काठमाडौंं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि पनि बोल्दै नबोली संसद् बैठक अवरुद्ध पारेको छ।
बिहीबार राष्ट्रपतिले आर्थिक वर्ष ०७४/७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद दिने प्रस्तावका लागि राखेको बैठकमासमेत अवरुद्ध पार्ने कारण नखोली अवरोध गरेको प्रतिपक्षी एमालले आज पनि त्यसलाई निरन्तरता दिएको हो।
दिउसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनासाथ एमाले सांसदहरु उठेर विरोध गरेका थिए। संसद्हरुको विरोधपछि सभामुख ओनसरी घर्तीले पटक–पटक बस्नका लागि गरेको आग्रह अस्वीकार गरे।
संसद अवरोध भएपछि सभामुखले बस्न आग्रह गर्दा अवरोधकर्ता दलले अवरोधको कारण उल्लेख गर्दै त्यसमा सुधारका लागि आग्रह गर्ने गर्छन्। तर, प्रधानमन्त्रीको राजीनामा दिनसमेत संसद अवरोध गर्छु भनेर रोकेको एमालेले नीति तथा कार्यक्रम प्रस्तुत गरेवापत राष्ट्र प्रमुखलाई धन्यवाद दिने प्रस्ताव संसद्मा प्रस्तुतसमेत हुन दिएको छैन।
संसद्को कार्यसूचीमा राष्ट्रपतिले दिएको संबोधनका लागि धन्यवाद प्रस्ताव सत्तारुढकातर्फबाट एकीकृत माओवादीका प्रमुख सचेतक टेकबहादलुर खड्काले प्रस्ताव राख्ने र त्यसलाई कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समर्थन गर्ने कार्यसूची छ।
प्रस्ताव राखेपछि धन्यवाद प्रस्तावमा भन्दै संसद्मा सरकारको नीति तथा कार्यक्रममा छलफल हुन्छ। अन्त्यमा धन्यवाद प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि त्यसको विपक्षमा बहुमत भएमा सरकार नैतिक संकटमा पर्छ। तर प्रतिपक्षी दलले सरकालाई नैतिक संकटमा पार्ने भन्दा पनि संसद्लाई नै अबरुद्ध पार्ने बाटो रोजेको छ।