एनपीएलको ‘ब्राण्ड भ्यालु’ बारे पारसको घुमाउरो जवाफ, कति कमाउँछन् नेपाली टप टेन क्रिकेटरले?

बिजमाण्डू
२०८१ फागुन १८ गते १४:४४ | Mar 2, 2025
एनपीएलको ‘ब्राण्ड भ्यालु’ बारे पारसको घुमाउरो जवाफ, कति कमाउँछन् नेपाली टप टेन क्रिकेटरले?


काठमाडौं। नेपाली क्रिकेटबारे पछिल्लो समय धेरै जान्न चाहेको तर ठ्याक्कै उत्तर नपाएको प्रश्न हो नेपाल प्रिमियर लिग (एनपीएल)को ब्राण्ड भ्यालु। प्रतियोगिताको आसपासबाटै एनपीएल १०० करोडको बन्ने चर्चा थियो। मोटामोटी हिसाब गर्दा यो तथ्यको नजिक पनि देखिन्छ।

Tata
GBIME

नेपाल क्रिकेट संघ (क्यान)ले यसबारे आधिकारिक विवरण निकालेको छैन। एनपीएल आयोजनाका लागि बनिएको गभर्निङ काउन्सिलका प्रमुख तथा क्यानका सचिव पारस खड्काले पनि यसको सिधा जवाफ दिएका छैनन्।

एनसेल पोखरा लिटरेचर फेस्टिभलमा पोखरा पुगेका खड्काले आइतबार सय करोड भयो या भएन भन्ने जवाफ ठ्याक्कै दिन नसक्ने भन्दै कूटनीतिक प्रत्युत्तर दिए।

नेपाली क्रिकेटमा सन् १९९६ देखि अहिलेसम्म जति पनि खेलाडी, प्रशिक्षक, पदाधिकारी लगायत सबैको मेहेनत र बलिदान यसमा जोडिएको भन्दै उनले यति नै मूल्य भन्न नसक्ने बताए। यसलाई स्पष्ट पार्न उनी नेपालले खेलेका दुई वटा विश्वकपसँग जोड्छन्।

‘२०१४ र २०२४ मा विश्वकप खेल्दा रंगशाला भरिएको थियो। डल्लासमा पछिल्लो विश्वकप खेल्दा ८ हजार ९ हजार नेपाली रंगशालामा थिए, ‘ उनी भन्छन्, ‘विदेशी भूमिमा विश्वकप खेल्दा भारतको भन्दा पछाडि हाम्रो धेरै फ्यान फलोइङ देखियो विश्वकपमा।’

विश्वकपछि एनपीएलमा लगानी गर्न लगानीकर्ता थपिएको बताउँदै उनले रिटर्न पाउन १५/२० करोड लगानी गर्नुपर्ने अगाडि नै बताएको बताउँछन्।

‘एनपीएलमा लगानीकर्ताले लगानी गर्नु भयो। उहाँहरुलाई क्यानको तर्फबाट पहिल्यै भनेका थियौं कि लगानी गरेर अहिल्यै रिटर्न पाउनुहुन्न,’ पारसले भने, ‘३/४ वर्षसम्म कम्तीमा पनि १५/२० करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ। त्यसपछिमात्र यसको रिटर्न आउन सक्छ भनेर भनेका थियौं। यसैअनुसार उहाँहरुले लगानी गर्नुभयो।’

मंसिरमा सम्पन्न एनपीएलमा क्यानको करिब २० करोड रुपैयाँ लागत परेको भन्दै खड्काले यसले बनाएको माहोल महत्त्वपूर्ण भएकोमा जोड दिए।

‘८ वटा टिमको कम्तीमा पनि ७/८ करोड खर्च भयो। क्यानले पनि १८/२० करोड खर्च गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘त्यही एनपीएलकै टिमबाट उठाएको पैसाले यसपटक एनपीएल भव्य रुपले सम्पन्न गर्न सफल भयौं। त्यसबाहेक एनसेल लगायतका प्रायोजक जोडिनु भयो।’

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक र पावर्डबाइमा एनसेल थियो। सिद्धार्थ बैंकले पहिलो संस्करणका लागि ३ करोड र त्यसपछि बढ्दै जानगरी सम्झौता गरेको बताइएको छ। यद्यपि दुवै पक्षले यो रकम खुलाएका छैनन्।

त्यस्तै १ लाख ३५ हजार दर्शक कीर्तिपुर पुगेर खेल हेर्दा ४ करोड रुपैयाँ बढी उठेको थियो। क्यानले ८ फ्रेन्चाइज बेचेर १७ करोड रुपैयाँ कमाएको थियो। त्यस्तै मार्केटिङ राइट्स ५ करोडभन्दा बढीमा ब्राण्ड लजिकलाई बेचेको थियो।

यी सबै फेहरिस्त लगाएर खड्काले भने ‘सबै कुरा जोड्दा सबैले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरेको योगदानको मूल्य कति हो भन्ने जवाफ मसँग छैन।’ एनपीएलले बनाएको माहोलको उदाहरण दिँदै उनले केही वर्षमा भने यसको ब्राण्ड भ्यालु निकाल्न सकिने बताए।

प्रतियोगिता सकिएसँगै जनकपुर बोल्टसले जनकपुर जानकी मन्दिर अगाडि ट्रफी देखाउँदा कसैले नबोलाइकन करिब ५/७ लाख जना यो मेरो टिम भनेर टिमलाई समर्थन गर्न गएको भन्दै यसले खेल संस्कार विकास गर्न सहयोग पुर्‍याएको उनले बताए।

एनपीएलको आयोजनासँगै क्यान आर्थिक रुपमा बलियो बन्दै गएको दाबी गरेका छन्।

सम्बन्धित समाचार:एनपीएल अर्थतन्त्र: फ्रेन्जाइजी र टिकट बिक्रीबाट क्यानलाई २१ करोड बढी आय, अरु आम्दानी कति?

