काठमाडौं। विगतमा तीन ठूला राजनीतिक दल एमाले, काँग्रेस र माओवादीले संरक्षण गर्दै आएका ‘बिचौलिया’ दीपक भट्ट र त्यसमा संलग्न उनको प्रिपेड समूहमाथि गैरकानूनी सम्पत्ति आर्जनको विषयलाई लिएर सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान तीव्र बनाएको छ।
निवर्तमान अर्थमन्त्री रामेश्वर खनालको निर्देशन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोमा विभागले भट्ट र उनको प्रिपेड समूहमाथिको अनुसन्धानलाई तीव्र बनाएकामा बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि त्यसलाई थप ‘गियरअप’ दिन लगाइएको स्रोतले बतायो।
यो समूहका धेरै जनामाथि एकैचोटी अनुसन्धान गरेको विभागले बयान समेत लिइसकेको छ। बैंक खाता निगरानीदेखि सेयर रोक्कासम्मको कारवाही पनि अगाडि बढेको छ।
दीपक भट्टसँगै उनकी श्रीमती आयुस्मा नेपाल, सासुआमा अन्जना नेपाल, प्रिपेड समूहका अर्का संस्थापक शंकरलाल अग्रवाल, उनका छोराहरु सुलभ र साहिल तथा सुलभकी श्रीमती शुभी अग्रवालमाथि अनुसन्धान तीब्र बनाइएको छ। उनीहरुसँग मिलेर फाइदा लिएका र उनीहरुलाई सहयोग गरेकाहरुमाथि पनि विभागले अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको छ।
सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले पनि भट्ट जस्ता व्यक्तिहरुमाथि बारम्बार उजुरी र प्रमाण उपलब्ध हुँदासमेत सम्पत्ति शुद्धीकरणमा छानविन नभएको र भएको अनुसन्धान पनि राजनीतिक दबाबमा रोकिएकोमा चिन्ता प्रकट गर्दै आएको थियो।

एफएटीएफसहित भारतीय र अमेरिकी राजदूतावासले पनि भट्टमाथिको छानबिनलाई लिएर निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीसँग चासो राख्दै आएका थिए। केपी ओली, शेरबहादुर देउवा र पुष्पकलम दाहालहरु सरकारको नेतृत्वमा रहुन्जेल भट्ट र उनको प्रिपेड समूह प्रणालीबाट पालितपोषित थियो।
सुशीला कार्की नेतृत्वमा नागरिक सरकार बनेपछि भट्टमाथि अनुसन्धान अगाडि बढाइएको थियो। अघिल्ला अर्थमन्त्री खनालले अनुसन्धानलाई तीव्रता दिन लगाएका थिए। अनुसन्धानमा भएको प्रगतिका बारेमा सम्पति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरुले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ब्रिफिङ गरिसकेका छन्।
‘एक्सन ओरेन्टेड’ भनिएको नयाँ सरकारले गलत कामलाई प्रश्रय नदिने जनाउ दिँदै गहिरो अनुसन्धान गर्न निर्देशन दिइसकेको छ। बालेन नेतृत्वको सरकारको चाहना सुशासन कायम गर्ने र ‘बचौलिया’मुक्त राज्य बनाउने जनाउ मन्त्रालय नेतृत्वले विभागलाई दिइसकेको छ।
अनुसन्धानलाई अघि बढाउने सन्दर्भमा विभागसहित विभिन्न निकाय संलग्न छानबिन समितिले भट्ट, भट्टका परिवार र उनीसँग जोडिएका व्यक्ति तथा कम्पनीहरुको बैंक खाता, उनको नाममा भएको सेयर र घरजग्गाका विषयमा खोजी गरिरहेको विभिन्न निकायले बिजमाण्डूसँग पुष्टि गरेका छन्।
सेयरको अभिलेख राख्ने संस्था सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले भट्टले लगानी गरेका कम्पनीहरुको सेयर रोक्का गरिसकेको पुष्टी गरेको छ। भट्टको सेयर खरिद र विक्रीमाथि छानबिन गरेर प्रतिवेदन पेस गर्न पत्र आएको पुष्टी नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले समेत गरेका छन्।
नेपाल राष्ट्र बैंकले पनि भट्ट, उनको एकल स्वामित्वको कम्पनी इन्फिनिटी होल्डिङ्स्, उनकी श्रीमती आयुस्मा, सासुआमा अञ्जना नेपाल, एलियन्ट ब्रोकर्स इन्स्योरेन्स, शंकर समूहका अध्यक्ष शंकर अग्रवाल, उनका छोराहरु साहिल र सुलभका साथै मृदुला सरियासम्मको बैंक खाता रोक्का तथा निगरानी थालिएको जनाएको छ।
