नेपालमा बैंकको शाखा खोल्न चिनियाँ अधिकारीहरु सक्रिय, चिनियाँ केन्द्रीय बैंकका अधिकारी आउँदै

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ बैशाख १४ गते १९:०४ | Apr 27, 2017
काठमाडौं। नेपालमा बैंक खोल्न चीनका व्यवसायीहरुले चासो राखेका छन्। नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई भेटेर उनीहरुले बैंक खोल्ने प्रावधानका बारेमा बुझेका हुन्।

एक बर्षअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र त्यहाँको केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय सुचना आदनप्रदान गर्ने सम्झौता भएपछि चीनीयाँलाई नेपालमा बैंक खोल्ने बाटो खुलेको हो।

 
राष्ट्र बैंकका डेपुटी गभर्नर चीन्तामणि शिवाकोटीले चिनियाँ बैंक नेपाल आउन खोजेको जानकारी दिँदै भने- उनीहरुले विभिन्न चरणमा छलफल गरिरहेका छन्। 
 
राष्ट्र बैंकको ६२औ बार्षिकउत्सव कार्यक्रममा संवोधन गर्दै शिवाकोटीले नेपालमा कारोबार र लगानी बढ्न थालेपछि चिनियाँ व्यवसायीले बैंक खोल्न छलफल गर्न थालेको बताएका हुन्। चिनियाँ प्रतिनिधिले सरकार, राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकका प्रमुखसँग परामर्श थालेका हुन्। 
 
चिनियाँहरुले नेपालमा विकास आयोजना सञ्चालन गरिरहेकाले त्यसको कारोबार आफ्नै बैंकबाट होस् भन्ने चाहेका छन्। केही वर्षयता नेपालमा चिनियाँ लगानीका ठूला आयोजना र वैदेशिक व्यापार बढिरहेको छ। आफ्नो व्यापार र लगानीलाई सहज बनाउन उनीहरुले आफ्नै लगानीमा बैंक खोल्न चासो दिएका हुन्। अहिले चिनियाँ बैंकहरुले नेपालसँगको कारोबार नेपाली बैंकमार्फत गरिरहेका छन्। 
 
बैंक खोल्नेबारे औपचारिक छलफल गर्न चिनियाँ केन्द्रीय बैंकका वरिष्ठ अधिकारी नेपालमा आउन लागेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए। पिपुल्स बैंक अफ चाइनाबाट चिनियाँ टोली नेपाल आउन लागेको हो।
 
एक बर्षअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र त्यहाँको केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय सुचना आदनप्रदान गर्ने सम्झौता भएसँगै बैंक खोल्ने बाटो खुलेको हो।
 
नेपालमा चिनियाँ लगानीमा सिन्वा हाइड्रो, माथिल्लो त्रिशुली–३ ए, राजधानीको बाहिरी चत्रपथ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगालगायत दर्जनभन्दा बढी आयोजना सञ्चालनमा छन्। यसबाहेक चिनियाँले नेपालमा होटल तथा रेस्टुरेन्ट, वस्तु व्यापार तथा मासु प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन्। 
 
यसअघिका गभर्नर डा युवराज खतिवडाले सिन्हावासँग कुराकानी गर्दै एक्जिम बैंकले नेपालमा सेवा सञ्चालनका लागि चासो देखाएको बताएका थिए। एक्जिम बैंकको प्रतिनिधीले नेपालमा लगानी गर्न अनौपचारिक प्रस्ताव गरेको जानकारी खतिवडाले दिएका थिए। बैंकको लगानी नेपाल भित्र्याउन कुटनीतिक तहमा दुई देशवीच छलफल चलिरहेको बताएका थिए। तर त्यसले ठोस रुप लिन सकेको थिएन।
 
अघिल्लो पटक अर्थसचिव हुँदा शान्तराज सुवेदीले चिनियाँ अधिकारीलाई नेपालमा बैंक खोल्न आग्रह गरेका थिए। सचिवको आग्रहपछि चिनियाँ प्रतिनिधिले नेपालका सरोकारवाला निकायसँग छलफल थालेका थिए। 
 
व्यापारिक कारोबारमा समस्या भएको भन्दै नेपालले चिनियाँ बैंकको शाखा खोल्न नेपाल–चीन तिब्बत सहसचिवस्तरीय व्यापार सहजीकरण समिति बैठकमा पनि कुरा उठाएको थियो। चार बर्षअघिको वैठकमा पनि चीनीयाँहरुले शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए। 
 
अहिले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरुले डेभलपमेन्ट बैंकमार्फत विकास निर्माणमा सहभागी हुनका लागि बैंक खोल्ने प्रकृयाका बारेमा बुझ्न सुरु गरेका हुन्। 
 
नेपाल राष्ट्र बैंकले ठूलो पुँजी लिएर नेपालको विकास निर्माणमा सहयोग गर्ने विदेशी बैंकलाई सञ्चालन अनुमति दिने नीति लिएको छ। नेपालमा बैंक खोल्ने नीति स्थगित गरिए पनि ठूलो पुँजीको विदेशी बैंकलाई भने विशेष प्राथमिकतामा राखेर अनुमति दिइने मौद्रिक नीतिमा नै उल्लेख छ। राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा १५ अर्बभन्दा बढी पुँजी लिएर आउनेलाई स्वीकृति दिन सकिने बताउँदै आएका छन्। 
 
चिनियाँ बैंकहरुले नेपाली बैंकसँग संयुक्त लगानीमा चासो देखाएका छन्। बैंकिङमा चिनियाँ एकदमै कमजोर हुने तथा चिनियाँ बैंकको खराब कर्जा नै ७० प्रतिशत माथि हुन्छ। त्यही कारण नेपाली बैंकहरु चीनीयाँसँग जान इच्छुक देखिएका छैनन्। चिनियाँ बैंकहरुको औसत खराब कर्जा दर ६८ प्रतिशत छ। 
 
नेपालमा चीन सरकारले दिने प्रत्यक्ष वैदेशिक सहायताको हिस्सा सानो भए पनि ऋण लगानी र व्यापारको हिस्सा ठूलो छ। 

Tata
GBIME
Nepal Life