‘पहिला पनि क्रिकेट प्रतियोगिता गर्थ्यौं। संघमा पैसा आउँथेन। किन आउँथेन मलाइ थाहा छैन। नयाँ कार्यसमिति आएपछि एनपीएल अघि पनि ९ साढे ९ करोड रुपैयाँ रेभेन्यु उठाएका थियौं,’ उनले भने, ‘त्यही अनुसारले खर्च पनि भएको थियो। जम्मा ८०/९० जना खेलाडीलाई कन्ट्रयाक्ट पनि दिएका छौं। क्रिकेट संघ धनी त नभनौं राम्रो अवस्थामा छौं।’

अहिले नेपाली अनिवार्य रुपमा चाहिएको भनेको एउटा सम्पन्न क्रिकेट रंगशाला चाहिएको भन्दै त्यो बनेको खण्डमा फ्यानहरुबाट उठ्ने टिकट रकमबाट रेभेन्यु बनाउन सक्ने उनले बताए।

‘यसबाट एनपीएल र वर्षभरी क्रिकेट सञ्चालन गर्न सक्छौं र यो भए सरकारमा निर्भर नभइ आफैं सञ्चालन गर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘एनपीएलको ब्राण्ड भ्यालु चाहिँ सायद ३/४ वर्षपछि तथ्यांक आउने छ।’

नेपाली खेलाडीको आम्दानी कति?

नेपाली खेलाडीहरु क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहन्छन्। यसको टपमा रहने खेलाडीले महिनाको एक लाख रुपैयाँ प्राप्त गर्छन्। महिलाको सन्दर्भमा ५० हजार। ग्रेड अनुसार यो रकम घट्दै जान्छ।

पुरुषतर्फका ‘ए’ ग्रेडका खेलाडीले मासिक १ लाख, ‘बी’ ग्रेडका खेलाडीले ७० हजार, ‘सी’ ग्रेडका खेलाडीले ५५ हजार, ‘डी’ ग्रेडका खेलाडीले ३५ हजार पाउनेछन्। त्यस्तै इमर्जिङ खेलाडीले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्छन्। ‘ए’ ग्रेडकै मुख्य खेलाडी एनपीएलमा २० लाख रुपैयाँ पाउने गरी मार्की खेलाडी बनेका थिए भने बाँकी राम्रो रकममा अक्सनमा बिड भएका थिए।

त्यस्तै खेलाडीहरु विभिन्न देशका लिगहरुमा सहभागी हुन्छन्, केही विभागमा छन्, त्यस्तै म्याचफी र आन्तरिक रुपमा हुने लिगहरु पनि छन्। यस्तो इन्डोर्समेन्टबाट खेलाडीले सबैभन्दा ठूलो रकम प्राप्त गर्छन्।

‘नेपाली टोलीका टप १० खेलाडीहरु वर्षको ४०/५० लाख रुपैयाँ कमाउने अवस्थामा पुग्नु भएको छ भने त्यसभन्दा पछाडिका १० खेलाडी ३०/४० लाख कमाउने अवस्थामा पुग्नु भएको छ,’ पारसले भने, ‘मेरो जेनेरेसनलाई यो प्रश्न सोध्दा २५ रुपैयाँबाट सुरु भएको हाम्रो जेनेरेसनले भत्ता ३५० रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाखेरी दिनको २५ डलर पाउँथ्यो।’

उनले आफू खेलाडी हुँदाको प्रसंग कोट्याउँदै भने, ‘वर्षमा तीन वटा बढीमा १०/१० वटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्थ्यो। यो हिसाबले एउटा प्रतियोगितामा २५० डलर भयो। यो हिसाबले ७५० डलर। त्यही पैसाले परिवारलाई पनि दिनु पर्‍यो। लुगा किन्नु पर्‍यो, किट्स पनि किन्नु पर्‍यो। साथीहरुलाई सान पनि दिनुपर्‍यो।’

पहिलाको तुलनामा नेपाली क्रिकेट राम्रो स्थितिमा भए पनि यसलाई अझै अगाडि लैजानु आवश्यक रहेको उनी बताउँछन्।

‘त्यो संरचनाबाट जुन अवस्थामा पुगेको छ, त्यो पहिला भन्दा धेरै राम्रो हो। ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई १ लाख रुपैयाँसम्म तलब दिन सफल भएका छौं। तर, यो १० वर्ष पहिल्यै हुनपर्थ्यो,’ उनले भने, ‘अहिले १ लाखलाई २ लाख कसरी बनाउनेदेखि खेलाडीदेखि ग्राउण्ड स्टाफलाई प्रोफेसनल लाग्ने वातावरण बनाएर इन्डस्ट्री कसरी बनाउनु पर्छ भनेर हामी लागेका छौं। क्रिकेटर बन्नेका लागि नेपालमा अहिले सम्मकै राम्रो वातावरण छ।’

सम्बन्धित समाचार: ‘ए’ ग्रेडका पुरुष क्रिकेटरले मासिक १ लाख रुपैयाँ पाउने, ‘ए’ ग्रेड महिलालाई ५० हजार