‘छानबिन समितिबाट प्रारम्भिक रुपमा हामीलाई जे ब्रिफिङ आएका छन्, त्यो हिसाबमा बैंकिङ, इन्स्योरेन्स, मिलेमतोमा विभिन्न सार्वजनिक निकायको लाइसेन्स र सेयर बजारमा भइरहेको धोकाधडीलाई जोड्ने हो भने यो दशौं अर्ब रुपैयाँभन्दा ठूलो अपराध स्थापित हुन्छ। त्यसैले यो नेपालको सबैभन्दा ठूलो र जटिल वित्तीय अपराध हो, त्यसैले यो छानबिनमा समय लागिरहेको छ,’ स्रोतले भन्यो।
भट्टले लगानी गरेको मूल कम्पनी इन्फिनिटी होल्डिङ तथा त्यसअन्तर्गत रहेका कम्पनी तथा ती कम्पनीले होल्ड गर्ने घरजग्गा, सेयर र बैंक खाताको विवरण माग्दै मालपोत, कम्पनी रजिष्ट्रारको कार्यालय, सीडीएससी र राष्ट्र बैंकलाई पत्राचार भएको स्रोतको दाबी छ।
सँगसँगै विभागले सम्पत्ति शुद्धीकरण गर्न, त्यसलाई लेयरिङ गर्न र गैरकानुनी कारोबारमा संलग्न तथा त्यस्ता कारोबार गर्न भूमिका खेल्ने भट्ट, उनको परिवार र विभिन्न कम्पनीका लगानीकर्ता तथा निर्णयकर्तासँग बयान लिइरहेको छ।
‘एक चरणको बयान सकिइसकेको छ। केहीसँग दोहोर्याएर बयान गराउनु पर्ने छ,’ यो मामिलासँग जानकार रहेको अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘चाँडै मुद्दा नै दायर गर्ने अवस्थामा पुग्नका लागि अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास भइरहेको ब्रिफिङ हाम्रो टिमसम्म आइपुगेको छ,’ प्रधानमन्त्री बालेनको टिमका एक सदस्यले भने।
भट्टले सम्पत्ति शुद्धीकरण गर्नका लागि बैंकिङ र बीमा सम्बन्धी कसुर, राजस्व छली, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी जस्ता कार्य गरेको भेटिएको आधारमा चार/पाँच वटा भर्टिकलमा अनुसन्धान भइरहेको छ।
विशेष गरेर हिमालयन रिइन्स्योरेन्स तथा छ वटा माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिंदा राज्यले प्राप्त गर्नुपर्ने प्रिमियम त्यसमा लगानी गर्ने व्यक्तिहरुले भट्ट र अग्रवाल समूहको खातामा ट्रान्सफर गरेको भेटिएको स्रोतको दाबी छ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सबाट आधा अर्ब रुपैयाँभन्दा बढी रकम लेयरिङ गरेर भट्टको खातामा पुर्याएको विषयमा पनि छानबिन भैरहेको छ। यो विषयमा बिजमाण्डूले तथ्य र प्रमाणसहित रिपोर्टिङ गरेको थियो।

भट्टले आफूसहित प्रिपेड बिचौलिया समूहले लगानी गरेको हिमालय रिइन्स्योरेन्सबाट रिइन्स्योरेन्स कमिसनका नाममा आधा अर्ब रुपैयाँभन्दा बढी आफ्नो खातामा लगेर सम्पत्ति शुद्धीकरण गरेका थिए।
त्यसका लागि उनले सासुआमा अञ्जना नेपाल र जगदम्बा समूह नजिक नीता अग्रवालको नाममा एलियन्ट रिइन्स्योरेन्स ब्रोकर कम्पनी स्थापना गरेका थिए। त्यो कम्पनीलाई हिमालयन रिइन्स्योरेन्सबाट पैसा दिएपछि, त्यहाँबाट लाभांशका रुपमा सासुआमाको खाता हुँदै श्रीमती आयुष्मा नेपालको खाताबाट भट्टले आफ्नो खातामा सारेका थिए। यस विषयमा भट्ट, अञ्जना र आयुष्मा, एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्समाथि छानबिन भइरहेको स्रोतले बतायो।
भट्टको समेत ४५ करोड रुपैयाँ लगानी रहेको हिमालया रिइन्स्योरेन्ससँग यो कारोबारको विवरण समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मागेको थियो। तर कम्पनीले विवरण दिन आनाकानी गरेपछि भट्ट परिवारसहित कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपसना पौडेल र वित्तीय प्रमुखको पनि बयान लिइएको छ।
