लाइसेन्स पाएसँगै कार्यालय खोल्ने होडमा नयाँ बीमा कम्पनी, तत्काल कारोबार थाल्दै आइएमई

बिजमाण्डू
२०७४ साउन ३२ गते १०:१३ | Aug 16, 2017
काठमाडौँ। सरकारबाट अनुमति पाएका १० नयाँ जीवन बीमा कम्पनी मध्ये आइएमई लाइफ इन्स्योरेन्सले कारोबारको पूर्व तयारी पुरा गरेको बीमा समितिले जनाएको छ। समिति स्रोतका अनुसार कम्पनीले पूँजी पुर्याउने देखि कार्यालय स्थापनासम्मको प्रकृया पुरा गरेको हो। 
 
बीमा समितिले तोके बमोजिमको पूँजी पुर्याएर आइएमईसँगै ज्योती, युनियन, रिलायबल, रिलायन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले पनि कारोबार थाल्ने पूर्व तयारी सुरु गरेका छन्। रिलायवले पनि दशैं अगावै उद्घाटन गर्ने जानकारी समितिलाई दिएको छ।
 
रिलायन्स, महालक्ष्मी, सिटिजन्स र सानिमा लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी पुर्याएर प्रारम्भिक अनुमति पाउन बाँकी रहेको समितिका निर्देशक राजुरमण पौडेलले बताए।  
 
बीमा समितिले जीवन बीमा कम्पनीलाई एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएपछि प्रारम्भिक लाइसेन्स दिने जनाएको छ। बाँकी ६० करोड रुपैयाँ भने सर्वसाधारणलाई प्राथमिक शेयर जारी गरि पुर्याउँदा हुनेछ।
 
तोके बमोजिमको पूँजी पुर्याएर प्रारम्भिक अनुमति लिने कम्पनीले सात चरणको प्रकृया पार गर्नु पर्ने समितिका उप निर्देशक साम्बराज लामिछानेले बताए। जसमा कम्तिमा सात विभाग सहितको कार्यालय स्थापना, कर्मचारी सेवा विनियम एवं भर्ना, सम्पत्ति शुद्धिकरण विरुद्धको निर्देशिका लगायत तयार पार्नु पर्छ। सबै मापदण्ड पुगेपछि मात्र समितिले कारोबार थाल्ने अनुमति दिने लामिछानेले जानकारी दिए।
 
महालक्ष्मी इन्स्योरेन्सले समितिले निर्देशन गरेको ७० प्रतिशत पूँजी र पूर्वाधार सम्बन्धि मापदण्ड एकै पटक पुरा गर्ने तयारी गरेको छ। अहिले कर्मचारी व्यवस्थापन, कार्यालय स्थापना, पूनर्बीमा तथा आफ्ना प्रडक्ट तयार पार्ने काम भइ रहेको कम्पनीले जनाएको छ। मिलेसम्म दशैं अगावै कार्यालय उद्घाटन गर्ने कम्पनीको योजना छ।

Tata
GBIME
Nepal Life