काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सकिएसँगै कारोबारका विषयमा विभिन्न अनुमान गरिएको छ।
एनपीएल सुरु हुने बेलामा एक अर्बको कारोबार हुने अनुमान समेत सार्वजनिक भएको थियो। एनपीएलमा भएको कारोबारलाई केही तथ्यहरुसँग जोडेर यसको अर्थतन्त्रका बारेमा पहिल्याउने कोसिस गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को प्रारम्भिक अनुमान अनुसार १ लाख ३५ हजार जनाभन्दा धेरैले यो प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रत्यक्ष पुगेर हेरे। दर्शकबाट मात्रै ४ करोड रुपैयाँभन्दा बढी रकम उठेको प्रारम्भिक अनुमान छ। एनपीएलको टिकटिङ पार्टनर खल्तीसँग ‘डिटेल’ तथ्यांक लिन बाँकी नै रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।
एनपीएलको प्रत्यक्ष प्रसारण गरेको स्टार स्पोर्टस, फ्यानकोडबाट भ्युअरसीपको पूरा तथ्यांक आउन अझै बाँकी छ। आईपीएल लगायतका लिगहरुमा पनि ब्रोडकास्टरले भ्युअरसीपको तथ्यांक सार्वजनिक गर्ने गर्छ। युट्युबमा प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टसमा फाइनल खेल ३८ लाख बढीले हेरेको देखिन्छ। यो खेल १२ हजार बढीले स्टेडियममै पुगेर हेरेका थिए।
एपीएलको ब्राण्ड भ्यालु चर्चा गर्न आयोजक क्यानको यो प्रतियोगितामा लगानी र सहभागी ८ टोलीको लगानी तथा प्रतिफललाई एक स्थानमा राखेर हेर्नुपर्ने हुन्छ। यसबाहेक विदेशी खेलाडीको आगमनसँगै बढाएको ‘अटेन्सन’ र ‘प्रोमोसन’ले पनि छुट्टै अर्थ राख्छ।
मोटामोटी रुपमा क्यानले ८ वटा फ्रेन्चाइज बिक्रीबाट करिब १७ करोड रुपैयाँ हात पारेको देखिन्छ। करिब १ लाख ३५ हजार जनाले प्रत्यक्ष रंगशालामा गएर खेल हेर्दा ४ करोडमाथिको रकम उठ्ने देखिन्छ। यसअघि मार्केटिङ राइट्सबाट ५ करोडमाथिको रकम क्यानले ब्राण्ड लजिकबाट हात पारेको थियो।
योबाहेक प्रायोजक ठूलो आर्थिक स्रोतका रुपमा देखा पर्न आउँछन्। क्यानले सिद्धार्थ बैंकसँग यो सिजनका लागि ३ करोड रुपैयाँ र आगामी सिजनमा बढ्दै जानगरी सम्झौता गरेको स्रोतको दाबी छ। त्यस्तै पावर्ड बाइ, ड्रिबन बाइलगायतका प्रायोजक खोजेर क्यानले राम्रो रकम हात पारेको छ।
केही बेटिङ साइटका सेरोगेट न्युज कम्पनीलाई क्यानले जोखिम मोलेरै प्रायोजक राखेको थियो। यी सबै मिलाउँदा ३५ करोड हाराहारी हुन आउँछ। यद्यपि, यी आम्दानीमध्ये धेरैजसो भने लिग सञ्चालनमै खर्च हुने देखिन्छ।
फ्रेन्चाइज लिगमा अर्को ठूलो आर्थिक स्रोत हो ब्रोडकास्टिङ राइट्स। तर, एनपीएलमा यो ठिक उल्टो भयो।
क्यानले उल्टै पैसा तिरेर स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण गराएको थियो। क्यानले ब्रोडकास्टिङमा मात्रै मुख्य प्रायोजकबाट आएको भन्दा ठूलो रकम खर्चिएको छ। योबाहेक व्यवस्थापन, जनशक्तिमा पनि आयोजकको ठूलो खर्च हुन आउँछ। त्यस्तै आम्दानीमा देखिएको टिकट शुल्क लगायतका कुराहरु क्यानले फ्रेन्चाइजसँग बाँड्नुपर्ने हुन्छ।
पुरस्कार रकममा गाडी र अन्य विभिन्न शीर्षक गरेर तीन करोडमाथिको खर्च हुने देखिन्छ।
फ्रेन्चाइजको कमाई
लिगको अर्थतन्त्रमा भूमिका खेल्ने क्यानको मुख्य स्टेक होल्डर फ्रेन्चाइज नै हुन्। विडिङमार्फत क्यानले विभिन्न ८ फ्रेन्चाइज लिलामी गरेको थियो। जसमध्ये सबैभन्दा कम मूल्यमा कर्णाली याक्सले १ करोड ११ लाखमा बिड गरेको थियो भने महङ्गोमा पोखरा एभेन्जर्सले ३ करोड ५७ लाख रुपैयाँमा बिड गरेको थियो।
