विराटनगर।नेपालको नम्बर १ ब्राण्ड वाइवाइसँग प्रतिस्पर्धा गर्न दुर्इवटा चाउचाउ उद्योग आउने भएको छ।
चौधरी समूहले विराटनगरलार्इनै लक्षित गरेर वाइवाइको प्लान्ट लगाएपछि वाइवाइलार्इ काउन्टर दिन दुर्इवटा औद्योगिक समूहले चाउचाउ उद्योग स्थापना गरेका छन्।
विगत तीन दशकदेखि फाष्ट मुभिङ कन्जुमर गुड्स(एफएमसिजी) उद्योगमा रहेको कावरा समूह र झापाका ६ उद्योगीले मनसा थार्इफूडले चाउचाउ उद्योग स्थापना गरेका हुन्।कावराको ‘क्वालिटी’ ब्राण्डमा दशै अघि चाउचाउ आउनेछ भने मनसाको मगमग ब्राण्डमा साउनभित्रै चाउचाउ बजारमा आइसक्नेछ।
नुडल्स मार्केटमा नेपालमै अग्रणी रहेको चौधरी ग्रुपको वाइवाइ सुनसरीको गढी गाउँपालिकामा २२ बिघामा निर्माणाधीन ‘सिजी इन्डस्ट्रियल पार्र्क’–बाट उत्पादन गरिने छ ।इन्डस्ट्रियल पार्कको उद्घाटन गत २०७४ माघमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका थिए ।
चौधरी समूहका महाप्रवन्धक मधुसूदन पौडेलका अनुसार भारतमा नुडल्सको बजारमा वाइवाइले २७ र विश्वमा ३ प्रतिशत हिस्सा ओगटेको छ ।भारतका विहार, आसाम र उत्तराखण्ड लगायतका स्थानमा वाइवाइका ९ र नेपालमा ७ वटा कारखाना छन् ।यसबाहेक युरोपको सर्बियामा पनि वाइवाइको उत्पादन भइरहेको छ ।
विश्वमा अमेरिका, युरोप लगायत ३२ राष्ट्रमा वाइवाइको निर्यात भइरहेको उनले जानकारी दिए ।पौडेलले सुनसरीमा चाउचाउका लागिमात्र लागि एक अर्ब रुपैयाँ लगानी गरिने बताए।आठ घण्टामा ४ लाख पाकेट वाइवाइको उत्पादन गरिने क्षमता रहेको यस उद्योगमा ४ सयभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ ।
‘वाइवाईको उत्पादन सुचारु भएपछि गुरु योजनाअनुसार १० वटा उद्योग यस ग्राममा लगाइनेछन्’, पौडेलले भने, ‘पूर्व र पश्चिममा औद्योगिक ग्राम स्थापना गर्ने चौधरी ग्रुपको पुरानो योजना हो । जसअनुसार नवलपरासीमा केही काम भएको छ । पूर्वमा बाँकी थियो । चाउचाउपछि यहाँ जुस, ब्रुअरी, वित्तीय कम्पनी लगायतका योजनाहरू आउने छन् ।’
काबरा ग्रुपको क्वालिटी चाउचाउ दशैँ अगाडि
विगत तीन दशकदेखि ‘क्वालिटी’ ब्रान्डका बिस्कुट, चकलेट र वेफर उत्पादन गरिरहेको काबरा ग्रुपले दशैँअगाडि ‘क्वालिटी’ ब्रान्डकै चाउचाउ उत्पादन गरिसक्ने छ ।
मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रा.ली. आठ घण्टामा ३ लाख पाकेट चाउचाउ उत्पादन गर्ने छ ।
क्वालिटीका सञ्चालक सिद्धार्थ काबराका अनुसार उत्पादन सुरु गरेको ६ महिनापछि भारत र तेस्रो मुलुकमा निकासी गर्ने तयारी छ । ‘नेपालको बजारका लागि हामीलाई समस्या छैन किनकि बिस्कुटमा हामी अग्रस्थानमा छौँ’, सञ्चालक काबराले भने, ‘उही ग्रुपको उही ब्रान्डको चाउचाउ बजारमा आएपछि उपभोक्ताले यसलाई बिस्कुट, कन्फेक्सनरी र वेफरजस्तै विश्वास गर्ने कुरामा हामी ढुक्क छौँ ।’
उनले थपे, ‘हाम्रो लोकप्रिय बिस्कुट ‘टेस्टीटेस्टी’–लाई हामीले ६ महिनायता बटर फ्लेवरमा छुट्टै उत्पादन गर्यौं । यसले बजारमा राम्रो दबाबको सिर्जना गरेको छ । चाउचाउले पनि यस्तै बजार लिने कुरामा हामी विश्वस्त छौँ ।’उनले भने, ‘बिस्कुट र चाउचाउ खाजाकै प्रकार हुन् त्यसैले बिस्कुटको बजारको अनुभव हाम्रा लागि उपयोगी हुने छ ।’
