भारतमा तहल्का पिटेका २३ बर्षे ठिटोको नेपालमा पहिलो भेन्चर, बर्ष दिनमा ५० होटलको सञ्जाल

बिजमाण्डू
२०७४ जेठ १४ गते ०९:४३ | May 28, 2017
भारतमा तहल्का पिटेका २३ बर्षे ठिटोको नेपालमा पहिलो भेन्चर, बर्ष दिनमा ५० होटलको सञ्जाल

Tata
GBIME
Nepal Life

राजधानीको सानो गौचरन स्थित मध्यम कोटीमा चलिरहेको एक होटलको 'रिब्रान्डिङ' समारोह। कार्यक्रमको प्रमुख अतिथि थिए उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीदेखि नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीसम्म।

 
२२ कोठाको एउटा होटलको रिब्रान्डिङमा यति हेभिवेट उपस्थिती! यसको कारण भने फरक थियो। होटलको तारा या कोठा संख्याका कारण उनीहरु आएका थिएनन्। उनीहरुको उपस्थितीको कारण थियो- 'रिब्रान्डिङ' पछि होटलले पाउने नाम। 
 
सानो गौचरनमा केही बर्षदेखि सञ्चालित होटल प्रिन्स प्लाजा गत मंगलबारको उक्त समारोहपछि भारत र मलेसियामा चर्चा कमाइसकेको 'ओयो रुम्स' छाताभित्र औपचारिक रुपले प्रवेश गरेको छ। नेपालमा ओयो ब्राण्ड प्रवेश गराउने माध्यम बनेपछि प्रिन्स प्लाजालाई हौसला दिन गृहमन्त्रीदेखि भारतीय राजदूतसम्म पुगेका हुन्।
 
***

भर्खरै हाइस्कुल सकेका एक १९ बर्षे तन्नेरीलाई कलेज छिर्न मन लागेन। परिवारबाट पढाइलाई निरन्तरता दिन तिब्र दवाव थियो तर उनको मनमा १७ बर्षको उमेर देखिनै अरु नै कुरा खेल्थे।
 
उनलाई कम्प्युटरप्रति गहिरो रुची थियो। त्यसकै आडमा केही नयाँ गर्ने सोचले दिमाग दौडिरहन्थ्यो। विश्वविद्यालय छिरेर 'समय नष्ट' गर्नुभन्दा उनी आफ्नै दुनियाँमा सिक्न चाहन्थे। 'सिक्नु र विश्वविद्यालय जानु फरक बिषय हुन्, आफ्नै परिभाषामा जिन्दगीलाई डोहोर्याउन सफल रितेश अग्रवालले होटल प्रिन्स प्लाजाको लविमा बिजमाण्डूसँग भने- मैले सिकाइ त्याग्न चाहेको थिइनँ तर विश्वविद्यालय छिरेर मात्र सिकिन्छ भन्ने भ्रमबाट भनेँ टाढा थिएँ।' आफुले 'रियल वर्ल्ड' मा शिक्षा लिन पाएको उनी बताउँछन्।
 
उडिसा र आन्ध्र प्रदेशको सीमा क्षेत्रको ग्रामीण भेगमा उनको जन्म भएको थियो। बाबु आमा  सामान्य पसल चलाउँथे। यस्तोमा अभिभावकले उनको पढाइ नरोकियोस् भन्ने ठान्नु नौलो थिएन। तर, उनको मनमा अर्कै भूत सवार थियो। 
 
आफुभित्र रहेको कम्प्युटर सीपलाई उनी उद्यममा ढाल्न चाहन्थे। १२ कक्षाको जाँच सकेपछि अभिभावकसँग कम्तिमा एक बर्षको समय मागे। त्यसपछि पढाइलाई निरन्तरता दिने उनको बाचा थियो। 
 
उनी आफ्नो काममा लागिरहेका थिए। हस्पिटालिटी उद्योगमा आफ्नो प्रविधिको ज्ञानलाई कसरी जोड्न सकिएला भन्नेमा अधिकांश समय बिताउँथे। तर, बुबा आमासँगको बाचा बमोजिम उनी एक बर्षपछि विश्वविद्यालय भर्ना हुन बाध्य भए। केही दिन क्लास लिन गए पनि। 'ड्रप आउट' हुने उनको कुनै पूर्व तयारी थिएन।
 
तर, एकदिन बिदा पाउने बित्तिकै आफ्नो सपना हासिल गर्न कम्तिमा पाँच काम गर्छु भन्दै बस्थे। उनीसँग सपना थियो तर साकार पार्ने स्रोत थिए। विश्वविद्यालय गएपनि त्यही स्रोतको खोजीमा घोत्लिरहन्थे। 'स्टार्टअप' मा लगानी गर्ने बिभिन्न फेलोसिपहरुको साइट चिहाउँथे र आवेदन दिन्थे। यत्तिकैमा उनले पेपल, फेसबुक जस्ता बिजनेशमा स्टार्टअप लगानी गर्ने थिएल फेलोसिप पाए। अब उनीसँग कलेज जाने समय पनि भएन। भर्ना भएको छ महिनापछि 'ड्रप आउट' भए शतप्रतिशत आफ्नै काममा लागे। 
 
