्रिम प्रजनन गराई उन्नत नश्लका बाख्रा बिक्री गर्ने योजना सहित बाख्रापालनका लागि तीन लाख रुपैयाँ लगानी थप गरेका छन्।