बिडिङपछि अक्सनमा फ्रेन्चाइजले ९० लाखको थ्रेसहोल्ड पाएका थिए जसमा लुम्बिनीले सर्वाधिक धेरै खर्च गर्दा चितवन राइनोजले सबैभन्दा कम खर्च गरेको थियो।
फ्रेन्चाइजको अर्को ठूलो आर्थिक स्रोत हो प्रायोजन। पोखरा एभेन्जर्स बाहेकका अन्य टोलीले मुख्य प्रायोजक र प्रायोजकहरुबाट राम्रो रकम पाए।
लुम्बिनी लायन्सको एनसेल, विराटनगर किंग्सको एभरेस्ट बैंक, सुदूरपश्चिम रोयल्सको ग्लोबल आईएमई बैंक, कर्णाली याक्सको महिन्द्रा, चितवन राइनोजको ब्लुस्टार, जनकपुर बोल्ट्सको डीएनए र काठमाडौं गुर्खाजको वीवाइडी मुख्य प्रायोजक थिए। यसबाहेक सबै टोलीसँग ठूलो संख्यामा अन्य प्रायोजक पनि थिए।
अब क्यानले टिकटिङबाट उठाएको रकमको ठूलो हिस्सा पनि फ्रेन्चाइजहरुमा बाँड्नेछ। त्यस्तै, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सले जर्सीको पहिलो संस्करणमै राम्रो व्यापार गरेका थिए। रंगशालामा यी टोलीका धेरै फ्यान जर्सीसहित उपस्थित थिए।
आम्दानी राम्रो देखिए पनि यी टोलीका खर्च भने तीभन्दा ठूला हुने गरेको देखिन्छ। क्यानका सचिव पारस खड्काले बिडिङताकै फ्रेन्चाइजहरुलाई केही वर्ष नाफाको आशा नगरी लगानी गर्न आग्रह गरेका थिए।
फ्रेन्चाइजहरुको खर्चको शृङखला सुरु हुन्छ बिडिङबाट। सबै टोलीले १ करोडदेखि करिब ४ करोडको बीचमा रकम खर्चिएर टोली बनाएका थिए। त्यसपछि अक्सनबाट नेपाली खेलाडी छनोट, मार्की खेलाडी छनोट, विदेशी खेलाडी अनुबन्धन, प्रशिक्षक अनुबन्धन, ब्राण्ड एम्बेस्डर, जर्सी/ किट्सलगायतका खेल सामाग्री, अभ्यासको व्यवस्था सम्म पुग्दा फ्रेन्चाइजको ठूलो रकम खर्च भएको देखिन्छ।
त्यसबाहेक एनपीएलको मापदण्ड बमोजिम खेलाडीलाई फाइभस्टार होटलमा करिब १ महिना राख्दा गरि फ्रेन्चाइजहरुले ७ देखि १० करोड रुपैयाँ खर्चिएको देखिन्छ।
एनपीएलको परोक्ष अर्थतन्त्र
एनपीएलकै दौरानमा क्रिकेट लेजेन्ड ब्रायन लारा नेपाल आए। उनले एनपीएल हेरे। सगरमाथा बेसक्याम्प गए। उनीमात्र होइन भारतका चर्चित क्रिकेटर शिखर धवन खेल्नै आए। उनी पनि बेसक्याम घुमेर फर्किए।
विश्वभर फ्यानबेस भएका यस्ता दिग्गज सेलिब्रेटीको आगमनले नेपाली क्रिकेटमा मात्र नभएर पर्यटन क्षेत्रमा पनि राम्रो ‘माइलेज’ मिलेको छ।
यसबाहेक अन्य क्रिकेटर पनि यहाँ घुमे र यहाँको प्रचारमा योगदान दिए। न्युजिल्याण्डका चर्चित क्रिकेटर जिम्मी निशमले यहाँ आएर क्रिकेटमात्र खेलेनन् गल्फ खेल्न गल्फ कोर्स पनि पुगे। यहाँका कुराहरुको प्रचार गरे।
कर्पोरेट क्षेत्रका विभिन्न कम्पनीहरुले एनपीएल लक्षित कार्यक्रम अघि सारे। एनसेल र नेपाल टेलिकमको प्रतियोगिता लक्षित डेटा प्लान ल्याउने होड चल्यो। अटोमोबाइल क्षेत्रमा पनि केही कार कम्पनीहरुले एनपीएल लक्षित विज्ञापन बनाए भने केहीले कार खरिदमा अफर ल्याए।
पर्यटनबाहेक ‘गिग इकोनमी’लगायतको अप्रत्यक्ष अर्थतन्त्रमा पनि राम्रै कारोबार भयो। टियु मैदानमा खेल भइरहँदा पठाओ/इन्ड्राइभ गर्ने राइडरदेखि खुद्रा सामान र खानेकुरा बेच्नेहरुलाई करिब १ महिना भ्याइनभ्याइ काम बन्यो। त्यस्तै, सुरक्षादेखि आयोजकको काममा खटिएका मानिस व्यस्त रहे।