उनले ब्राण्ड बनिनसकेको होटलमा सुधारका ठाउँहरु खोजे। रेष्टुरेन्ट, कोठादेखि बुकिङ मोडालिटीसम्म समस्या रहेको पाए। र, एउटा स्तरीय होटलको अवधारणा बनाए। त्यति गरेपनि उनी आफैँ होटल खोल्ने ध्याउन्नमा थिएनन्। स्थापना भएका तर चल्न नसकेका होटललाई गति दिने उनको अवधारणा थियो। त्यसका लागि होटल सञ्चालकसँग सहकार्य चाहन्थे उनी। तर, कसरी? उपाय निस्किएको थिएन।


 
गुडगाउँको एक होटलमा छिरे उनी। होटल मालिकसँग भने- 'तिम्रो अकुपेन्सी दर न्यून रहेछ यसलाई माथि लैजाने अवधारण मसँग छ, व्यवस्थापनमा केही नयाँ गर्न मलाई देउ, यदि नाफा भयो भने तिम्रै भयो, घाटा भएमा म ब्योहोर्छु।'
 
होटल सञ्चालकले उनको अनुहार नियालेर हेरे। एक जना १९ बर्षे ठिटोले होटलको व्यवस्थापन हेर्ने र घाटा लागे उल्टो तिरदिने दावी गर्दैछ। 
 
हुन पनि घाटा भएको अवस्थामा भुक्तानी गर्ने स्रोत रितेशसँग थिएन। होटल सञ्चालक एकछिन गम खाए अनि भने – 'तिम्रो उत्साहलाई मैले मानेँ, घाटा भए तिमीले तिर्न पर्दैन ल गर।' रितेशलाई स्वर्ग पाएजस्तो भयो। उनी मरिमेटेर उक्त होटलको स्तरोन्नतीमा लागे। केही महिनामै नतिजा देखिन थाल्यो। गेष्ट दोहोर्याएर आउन थाले। आफु मात्र होइन साथीसंगतीलाई पनि होटल 'रेफर' गर्न थाले। 
 
अब रितेशलाई यहि अवधारणा अरु होटलमा विस्तार गर्न मन लाग्यो। उनले आफ्नो टिमलाई विस्तार गरे। अरु केही होटलसँग प्रस्ताव गरे। सबै होटलमा आफैं बसेर काम गर्न सम्भव थिएन। अब स्टाफहरुलाई तालिम दिन थाले। कम्युटरमा आउने बुकिङ हेर्नेदेखि गेष्टसँग गर्ने व्यवहार सुधार्न सिकाए। कोठा, लविदेखि प्यासेजसम्मको स्तर बृद्धिको अवधारणा तोके। र, यी सबै गर्दा मूल्यमा सदैव ध्यान दिए।
 
कम मूल्यमा गुणस्तरीय होटल भन्ने मूल मान्यताबाट बिचलित भएनन्। जुन जुन होटलले रितेशको ओयोसँग सहकार्य गरे, उनीहरुको सफलता दिन प्रतिदिन फैलँदो भयो। यसले रितेशलाई पनि नयाँ नयाँ उचाइ दिइरह्यो। 
 
'सुरुमा तीनवटा होटलको स्तर बृद्धि गर्न सफल भइयो भने पुग्यो जस्तो लाग्थ्यो,  उनले सुनाए – तर हरेक खुड्किलो उक्लँदै जाँदा नयाँ क्षितिज देखियो र त्यसैलाई पछ्याउन थालियो।'
 
अहिले ओयो रुम्स अन्तर्गत भारत र मलेसियाका २०० शहरमा ७५ सय वटा होटल छन्। यी होटललाई 'ह्यासल फ्रि' होटलको रुपमा चिनाउन चाहन्छन् रितेश। 
 
'ह्यासल फ्रि' विशेषणबाट होटलको बुकिङ या सेवा मात्र होइन ओयो अन्तर्गतका हर सुबिधालाई उनले बुझाउन खोजेका छन्। शहरका अधिकांश होटलले  'चेक इन' को समय १२ बजेलाई तोकेका हुन्छन्। तर, बिहान ६/७ बजे जहाज, बस या रेलबाट उत्रिएर होटल पुग्ने गेष्टले चेक इनकालागि लविमा बसेर ४/५ घण्टासम्म नै कुर्नुपर्ने हुन्छ। 
 
