विराट एक्स्पोको रोजगार मेलामार्फत् धमाधम रोजगारी पाउँदै, दुर्इ सयले दिए रोजगारीका लागि आवेदन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ फागुन १४ गते ०९:४९ | Feb 25, 2017
विराटनगर। विराट एक्स्पोमा राखिएको सूचना केन्द्रमा दुई सय जना युवाले रोजगारीका लागि आवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

श्रम तथा रोजगार मन्त्रालय राखेको सूचना केन्द्रमा आवेदन दिएकोमध्ये दुई जनाले रोजगारी पाएका छन् भने पाँच जनाको रोजगारी पक्का भएको छ।जागिर पक्का भएका ५ जनालाई एक्स्पोको समापनपछि काममा लगिने छ ।
 

केन्द्रका प्रमुख महेन्द्र प्रसाईंका अनुसार खगेन्द्र भट्टराई र रामप्रसाद गौतमले सवारी चालकको काम पाइसकेका छन् । केन्द्रमा बेरोजगार युवाले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउँदै काम गर्न चाहेको क्षेत्रका बारेमा पनि जानकारी दिएका छन्।
 
उनका अनुसार दर्ता भएकामध्ये सबैभन्दा बढी लेखापालमा काम गर्न इच्छुक देखिएका छन् । त्यसपछि मार्केटिङ र शिक्षण पेशामा काम गर्न चाहनेहरू छन् ।यसबाहेक लेथ अपरेटर, प्लम्बर, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनर र कुकको पेशा चाहनेको संख्या पनि उल्लेख्य छ।
 
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सहयोगमा विराटनगरको श्रम कार्यालयमा ‘श्रम बजार सूचना तथा रोजगार सेवा योजना’ सञ्चालित छ ।
देशभरिमा क्षेत्रीय आधारमा पाँच वटा र विभिन्न १४ स्थानमा छुट्टै सूचना केन्द्र रहेको प्रसाईंले स्पष्ट पारे ।
 
एक्स्पोमा कामदारको खोजी गर्दै ६ रोजगारदाता आएका छन् । उनीहरूलाई प्राविधिक र अप्राविधिक गरी कुल ४८ कामदारको तुरुन्त आवश्यकता परेको छ ।एक्स्पो सकिनेबित्तिकै दर्ता भएकामध्ये योग्य र दक्षको पहिचान गरेर ४८ जनालाई रोजगारी दिन सकिने विश्वास प्रसाईंले व्यक्त गरे । 
 
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा योजनाले ७२ जनालाई रोजगार बनाइसकेको र तीमध्ये ३६ जना अझै योजनाले उपलब्ध गराएको रोजगारीमै रहेको प्रसाईंले बताए ।