काठमाडौं। विशेष साधारणसभाबाट विधान संशोधन गर्ने निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघमा गम्भीर विभाजनमा देखिएको छ।
पाटन उच्च अदालतले विहिवारको विशेष साधारणसभा डाक्न बाटो खुल्ला गरेपनि महासंघका पूर्व अध्यक्ष भने स्पस्ट रुपमा विभाजित भएका छन्।
महासंघका पाँच पूर्व अध्यक्षले विधान संशोधनका बारेमा कुनै छलफल नभएको र विहिवारको विशेष साधारणसभाको निम्तो समेत नभएको भन्दै साधारणसभा बहिस्कारको निर्णय गरेका छन्।
महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान,पद्य ज्योती,आनन्दराज मुल्मी,प्रदीपकुमार श्रेष्ठ,विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले साधारणसभामा सहभागी नहुने भन्दै संयुक्त विज्ञप्ति निकालेका छन्। विशेष साधारणसभाबाट विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने नहुनेमा बहुमत पूर्व अध्यक्ष छन्।
विधान संशोधनको पक्षमा पूर्व अध्यक्ष चण्डीराज ढकाल र रविभक्त श्रेष्ठ मात्रै छन्। महासंघका निर्वतमान अध्यक्ष सुरज वैद्य पनि विधान संशोधनको विपक्षमा छन्। उनी अहिले विदेशमा छन्।
'कात्तिक ४ गते नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न विशेष साधारणसभा हुन लागेको विभिन्न माध्यमबाट जानकारी प्राप्त भयो, विज्ञप्तिमा भनिएको छ- हालको विधान संशोधन प्रक्रियामा पूर्व अध्यक्षको हैसियतले हामीलाई व्यक्तिगत र सामूहिक रुपमा सुझाव लिने, छलफल गर्ने काममा हामीसँग कुनै राय नलिएको पुनःस्मरण गराउँछौ।'
विज्ञप्तिमा विशेष साधारणसभामा परम्परादेखि पूर्व अध्यक्षलाई निमन्त्रणा गर्ने प्रचलन रहेपनि यसपटक कुनै निमन्त्रणा नपठाएको उल्लेख छ। विहिवार हुने विशेष साधारणसभाबाट बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउनेगरी विधान संशोधनको प्रस्ताव पेश हुनेछ।
महासंघका पूर्व अध्यक्षको विधान संशोधनमा मत दिन भने पाउँदैनन्। पाँच पूर्व अध्यक्षले साधारणसभामा सहभागी नहुँदा विधान संशोधनमा नैतिक संकट भने पर्नेछ। पचास वर्षको इतिहास बोकेको महासंघ आन्तरिक राजनीतिको कोभाजनमा परेको छ।
अध्यक्षको निर्वाचनले चरम गुटबन्दी मौलाएको भन्दै बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउनेगरी विधान संशोधन गर्न खोज्दा महासंघ झन् ठूलो भुमरीमा फसेको छ। यो अवस्थामा विहिवारको विशेष साधारणसभाबाट विधान संशोधन गर्न सकस पर्नेछ।
महासंघका वर्तमान पदाधिकारी र कार्यसमितिमा समेत पूर्व अध्यक्षको विभाजनको छाया स्पस्ट रुपमा देखिनेछ। विधान संशोधन भए वा नभएमा महासंघभित्र गुटबन्दी चरम हुनेछ।
साधारणसभा रोकिदैन
पूर्व अध्यक्षहरु सहभागी नभएपनि विशेष साधारणसभा नरोकिने महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए। पूर्व अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताउँदै कुनै पत्र नपाएको जानकारी दिए।
उनले पूर्व अध्यक्षहरुलाई महासंघबाट निमन्त्रणापत्र गइसकेको बताउँदै चलानी नम्बर समेत राखिएको बताए।