'ओयो सञ्चालमा बिहान छ बजे पनि चेक इन सुविधा छ, उनी भन्छन् – हामी उपभोक्तालाई हरेक दृष्टिमा ह्यासल्स फ्रि सुविधा दिन चाहन्छौँ।'
  
मोबाइलमा रहेको ओयो एप मार्फत होटलको मूल्य, लोकेसन र सुविधाबारे थाहा पाउन सकिन्छ। खास ब्राण्ड बनिनसकेका ती होटल ओयोको छातामा आएपछिको गुणस्तरमा समानता छ। 
 
चार बर्षअघि एउटा होटलको व्यवस्थापन सम्हाल्नुलाई भाग्य ठान्ने रितेशको ओयो अन्तर्गतका होटलले अहिले मासिक झन्डै दुई करोड अमेरिकी डलर (दुई अर्ब रुपैयाँ बढी) को कारोबार गर्छन्। 
 
२३ बर्षिय रितेशले ओयो रुम्सलाई युवाहरुको कम्पनीको रुपमा चिनाउँछन्। आफ्नो टिममा काम गर्नेको औसत उमेर २५/२६ बर्ष मात्र रहेको उनको भनाइ छ। यही उर्जावान् युवा टिमकै कारण ओयो चार बर्षमा यति धेरै फैलिन सफल भएको उनी बताउँछन्।
 
आज ओयो दक्षिण एसियाको सबैभन्दा ठूलो हस्पिटालिटी कम्पनी बनिसकेको छ र यसको विस्तार अझ तिब्र हुँदैछ।


  

***
 
भारतमा स्थापित भइसकेपछि त्यहाँबाट नेपाल घुम्न आउनेहरुले रितेश र उनको टिमलाई निरन्तर सोधिरहन थाले- नेपालमा ओयो किन जाँदैन? भारतीय मात्र होइन नेपालीले समेत भारत गएर ओयोमा बसेपछि नेपाल भित्रिने समय सीमाबारे प्रश्न गर्न थाले। झन्डै पछिल्लो एक बर्षदेखि रितेशले नेपालको बजारबारे बुझ्न थाले।
 
तीन महिना अघिदेखि सानो गौचरनको होटल प्रिन्स प्लाजासँग कुरा हुन थाल्यो। दुबै पक्ष सहकार्यकालागि सहमत भए। ओयो रुम्सको पूर्वी क्षेत्रको व्यापार हेर्ने प्रशुन नेपाल आएर सबै कुरा टुङ्गाए। भारतको ब्यस्तताबीच शनिबार साँझको फ्लाइटबाट उनी काठमाडौँ उत्रन्थे र आइतबार दिनभर काम गरेर फर्कन्थे।  
 
'आइतबार कार्यालय खुल्ने नेपाली चलनले पनि हामीलाई यहाँ आउन धेरै मद्दत गरेको छ' रितेशले सुनाए।
 
अन्ततः सबै सहमति भयो। होटलको बाहिरी स्वरुपबाट नै रिब्रान्डिङ सुरु भयो। भवनमा ओयोको कर्पोरेट रङ (रातो) पोतियो र लोगो राखियो। लवि, रिसेप्सनदेखि कोठा र प्यासेजसम्म ओयोको अवधारणा अनुसार स्तरोन्नती भए। सबै काम रेडी भएपछि एक महिनाअघि प्रिन्स प्लाजालाई ओयोले आफ्नो छाताभित्र ल्यायो। ओयोको मोबाइल एपबाट होटल बुकिङ सुरु भएसँगै औसत ६० प्रतिशत रहेको अकुपेन्सी दर ८० प्रतिशत नाघिसकेको छ। यसले रितेश र प्रिन्स प्लाजा व्यवस्थापन दुबैलाई उत्साहित बनाएको छ। नेपालमा थप विस्तार हुने रितेशको सोचमा बल पनि पुगेको छ।
 
उनको नजरमा नेपालमा तीनखाले पर्यटक आउँछन्। पहिलो पश्चिमा मुलुकबाट हिमालय र नेपालको प्राकृतिक सुन्दरता हेर्न। पछिल्लो समय चीनबाट बढिरहेका पर्यटकलाई पनि उनी यही सूचीमा राख्न चाहन्छन्।
 
दोस्रो चाहिँ यहाँ आउने भारतीय पर्यटक। विशेषगरी भारतीय धार्मिक पर्यटककालागि नेपाल प्रमुख गन्तव्य हो भन्ने हेक्का उनलाई राम्रोसँग छ। तेस्रो नेपालका आन्तरिक पर्यटक। 


 
ओयो रुम्स अन्तर्गतका होटलले यी तिनै बर्गलाई समान र गुणस्तरीय हस्पिटालिटी सेवा दिने दावी रितेशको छ। 
 
