पहाडका बैंकले डलर किन्न नमानेपछि विराटनगरसम्म धाउन वाध्य, राष्ट्र बैंक: कारवाही हुन्छ

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ पुष २७ गते १०:१७ | Jan 11, 2017

विराटनगर। पुर्वी पहाडको सङ्खुवासभा खाँदबारीमा रहेका निजी क्षेत्रका बाणिज्य बैंकले अमेरिकी डलर खरिद नगरेपछि सेवाग्राही विराटनगर आएर साट्न बाध्य भएका छन् ।

Tata
GBIME
Nepal Life

परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न पाउने अनुमति पत्रको फोटोकपी बैंकको भित्तामा झुन्ड््याएर पनि निजी बैंकहरूले डलर खरिद गर्न नमानेका हुन्।

मकालु अरुण सोसियल ट्रेक नामको कम्पनीमार्फत् ट्रेकिङ व्यवसाय गरिरहेका तेजनाथ पोखरेलले आफ्नो कारोबार जिल्ला सदरमुकामस्थित नबिलको शाखा कार्यालयमा भए पनि नबिलले अमेरिकी डलर खरिद गर्न नमानेको बताए।

व्यवसायी पोखरेलका अनुसार नबिलमात्र होइन जिल्ला सदरमुकाम खाँदबारीमा रहेका कुनै पनि बाणिज्य बैंकहरुले विदेशी मुद्रा खरिद गर्न मान्दैनन्। धेरैजसो बैंकले भित्तामा विदेशी मुद्रा खरिदविक्री गर्न पाउने अनुमतिपत्रको प्रतिलिपि टाँस गरेका छन् तर खरिद गर्दैनन्।

विदेशी मुद्राको बिमा र स्थानान्तरणको समस्या देखाउँदै निजी बैंकले अमेरिकी डलर साट्न नमानेको पोखरेलको गुनासो थियो।

‘ट्रेकिङ गर्न आउनेहरूले डलरमा पनि भुक्तानी गर्छन्’, पोखरेलले भने, ‘तर उनीहरूले दिएको डलर खाँदबारीमा बिक्री हुँदैन; साट्न विराटनगर, इटहरी वा धरान आइपुग्नु पर्छ।’

उनको कम्पनीले तुम्लिङटार विमानस्थल वा खाँदबारीदेखि लुक्ला, मिल्केजलजले, कञ्चनजङ्घा, मकालु बेस क्याम्प र किमाथाङ्कासम्म गरी पाँच ठाउँमा ट्रेकिङको सेवा पु¥याएको छ । जसमध्ये मकालु बेस क्याम्पसम्मको ट्रेकिङ सबैभन्दा बढी लोकप्रिय छ जो १७ दिनमा पूरा हुन्छ ।

ट्रेकिङ गर्ने दुई जनाको समूह छ भने प्रति दिनको सेवा शुल्क तीन सय र चार जनाको समूहलाई पाँच सय डलर लिने गरेको उनले जानकारी दिए।

त्यस्तै त्यस्तै भरियाको प्रति दिन २५ तथा वीमाको दैनिक ५० डलर र यसबाहेक खानपिन एवम् बास बसेको अलग भुक्तानी गर्नुपर्ने हुन्छ।

ट्रेकिङ गर्ने कतिपयले एटिएमबाट रकम निकालेर नेरुमै पनि भुक्तानी गर्छन् र कतिपयले डलर नै दिन्छन्’, पोखरेलले भने, ‘यसरी वर्षभरि काम गर्दा राम्रै डलर हात लाग्छ तर यहाँका बैंकले खरिद गर्न नमान्दा दुःख भएको छ।’

ट्रेकिङको मुख्य सिजन असोज, कात्तिक र मङसिर रहेको उल्लेख गर्दै उनले यो याममा हिमालको सौन्दर्य हेर्न पर्यटकहरू बढी आउने जानकारी दिए ।

अब खरिद गर्छौं: नबिल
व्यवसायी तेजनाथले भनेको कुरा छ महिना अघिको समस्या भएको उल्लेख गर्दै खाँदबारीको नबिल बैंकले अब विदेशी विनिमय खरिदविक्री गर्न लागेको दाबी गरेको छ ।

बैंकका अधिकृत भवेश बस्नेतले भने, ‘यो पुरानो कुरा हो, हामीलाई राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । अब हामी जति पनि अमेरिकी डलर खरिद गर्न सक्छौँ।’

खरिद नगरे कार्बाही हुन्छ: राष्ट्र बैंक
यसैबिच नेपाल राष्ट्र बैंक विराटनगरका क्षेत्रीय निर्देशक रामु पौडेलले अनुमति पत्र लिएका बाणिज्य बैंकले  विदेशी विनिमय खरिद गर्नुपर्ने र नगरेमा कार्बाही हुने चेतावनी दिएका छन्।

निर्देशक पौडेलले भने, ‘विदेशी विनिमय नियमित गर्न बनेको ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंक ऐन र नेपाल राष्ट्र बैंकले समयसमयमा जारी गरेका विदेशी विनिमय व्यवस्थासम्बन्धी परिपत्र र निर्देशनबमोजिम यदि कुनै बैंक वा वित्तीय संस्थाको शाखाले विदेशी मुद्रा खरिदविक्री गर्ने इजाजत लिएर पनि गर्दैनन् भने त्यस्ता बैंकका शाखालाई हदैसम्मको कारबाही हुन्छ।’