सरकारले नौ जलविद्युत आयोजना निर्माण गर्न सर्वसाधारसँग माग्यो लगानी प्रतिवद्धता

बिजमाण्डू
२०७३ पुष २५ गते १३:१० | Jan 9, 2017
सरकारले नौ जलविद्युत आयोजना निर्माण गर्न सर्वसाधारसँग माग्यो लगानी प्रतिवद्धता

काठमाडौं। आन्तरिक स्रोतबाटै जलविद्युत आयोजना निर्माण गर्न सरकारले सर्वसाधारणसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। 'नेपालको पानी जनताको लगानी' कार्यक्रम अन्तर्गत उर्जामन्त्री जनार्द्धन शर्माले सोमबार लगानी प्रतिबद्धता माग्न वेवसाइट सार्वजनिक गरेका छन्।
जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले त्यसका लागि सर्वसाधारणको पैसा प्रयोग गर्न लागेको हो।
लामो लाइन बसेर सर्वसाधारणले शेयर आवेदन दिइरहेका बेला उर्जा मन्त्रीले त्यस्तो लाइन नबसी विद्युत आयोजनाको शेयर जनताको हातहातमा पुर्याउन लागिएको बताए।

Tata
GBIME
Nepal Life

सरकारले नेपालमै रहेका,  वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरुबाट पनि नेपालको आयोजनामा लगानी गराउने लक्ष्य लिएको छ। त्यसको सुरुवात गर्दै पहिलो चरणमा अनलाइनमार्फत लगानी प्रतिवद्धता मागिएको हो।

सर्वसाधारण नेपालीले अप्पर अरुण,  दूधकोशी,  तमोर,  सुनकोशी ३,  लाङटाङ,  नलसिङगाड,  उत्तरगंगा, नौमुरे र तिला १ आयोजनामा शेयर लगानी  गर्न सक्छन्।

यसमा सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरु, रेमिट्यान्टस, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरुले प्रत्यक्ष शेयर लगानी गर्न पाउने मन्त्रीले जानकारी दिए।

शेयर लगानी गर्न कसरी प्रतिबद्धता जनाउने?
उर्जा मन्त्रालयले सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग्न एउटा पेज बनाएको छ। तपाईले http://www.moenonline.moen.gov.np/login पेज खोल्नु पर्छ।

त्यसपछि तपाईसँग लगइन मागिन्छ। तपाई नयाँ भएकाले 'क्रिएट न्यु एकाउन्ट' मा क्लिक गर्नुस्। त्यसपछि त्यहाँ तपाईको आधिकारिक इमेल मागिन्छ। पासवर्ड तपाईले इमेलमै प्रयोग गरिरहेको राख्नु पर्छ भन्ने छैन, जुनसुकै राख्न सक्नु हुन्छ।

त्यसपछि तपाईले पेज खोलेको हो/होइन भनेर नोटिफिकेसन तपाईको इमेलमा जान्छ। इमेलमा गएको लिंकलाई तपाईले क्लिक गरेपछि तपाईको 'युजर आइडी' एक्टिभ हुन्छ।

त्यसपछि पेजमा 'शेयर लगानी प्रतिवद्धता फारम भर्नुहोस्' भन्ने लेखेको देख्नु हुन्छ। त्यहाँ क्लिक गरेर व्यक्तिगत विवरण भर्नुस्।

विवरण भरेपछि अर्को पेज खुल्छ जहाँ तपाई कस्तो खालको लगानीकर्ता हो भनेर जान्न खोजिएको छ। त्यहाँ तपाई आमनागरिक हो कि गैरआवासीय हो वा वैदेशिक रोजगारीमा पो हुनु हुन्छ की सरकारी जागिर हो भनेर सोधिएको हुन्छ। त्यसको उत्तर दिएपछि तपाईको परिवारको संख्या, आय स्रोतका बारेमा अर्को पेजमा विवरण भर्नु पर्छ।

त्यसपछि नागरिकताको विवरण मागिन्छ। अर्थात नागरिकता नम्बर, जारी गर्ने जिल्ला र जारी मिति। यो विवरण भरेपछि तपाईको इच्छाएको व्यक्तिका बारेमा जानकारी दिनु पर्छ। अनि तपाईको लगानीको योजनाका बारेमा सोधिन्छ। त्यसको विवरण भरेपछि तपाईले सुरुदेखि भरेको विवरण सही छ कि छैन वा त्यसमा केही हेरफेर पो गर्न चाहनु हुन्छ कि सोधिन्छ। त्यो स्टेप पार भएपछि तयार भएको फारम सबमिट गर्नु पर्छ।

यसपछि उर्जा मन्त्रालयले तपाईको विवरणका आधारमा सम्पर्क गर्छ। र आयोजना अगाडि बढ्दा त्यसमा तपाईलाई सहभागी गराउँछ। शेयर लगानी गर्न अहिले नै पैसा भने तिर्नु पर्दैन। त्यसका लागि मन्त्रालयले पछि छुट्टै सुचना निकाल्छ।