काठमाडौँ। नेपालको आर्थिक विकासमा जर्मनीको महत्वपूर्ण भूमिका रहेको व्यवसायीले बताएका छन् ।
नेपाल जर्मन उद्योग वाणिज्य सङ्घको २२ र २३ औँ साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा जर्मनीले नेपालको विकासमा खेलेको भूमिका सकारात्मक रहेको बताएका हुन् ।
कार्यक्रममा जर्मनी कम्पनी मेसो डुसेलडोर्फका निर्देशक डा केल्म्स स्केचुले नेपाल र जर्मनीको व्यापारिक सम्बन्धलाई थप प्रगाढ बढाउनु जरुरी रहेको बताए। उनले जर्मनीले १३२ देशसँग व्यापार गर्दै आएको समेत बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छाले जर्मन र नेपालबीच हुने व्यापारले दुई देशको आर्थिक विकासमा ठूलो सहयोग पुगेको बताए।उनले जर्मनीको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् क्षेत्रमा जर्मनीको ठूलो सहयोग रहेको बताए । उनले भने, “मर्स्याङदी, कालीगण्डकीलगायतका जलविद्युत् कम्पनीलाई जर्मनीले सहयोग गरेको छ ।”
सङ्घका अध्यक्ष सेनोन दोर्जे लामा, पूर्वअध्यक्ष दिव्यमणि राजभण्डारीलगायतले जर्मनीबाट धेरै सामान नेपालमा आयात हुने र नेपालबाट थोरै सामान निर्यात हुने भन्दै निर्यातलाई बढाउनु जरुरी रहेको बताए। कार्यक्रममा उत्कृष्ट निर्यात, आयात र जलविद्युत् कम्पनीलाई सम्मान गरिएको थियो ।