सिडिएससीको कार्यान्वयन भइसकेपछि यसभन्दा अगाडि बीटी (ब्यांक ट्रान्सफर) ऋण (लोन) बापत जुन किसिमले कारोबार प्रक्रिया अगाडि बढेको थियो, त्यो अहिले अवरुद्ध भएको छ। यसको अर्थ बीटी लोन पूर्ण रुपमा रोकिएको छ वा बन्द भएको छ भन्ने होइन। लोन चालु नै छ, तर त्यसले फङसन गरेको छैन।
बजारमा बिटी सेयर किनेर लिएको लोनबाट थप पैसा पनि आएको छैन। जसले लोन लिएका थिए, त्यो पैसा पनि बजारमा आउन सकेको छैन।
सिडिएससीको कार्यान्वयन भइसकेपछि अभौतिक सेयरलाई सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा डिपोजिट गर्नुपर्ने हुन्छ। भौतिक रुपमा रहेको सेयरमा ऋण ब्रोकर जमानत बसेर दिएको हुन्छ। अभौतिक सेयरबापत जमानत बस्ने व्यवस्था छैन। राष्ट्र बैंक वा सम्बन्धित निकायबाट हुन बाँकी छ।
जसका कारण नयाँ लोन बजारमा भित्रिन सकेको छैन। बिटी लोनको कामै बन्द भइसकेको स्थिति भने होइन। अहिले ज–जसको लोनको अवधि पुगेको छ, तिनिहरुले नवीकरण त गरिरहेका छन। मैले जानकारी पाएसम्म अधिकांश बैंकले बिटी लोन नवीकरण गरेका छन्। तर नवीकरण गर्दैमा पैसा बजारमा आउने कुरा भएन।
यसलाई चाँडै व्यवस्थित गर्नको लागि डिम्याटमा भएको कारोबारको लागि पनि प्लेज्डमा राखेर लोन लिनसक्ने संयन्त्र छ। हामीले यस सम्बन्धि कार्यविधि सिडिएससीसँग बसेर तयार पारिसकेका छौं। सिडिएससीले पनि यो कार्यविधी राष्ट्र बैंकबाट स्वीकृत गराउन पठाएको छ। अहिले हामी राष्ट्र बैंकले त्यो कार्यविधि कहिले पारित गर्छ भनेर पर्खिरहेका छौं।
अहिले सेयर अगेन्ष्ट (धितोमा) लोन जारी भएको छ। भौतिक रुपमा रहेको सेयर राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा दिइरहेका छन्। तर धेरैजसो वाणिज्य बैंकहरुको बुक क्लोजअघि सेयर किनेकाहरुले नामसारीमा पठाएका छन्। यसरी नामसारीमा पठाइएका सेयर हितग्राहीले डीपी खाता खोलेपछि मात्र जम्मा हुन्छ।
यसले गर्दा कतिपय लगानीकर्तासँग सेयर अगेष्ट लोन लिनको लागि पनि साथमा प्रमाण पत्र नभएको अवस्था छ। जोसँग पहिलेदेखि नै सेयर प्रमाणपत्र थियो, उनीहरुले कर्जा लिन समस्या छैन, तर नामसारीमा पठाएका सेयर लोनमा राख्न सकिने स्थिती भने बनेको छैन। जब यो कार्यविधि स्वीकृत हुन्छ, र भौतिक वा अभौतिक रुपमा रहेका सेयर धितोको रुपमा राख्न सक्ने उल्लेख हुन्छ, त्यसपछि नयाँ प्रक्रिया शुरु हुन्छ। त्यसपछि नै बजारमा नया पूँजी भित्रिने सम्भावना हुन्छ।
बिटी रसिदको आधारमा पनि लोन लिन भने पाइने छ। अहिले पनि हामीले खरिद गरेको दिन अथवा भोलीपल्ट सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई त्यो बिलबापत खरिद गरेको सेयरको भुक्तानी पाँउ भनेर चिठ्ठी लेख्ने गरेका छौं। बैंकले आफ्नो मार्जिन अनुसार ५०/६० कति प्रतिशत दिनुपर्ने हो, त्यसअनुसार दिएको हुन्छ र सेटलमेन्ट भइसकेपछि मात्रै त्यो प्रमाण पत्र प्राप्त हुन्छ।
त्यस्तै कार्यविधि पारित भएपछि सेयर खरिद गर्ने वित्तिकै त्यो बिल पेश गरेर लोन लिन त सकिन्छ। तर त्यो बीटी रसिदको आधारमा लोन लिनेको हितग्राही खातामा सेयर गएसँगै ब्रोकरले ती सेयरलाई प्लेज्ड गर्ने काम गरिदिन्छ। लगानीकर्ताको खातामा जुन बैंकले कर्जा दिएको छ, ती सेयर होल्ड गर्ने व्यवस्था हुने छ। यसरी प्लेज्ड भएको सेयरको रिपोर्ट कर्जा दिने बैंक तथा वित्तीय संस्थामा जान्छ।
अहिले यो प्रक्रिया शुरु नभएका कारण नयाँ पुँजी भित्रन सकेको छैन र बजार घटेको हो। पुँजी भित्र्याउने लगानीकर्ताको मनशाय हुँदा हुँदै पनि प्रमाण पत्र अभावमा कर्जा उपलब्ध हुन सकेको छैन। यसैले बजार घटेको छ। बजार घटेर यो तहमा आउँदा धेरैले चाहेर पनि सेयर खरिद गर्न पाएका छैनन।
अतिरिक्त पैसा बजारमा आउन नसकेकाले नै बजारमा सेयरको माग घटेको हो भने बजार बढ्न नसक्नुको प्रमूख कारण हो। सिडिएससी कार्यान्वयनको अन्यौलले शुरुमा बजारमा जुन प्रभाव देखिएको थियो, त्यो अन्यौलको मूख्य भित्री कारण नै लोन कसरी लिने भन्ने थियो। अहिले लगानीकर्ताले सजिलै पैसा पाउने हो भने धेरै जना लगानी गर्न इच्छुक देखिएका छन्।
(सिजापति स्टक ब्रोकर्स एशोसिएशनका अध्यक्ष हुन्।)