‘विभागले पटक पटक विवरण माग गरेको रहेछ तर हिमालया रिइन्स्योरेन्सले विवरण दिन आलटाल गर्दै आएपछि प्रमुख कार्यकारी अधिकृतलाई बयान गराइएको हो। अझै पनि केही विषयमा थप जानकारी चाहिएको छ। थप बयानका लागि बोलाउने वा कारोबारमा कैफियत देखिए कानुनअनुसार जे-जे गर्नुपर्छ त्यो गर्नु भन्ने निर्देशन छ, स्रोतले भन्यो।
यस विषयमा नेपाल बीमा प्राधिकरणले पनि छानबिन गरिरहेको छ। ‘यी कारोबारका विवरण मागेर हामीलाई पनि पत्र प्राप्त भएका छन्, उपलब्ध विवरण दिइरहेका छौं। यो कारोबारमा हामीले पनि आफ्नो हिसाबमा छानबिन गरिरहेका छौं,’ प्राधिकरण स्रोतले बिजमाण्डूसँग भन्यो।
हिमालया रिइन्स्योरेन्समा लगानी गर्नका लागि जगदम्बा स्टीलबाट भट्टको खातामा आएको ४५ करोड रुपैयाँको कारोबारमा पनि समितिले छानबिन गरिरहेको नेपाल प्रहरी स्रोतले पुष्टी गरेको छ।
‘यो रकम बैंकिङ कसुर गरेर आएको देखिएको प्रतिवेदन हामीले सम्पत्ति शुद्धीकरण विभागको छानबिन समितिमा पेस गरेका छौं,’ छानबिनमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यसमा थप केही कागजाग मागेर अनुसन्धान अघि बढाउने कुरकानी भएको छ।’
हिमालयन रिइन्स्योरेन्स संस्थापन गर्दा जगदम्बा स्टीलको खाताबाट भट्टको खातामा १५ करोड, १४ करोड र १६ करोड गरी तीन वटा चेकमार्फत ४५ करोड रुपैयाँ पैसा ट्रान्सफर भएको थियो।
जगदम्बा स्टीलको व्यवसायका लागि बैंकले दिएको ऋण उद्देश्यअनुरुप प्रयोग नभई भट्टको व्यक्तिगत खातामा पुगेपछि नेपाल राष्ट्र बैंकले यो कारोबारमा ‘फ्ल्याग रेज’ गरेको थियो।
‘हामीले ‘एसटीआर’ जनेरेट गरेर थप छानबिन गरी पठाएका छौं, त्यसमाथि छानबिन भैरहेको जानकारी प्राप्त भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बैंक ऋण उद्देश्यभन्दा बाहिर जाने र त्यो पनि कम्पनीसँग सरोकार नै नभएको अर्को व्यक्तिको खातामा जानु बैंकिङ कसुर हो। यसमा कारबाही गर्न लेखी पठाए पनि यस पहिलेको सरकारले कारबाही नगरेपछि हामी निराश थियौं। तर अहिले छानबिन सही ट्रयाकमा देखिएको छ। यसमा कारबाही हुनुपर्छ।’
एक पटक जगदम्बा स्टीलबाट ४५ करोड रुपैयाँ ट्रान्सफर भएपछि फेरी भट्टको खातामा जगदम्बा स्टीलको अर्को बैंक खाताबाट २० करोड रुपैयाँ ट्रान्सफर भएको थियो। तर पहिलेभन्दा यसपटक बीचमा अर्को एउटा लेयर तयार गरी सुरुमा जगदम्बाको ऋण खाताबाट कम्पनीका मालिक शंकरलाल अग्रवालको खातामा ट्रान्सफर गरी त्यो खाताबाट भट्टको खातामा पैसा ट्रान्सफर गरिएको थियो।
२०७९ फागुनमा जगदम्बा स्टीलबाट ट्रान्सफर गरेको २० करोडको अलावा अग्रवालले आफ्नो व्यक्तिगत खाताबाट समेत थप साढे दुई करोड रुपैयाँ गरी साढे २२ करोड रुपैयाँ दिएका थिए। भट्टले यो पैसा लगेर बीमा प्राधिकरणको सेटिङमा निकालिएको दुई वटा माइक्रोइन्स्योरेन्समा ११ करोड २५ लाख रुपैयाँको दरले लगानी गरेका थिए।
सुरुको ४५ करोड रुपैयाँ र पछिको साढे २२ करोड रुपैयाँको कारोबारलाई वैध देखाउने गरी नक्कली कागजात बनाएको आशंका समेत राष्ट्र बैंकले फाइल गरेको एसटीआरमा छ।
भट्टको यसबाहेक इन्फिनिटी होल्डिङ्सभित्र रहेका विभिन्न कम्पनीसँग रहेको हजारौं रोपनी जग्गा खरिदका लागि प्रयोग भएको स्रोतमा समेत प्रश्न उठेपछि त्यसमा समेत छानबिन भइरहेको स्रोतले बतायो
‘विभिन्न कम्पनीमा लेयरिङ गरेर हजारौं रोपनी जग्गा होल्ड भएको छ। त्यो जग्गा कसरी र कुन स्रोत प्रयोग भएर आयो भन्ने विषयमा छानबिन भैरहेको छ,’ स्रोतले भन्यो।