'नेपाली युवा पुस्ताले हामीप्रति विशेष चासो देखाएका छन्, उनी भन्छन्- अहिले धेरैले ओयोको नेपाल प्रवेशबारे ब्लग लेख्नेदेखि सेल्फी लिएर पोष्ट गर्नेसम्मका काम गरिरहेका छन्।'
 
१० बर्षे द्वन्दको शान्तिपूर्वक निरुपणसँगै नेपाली पर्यटनका सुन्दर दिन सुरु भएको उनको ठम्याइ छ। यो क्रमले आगामी दिनमा निरन्तरता पाउने र आफुहरुले त्यसकालागि पूर्वाधार तयार गरेको उनी बताउँछन्।
 
होटल प्रिन्स प्लाजा र ओयो रुम्सको सहकार्यको औपचारिक घोषणाकालागि नेपाल आएका रितेश तीन दिने बसाइमा हतार हतार पोखरासमेत पुगे। पोखराको प्राकृतिक आनन्दसँगै त्यहाँ ओयो प्रवेशको ढोका पनि खोलेर फर्किएका छन्।
   
'नेपालमा काठमाडौं मात्र होइन पोखरा तथा लुम्बिनीजस्ता ठाउँ हाम्रा लागि उत्तिकै प्रवल संभावना छन्, उनी भन्छन्- नेपालको जुनसुकै स्थानमा हेरौँ हस्पिटालिटीमा तीनवटा समान समस्या छन्। एक गुणस्तर, दुई बुकिङमा अफ्ठ्यारोपन र तीन धान्न नसकिने मूल्य।' यी तीनवटै चुनौतीलाई एक ठाउँमा ल्याएर समाधान गर्ने आफुहरुको मिसन रहेको उनी बताउँछन्।
 
एकबर्षभित्र उनले सोचेका तीन शहरमा कम्तिमा ५० ओयो ब्राण्डका होटल स्थापना गर्ने लक्ष्य रितेशको छ। त्यस अनुरुप उनले सम्पर्क पनि बढाइरहेका छन्। 'हजारौँ , लाखौँ व्यक्तिहरु जो यात्रा चाहन्छन् उनीहरुले सहज बास र होटल सञ्चालकले बिजनेश पाउन् भन्ने नै हाम्रो मूल चाहना हो' उनी भन्छन्। ओयो रुम्सले आफु, पार्टनर र ग्राहक तिनैलाई नाफामा राख्न चाहेको उनी बताउँछन्।
 
ओयो रुम्सलाई उनी एउटा 'हस्पिटालिटी टेक' कम्पनीको रुपमा चिनाउन चाहन्छन्। जसबाट एउटा स्मार्टफोन प्रयोगकर्ताले सहज भूगोलमा उच्च गुणस्तरको होटल अत्यन्त उचित मूल्यमा पाउनेछ। 
 
'हामी चाहन्छौँ की हाम्रो कारणले होटल सञ्चालक र गेष्टको आत्मियता अझ प्रगाढ बनोस्' उनले भने। 
 
ओयो रुम्स अन्तर्गतका होटलमा हरेक तीनवटा कोठा बराबर एकजनाले रोजगारी पाउनुपर्छ भन्ने मान्यता रहेको उनले बताए। त्यस अनुरुप आउँदो एक बर्षभित्र ओयोको छातामा ५० नेपाली होटल आउँदा ५०० हाराहारीमा रोजगारी सिर्जना हुने तथ्यसमेत उनले सुनाए। 
 
'एउटा होटलमा औसत ३० वटा कोठा हुँदा पनि ५०० जनाले नेपाली ओयो रुम्समा काम पाउनेछन्' उनले भने।
 
***


 
आफ्नै बुतामा करोडपति बनेका एक २३ बर्षे ठिटोको निम्तो स्वीकारेर गृहमन्त्री निधी र राजदूत पुरी ओयो रुम्स उद्घाटनमा पुगेका थिए।
 
भारतीय राजदुतकालागि त झन् यो उमेरमा यत्रो सफलता हात पार्ने रितेश देशकै एक निधी थिए। 
 
दक्षिण एसियामा तिब्र बजार बिस्तार गरिएको ओयोको भविष्यको आँखा कता होला? 
 
'अहिलेसम्म पश्चिमा देशले प्रविधि इन्नोभेसन गर्ने र हामी पूर्वियले त्यसको उपयोग गर्दै आएका थियौँ, उनले नयाँ क्षितिजको संकेत गरे-  सायद ओयो पूर्वबाट पश्चिम जाने टेक्नोलोजी बन्ला कि!' 
 
उनका आँखामा यूरोप र अमेरिकामा ब्राण्ड बन्न नसेकेका होटलमा ओयोको रङ र लोगो पोत्ने 'ख्वाब' झल्कियो।