‘बिस्कुटजस्तै चाउचाउको पनि तराईको ठूलो कारखाना हुनेछ’, काबराले भने, ‘उद्योगमा ४ सयले रोजगारी पाउने छन् ।’
‘मगमग’ चाउचाउ झापाबाट
झापाका ६ उद्यमीको संयुक्त लगानीमा स्थापित मनसा थाई फुडले साउन महिनाभित्र ‘मगमग’ ब्रान्डको चाउचाउ बजारमा ल्याइसक्ने जनाएको छ ।
मनसा थाईमा परशुराम अग्रवाल, अजय अग्रवाल, ओम अग्रवाल, नितेश अग्रवाल, गणेश प्याकुरेल र शारदादेवी गोयलले लगानी गरेका छन् ।सञ्चालक गणेश प्याकुरेलका अनुसार असारभरि परीक्षण उत्पादन चलिरहेको छ । साउनको पहिलो हप्तामै चाउचाउ नेपालका मुख्य बजारमा छाइसक्ने छ ।
प्याकुरेल यसअघि ‘रमपम’ चाउचाउको उत्पादक एसियन थाई फुड्मा १८ वर्ष महाप्रबन्धक पदमा कार्यरत थिए । चाउचाउको बजार र ब्रान्डिङको जिम्मेवारी उनैलाई दिइएको छ ।‘लामो समय चाउचाउको बजारमा खेलेको हुँदा मैले केही बुझेको छु जस्तो लाग्छ’, विश्वासका साथ पराजुलीले भने, ‘रमपमको सुरुआतदेखि मै थिएँ, बजार कसरी सुरु गर्नुपर्छ भन्ने अनुभव छ । त्यही अनुभवको प्रयोग यहाँ गर्नेछु ।’
झापाको मेची नगरपालिका वडा नम्बर १४ स्थित दुवागढीमा ५० करोडको लगानीमा स्थापित उद्योगमा ३ सयभन्दा बढीले रोजगारी पाउने पराजुलीले जानकारी दिए । उद्योगको अहिलेको क्षमता ८ घण्टामा २ लाख ५० हजार पाकेट चाउचाउ उत्पादन गर्नेछ । आवश्यकता र मागअनुसार क्षमता विस्तार गरिने उनको भनाइ थियो ।
प्याकुरेलका अनुसार सन् २०१९ भित्रै ‘मगमग’ चाउचाउको निकासी पनि हुनेछ ।
सूर्य नेपालको पनि आउने
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले समेत विराटनगरमै चाउचाउ उद्योग स्थापना गर्दैछ।
भारतको आइटिसीको संयुक्त लगानीमा स्थापना भएको यो कम्पनीले कन्फेसनरी उद्योग स्थापना गरिसकेको छ।विराटनगरमा सूर्य गार्मेन्ट रहेको ६ विघा जग्गामा कन्फेसनरी उद्योग स्थापना गर्दैछ।कम्पनीले कन्फेसनरीपछि चाउचाउ उद्योग स्थापना गर्ने जनाइसकेको छ।
कम्पनीका भाइस प्रेसिडेन्ट रवि केसीले चकलेटपछि नूडल्स उद्योग स्थापना हुने जानकारी दिए।चकलेटको बजार स्थापित भएपछि कम्पनीले चाउचाउ उद्योग पनि स्थापना गर्नेछ।आइटिसी भारतले इप्पी ब्राण्डमा चाउचाउ उत्पादन गरिरहेको छ।
‘हाम्रो लक्ष्य चकलेट मात्रै होइन।चाउचाउ र अरु खाद्य वस्तु पनि हो।आइटिसी भारतले उत्पादन गरेका वस्तु यहाँ उत्पादन गर्नेछौ’भाइस प्रेसिडेन्ट केसीले भने।
एसियन थार्इफूड्स पनि एग्रेसिभ
एसियन थार्इफूड्स पनि चाउचाउमा एग्रेसिभ हुने भएको छ।कुनै समय वाइवाइलार्इ कडा टक्कर दिएको यो उद्योगले रमपम चाउचाउ उत्पादन गरिरहेको छ।
ब्राउन र ह्वाइट दुबै नूडल्स उत्पादन गरिरहेको यो उद्योगले टुपिएम चाउचाउलार्इ फेरी रिभाइभ गर्ने भएको छ।एग्रेसिभ मार्केटिङका कारण काठमाडौं लगायत शहरी क्षेत्रमा टुपिएमले राम्रो बजार लिएको थियो।तर माग अनुसार चाउचाउ उत्पादन गर्न नसकेपछि केही वर्षमै टुपिएमको बजार खस्कियो।
उद्योगका संचालक महेश जाजु केही समयभित्रै टुपिएमलार्इ रिभाइभ गरेर बजारमा ल्याउने बताए।‘टुपिएम कुनै समय काठमाडौ लगायत मुलुकको मूख्य बजारको नम्बर वान नूडल्स थियो।केही प्राविधिक कारणले यो ब्राण्ड पछि पर्यो।यो ब्राण्ड बजारमा रिभाइभ गर्नेगरि ल्याउँदैछौं’उनले भने।