सकारात्मक आर्थिक परिसूचकको आडमा शेयर बजारमा उत्साह, पाँच बर्ष होल्ड गर्न सके नसोचेको प्रतिफल

बिजमाण्डू
२०७४ बैशाख ३ गते ०९:५१ | Apr 16, 2017
सकारात्मक आर्थिक परिसूचकको आडमा शेयर बजारमा उत्साह, पाँच बर्ष होल्ड गर्न सके नसोचेको प्रतिफल
शेयर बजारमा केही समयको सुस्तता पश्चात फेरी उत्साह फर्किएको छ। पछिल्ला केही साता परिसूचक र कारोबार रकम दुबैले नयाँ लय समातेका छन्। त्यसमा पनि कारोबार रकममा त अढाइ अर्बको रेकर्ड नै बन्न पुग्यो। 

Tata
GBIME
Nepal Life

हाम्रो बजारले अलिक 'ओभर रियाक्ट' नै गर्छ। जतिबेला बजार झर्ने क्रम सुरु भयो सुरुमा लगानीकर्ताले आत्तिएर शेयर किन्न नै छाडे। बेच्नेको चाप बढुन्जेल बजार ओरालो लागि रह्यो। तर, जब बजार १३०० अंकको हाराहारीमा झर्यो बेच्ने पनि आएनन्। किन्नेको चाप ह्वात्तै बढ्यो। यसले कारोबार रकम समेत ओर्लियो। 
 
त्यो बेला के ले  'ट्रिगर' गर्यो त थाहा छैन तर बजारमा अचानक खरिदकर्ता आए। एकातिर बैंककमा लिक्विडिटी क्रन्च, अर्को तिर मार्जिन कलको दवाव। यस्तो अवस्था भएपछि बजारमा शेयर बिक्रीको चाप बढेको थियो। खरिदकर्ता 'पर्ख र हेर'मा थिए। उनीहरु शेयर किन्छु भन्नेमा त थिए तर कुन बिन्दुमा खरीद आदेश दिने भन्नेमा प्रष्ट थिएनन्। यस्तोमा बजार १३ सय अंक आसपास ओर्लिसकेपछि खरीदकर्ता एकाएक उत्साहित भएर आए।
 
केही 'प्रडक्ट' त पहिला पनि 'अण्डर प्राइस' थिए। अहिले पनि कतिपय कम्पनी 'अण्डर प्राइस' छन्। अहिले बजार बढाउने प्रमुख कारक बीमा कम्पनी देखिएका छन्। सुरुमा बीमा कम्पनीको पूँजी बृद्धिको हल्ला बजारमा थियो भने पूँजी बढाउने निर्देशन आइ सकेको छ। सोही कारण बजार बृद्धिमा बीमा कम्पनीहरु मूख्य हात छ। 
 
पूँजी बृद्धि लगत्तै बीमा कम्पनीको नाफा बढ्छ भन्ने हुँदैन। तर, बैंकमा भने पूँजी बृद्धिले नाफालाई पनि 'दर्ह्रो'सँग ट्रिगर गरिरहेको हुन्छ। किनभने पूँजी बृद्धिले कर्जा दिने क्षमता अभिबृद्धि हुन्छ। त्यसले नाफा बृद्धिमा अवश्य प्रभाव पार्नेछ। तर, निर्जीवन बीमा कम्पनीको चार गुणा नै पूँजी बढाए पनि सोही अनुपातमा तत्कालन नाफा बृद्धिको संभावना हुँदैन। किनभने एकै पटक बीमाको बजारले त्यसरी 'जम्प' हान्न सक्दैन।


अहिले कारोबार रकममा पनि राम्रै उत्साह देखिएको छ। अब कम्पनीहरुको तेस्रो त्रैमासिकको वित्तिय विवरण प्रकाशित हुन थाल्छ र सबै नै बैंकको नाफा बढेर आउनेछ। त्यसो हुने वित्तिकै प्रतिफलको संभावना पनि बढ्छ र बजार थप माथि जान्छ। अझै पनि बैंक तथा वित्तिय संस्थाको मूल्य पर्याप्त रुपले बढि सकेको छैन। 


