पाँच किलोमिटर यात्रा गर्दा १ सय ३० रुपैयाँ भाडा! अनुगमन नहुँदा सार्वजनिक यातायातमा मनपरी भाडा

रासस
२०७३ फागुन २९ गते ११:५३ | Mar 12, 2017
म्याग्दी। सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति १३० भाडा तिर्नुपर्छ । 
 
बेनीदेखि तीन किमी दूरीमा रहेको बेनी–अर्थुङ्गे सडकमा प्रतियात्रु १०० र सात किमी दूरीमा पर्ने पुलाचौर पुग्न १५० का दरले भाडा तिर्नुपर्छ । डाँडाखेत, अर्थुङ्गे र पुलाचौरमात्र होइन बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रा गर्दा यस्तै चर्को भाडा तिर्नुपर्ने बाध्यता छ म्याग्दीवासीलाई । 
 
बेनी–डाँडाखेत सडकमा चल्ने एउटा मात्र माइक्रोबस चढ्न भनेजति भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बुद्ध सार्कीले बताए । “सडक भएपछि गाडी चढ्न मन लाग्छ”, सार्कीले भने – “तर महँगो भाडादरका कारण गरिब, विपन्न गाउँलेको ढाड सेकिएको छ ।”
 
मर्मत र स्तरवृद्धि भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन नहुनु, नियमनकारी निकायको बेवास्ता र व्यवसायीको मनोमानीका कारण सर्वसाधारण मर्कामा परेका हुन् । जिल्लाका धेरैजसो सडकमा व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन् भने अनुगमनको अभावमा कायम भएको भाडादरसमेत कार्यान्वयन हुन सकेको छैन । 
 
भाडादर समायोजन र अनुगमन नहुँदा जिप, ट्याक्सी, माइक्रोबसमा यात्रा गर्दा महँगो भाडा तिर्न बाध्य भएको स्थानीय भीम तिलिजाले गुनासो गर्नुभयो गरे। “सडक पुगेको ठाउँमा गाडीले सुविधा त दिएका छन् तर भाडादर चर्को हुँदा मर्का परेको छ”, तिलीजाले भने – “सम्बन्धित निकायले भाडा निर्धारण र कार्यान्वयनका लागि अनुगमन गर्नुपर्छ ।” 
 
यातायात व्यवसायीले भने कच्ची र जीर्ण सडकका कारण देशका अन्य ठाउँको भन्दा म्याग्दीमा स्वाभाविक हिसाबले भाडादर बढी कायम भएको र प्रशासनले तोकेको भन्दा बढी भाडा नलिएको दाबी गरेका छन् ।जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भाडादरको विषयमा यातायात व्यवसायीसँग छलफल गरेर समायोजन गर्न पहल भइरहेको बताए । 

Tata
GBIME
Nepal Life