एक दिनको हड्तालले हप्तादिनै पेट्रोल असहज, दोब्बर भन्दा बढी तेल दिएपछि सहज बन्दै

बिजमाण्डू
२०७३ फागुन १२ गते ११:२८ | Feb 23, 2017
एक दिनको हड्तालले हप्तादिनै पेट्रोल असहज,  दोब्बर भन्दा बढी तेल दिएपछि सहज बन्दै
काठमाडौं।ट्यांकर चालकको एक दिनको हड्तालले सिर्जना भएको पेट्रोलियम अभाव हटेको छ।बुधवारदेखि पेट्रोल पम्पमा सवारी साधनको भीड कम भएको छ।

Tata
GBIME
Nepal Life

निगमले ढुवानी विनियमावलीमा संशोधन गर्दै तोकिएको भन्दा बढी तेल नोक्सानी भएमा शतप्रतिशत जरीवाना तिर्नुपर्ने प्रावधानको विरोधमा शुक्रबार एक दिन सांकेतिक रुपमा तेल उठाउन बन्द गरेका थिए।

एक दिन तेल ढुवानी ठप्प हुँदा राजधानी लगायतका केही क्षेत्रमा सवारी साधनको लाम लागेको थियो।निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेले नाकाबन्दीपछि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना भएको बताउँदै कुनै पम्पमा भीड लाग्नेवित्तिकै उपभोक्ताले स्टक राख्न थाल्दा समस्या बढेको बताए।
 

भारतको अघोषित नाकाबन्दीपछि उपभोक्तामा मनोवैज्ञानिक त्रास देखिन्छ।कुनै पम्पमा भीड लाग्नेवित्तिकै तेल अभाव हुँदैछ भन्ने त्रास देखिने र अनावश्यक हल्ला फैलिँदा समस्या हुने गरेको छ, उनले बिजमाण्डूसँग भने,शुक्रबार एक दिन तेल बजारमा नजाँदा त्यसको असर एक सातासम्म पर्नुको कारण पनि यही हो।

उनका अनुसार शुक्रबार एक दिन हड्ताल भएपनि शनिबार समेत डिपो खोलेर पेट्रोलियम पदार्थ दिएका थियौं।थानकोट डिपोले आइतबार ८ लाख २३ हजार पेट्रोल दिएको थियो।यो साता लगातार माग भन्दा बढी पेट्रोल दिएको छ।

सामान्य समयमा राजधानीमा चार लाखको हाराहारीमा पेट्रोलको माग हो। निगमले सोमबार  पाँच लाख २५ हजार , मंगलबार ८ लाख ४८ हजार र  बुधवार पाँच लाख १५ हजार पेट्रोल दिएको थियो।निगमले आज पाँच लाख १५ हजार लिटर पेट्रोल दिने जनाएको छ।थानकोट डिपो शिवरात्रीमा सार्वजनिक विदा भएपनि खुल्ने छ।डिपो प्रमुख काफ्लेले शुक्रबार सार्वजनिक विदा भएपनि डिपो खोलेर आठ लाख लिटर पेट्रोल दिने उनले बताए।

 
मधेश आन्दोलनको त्रासले बढ्यो माग
निर्वाचनको घोषणासँगै मधेशमा सुरु भएको आन्दोलनले समेत पेट्रोलियम पदार्थको माग बढेको छ।निगमका अनुसार राजधानीमा अहिले उपभोक्ताले बढी तेल स्टक गरेकोले समेत माग बढेको हो।

काफ्लेका अनुसार मधेश आन्दोलन भएपनि पेट्रोलियम पदार्थ आउन कुनै अवरोध भएको छैन।