खासादेखि मितेरीपुलसम्म बाटो बन्यो, तातोपानीमा चीनले नाका खोले नेपालतर्फपनि खोल्न सकिने

बिजमाण्डू
२०७३ फागुन ८ गते १७:४१ | Feb 19, 2017

काठमाडौं। दुइवर्षअघि भूकम्पले क्षति गरेको देशको प्रमुख नाकामध्येको एक तातोपानी नाका पुन सञ्चालनका लागि पहल बढ्न थालेको छ। चिनियाँ पक्षले खासादेखि सिन्धुपाल्चोकको मितेरी पुलसम्म सडक निर्माण सम्पन्न भएको जानकारी दिइसकेको छ । 

Tata
GBIME
Nepal Life

मितेरीपुलदेखि खासासम्मको सडक बनेपछि नाका खुलाउने यसअघि नै सहमति भएको थियो । तर नाका अहिलेसम्म पनि खुलेको छैन।

केहिदिन अगाडि तातोपानी भन्सार खुलाउने पहलका विषयमा परराष्ट्रमन्त्रालयमा भन्सार विभाग, परराष्ट्र मन्त्रालय तथा अर्थमन्त्रालय र चिनियाँ पक्षबीच वार्ता भएको थियो।

वार्तामा नेपाली पक्षले चीनले भन्सार खुलाए नेपाली पक्ष काम गर्न तयार रहेको बताएको भन्सार विभागका प्रवक्ता कुलराज ज्ञवालीले बताए।

ज्ञवालीले चिनियाँ भन्सार कार्यालयतर्फ सबै काम भइसकेको र नेपालतर्फ भवन निर्माण, बिजुली र टेलिफोनको काम गर्न बाँकी रहेको जानकारी दिए।

उनले बिजुलीको जडानकालागि काम भइरहेको र टेलिफोन लाइन जडानकालागि सम्वन्धित पक्षसँग छलफल भइरहेको बताए।

केहिदिन पहिले भन्सार विभागको टोलीले नाकाको भौतिक अवस्थाका बारेमा स्थलगत जानकारी समेत लिएको थियो। टोलीले तीन स्थानमा बाटो मर्मतको काम केहि बाँकी रहेको तथा अन्य सबै स्थानमा दुइतर्फी रुपमा सहज आवतजावत भएको उनले बताए।

मन्त्रालयमा भएको छलफलमा नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक देखिएको तर बाटो तथा भन्सार भवनका विषयमा चिन्तित भएको उनले बताए।

दैनिक डेढ करोडभन्दा माथि राजस्व संकलन हुने नाका दुईवर्षदेखि बन्द हुँदा सरकार र सम्वन्धित निकायले कुटनीतिक पहल नगर्दा राजश्व समेत शून्य भएको छ।
 
प्रिफ्याव भवनका लागि डेढ करोड माग
तातोपानी नाकामा भन्सार कार्यालयकालागि एउटा घर निर्माण भैसकेको छ । कार्यालयकालागि थप अर्को एउटा प्रिफ्याव भवन निर्माण गर्नुपर्ने तातोपानी भन्सार कार्यालयका प्रमुख दिव्यराज पोखरेलले बताए।

उक्त भवन निर्माणका लागि डेढ करोड रुपैयाँ लाग्ने र रकम निकासाकालागि पत्राचार भइसकेको बताए। उनले नयाँ बन्ने भवन भूकम्प प्रतिरोधी तथा प्रिफ्यावबाट बन्ने समेत जानकारी दिए। नाका खुलाउने विषयमा सबै सरोकारवालाहरुले तत्काल पहल थालिहाल्नुपर्ने उनको भनाइ छ ।