त्यस बाहेक देशका अरु आर्थिक परिसूचक पनि राम्रो देखिएका छन्। झन्डै डेढ दशक पछि ६ प्रतिशत माथिको आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ। महाभूकम्प र नाकाबन्दी पछि मुलुकको अर्थतन्त्रले कोल्टे फेर्ने लक्षण देखाउँदा बजारमा उत्साह आउनु स्वाभाविक नै हो। अहिले बैंकको ब्याजदर १२ प्रतिशत हाराहारी पुग्दा पनि 'विजनेश सेक्टरमा लोन डिमाण्ड' घटेको छैन।

यसको मतलव प्रतिफल छ भन्ने त्यसैबाट देखिन आउँछ। बिजनेश 'सेक्टर'मा सबैभन्दा ठूलो उत्साह त लोडसेडिङ अन्त्यले दिएको छ। यसले आत्मविश्वास त बढाएको छ नै कष्ट अफ प्रोडक्सन घट्ने देखि उत्पादकत्व बृद्धि सम्ममा नतिजा देखिन थालेका छन्।

काठमाडौं-तराई फाष्ट ट्र्याक, मेलम्ची खानेपानी, बिभिन्न एयरपोर्ट, माथिल्लो तामाकोशी जस्ता आयोजनाको काम तीब्र गतिमा अघि बढेको खवर पनि आइरहेका छन्। यसले मुलुककै सकारात्मक 'भाइब्रेसन' ल्याएको छ र त्यो शेयर बजार मार्फत प्रतित भएको हो। 

त्यसैले अहिले कसैले शेयर किनेर पाँच बर्ष होल्ड गर्न सक्यो भने नसोचेकै प्रतिफल हात लाग्नेछ।त्यसबेला परिसूचक कति पुग्ला त भन्न सकिन्न तर हरेक शेयरको प्रतिफल भने धेरै उत्साहवर्द्धक हुनेछ। अहिले देखिएका सबै सकारात्मक 'भाइब्रेसन'को नजिता त्यसबेला हात लाग्ने थाल्ने हुँदा त्यस बेला लगानीकर्ताको आत्मविश्वासले समेत नयाँ उचाइ लिनेछ। 

 
किनभने अर्थतन्त्र जुन आकारमा विस्तार हुन्छ पूँजीको  'भ्यालु' त्यो भन्दा तीब्र स्वरुपमा बृद्धि भइ रहेको हुन्छ। अहिले औपचारिक च्यानलबाट बार्षिक ६०० अर्ब रुपैयाँ हाराहारी रेमिट्यान्स आइरहेको छ। तर, जति नेपाली भारत एवं तेस्रो मुलुकमा काम गर्न गएका छन् उनीहरुको आयलाई विवेकपुर्ण तवरले विश्लेषण गर्दा मुलुकमा एक हजार अर्ब रुपैयाँ माथि रेमिट्यान्स भित्रिएको हुनुपर्छ।

६०० अर्बको जुन लेखाङ्कन भएको हो, त्यस आधारमा अहिले ६.२ प्रतिशतको आर्थिक बृद्धिदर प्रक्षेपण गरिएको छ। तर, मुलुकमा जति रेमिट्यान्स भित्रिएको छ त्यो सबै आर्थिक गतिविधीमै संलग्न भएको हुन्छ। त्यसैले हाम्रो आर्थिक बृद्धि प्रक्षेपण गरिए भन्दा माथिकै हुनेछ। अर्को अहिले मुद्रास्फिती न्यून विन्दुमा झरेको छ। रेमिट्यान्स आप्रवाह जस्तो मूल्यबृद्धि सुशुप्त अवस्थामा रहन सक्दैन। यी सबै कारणले गर्दा पनि शेयर बजारको उत्साहले आगामी दिन नयाँ उचाइ लिने प्रष्ट देखिन्छ।