
मानसरोवर र कैलाश यात्राको ट्राभल लगमा मैले आफ्नो अनुभूति पेस गरेपछि धेरैको चासो रह्यो – यो यात्रा कति सुरक्षित र कति खर्चिलो छ? यसखाले यात्रामा पालन गर्नुपर्ने नियमहरु छन् कि छैनन्? खानपान मिल्छ कि मिल्दैन भन्नेजस्ता प्रश्नहरु पनि आए। त्यसैले यो अंकमा हामीले तिनै जिज्ञासालाई सम्बोधन गर्ने प्रयास गरेका छौं।
तीर्थ र पर्यटन दुवै हिसाबले तिब्बतमा रहेको मानसरोवर र कैलाश पर्वतको विशेष चासो हुनेगर्छ। अहिले भारतीय नागरिकलाई यस क्षेत्रमा यात्रा अनुमति छैन। नेपाली र भारतबाहेकका देशका नागरिकहरु भने नेपालबाट यस क्षेत्रको यात्रामा गइरहेका छन्। भौगोलिक हिसाबले कठिन र आर्थिक हिसाबले महँगो यात्रामा पर्छ – कैलाश मानसरोवर।
नेपालमा धेरै ट्राभल एजेन्सीहरु छन् जसले कैलाशको यात्रा गराउँछन्। मानसरोवरसम्मको यात्रा धेरैका लागि सहज छ तर कैलाश परिक्रमा भने जोखिमपूर्ण पनि छ। परिक्रमा गर्दा ५ हजार ६ सय ५० मिटरको डोल्मा ला पास कट्नुपर्छ, जुन सबैका लागि सहज हुँदैन। त्यतिमात्र होइन मानसरोवर पनि समुन्द्री सतहबाट ४७ सय मिटरभन्दा माथि रहेकाले यो यात्रा दीर्घरोग भएकाहरुका लागि जोखिमपूर्ण हुनसक्छ।
सामूहिक भिसा
तिब्बत घुम्नका लागि चीनबाट विशेष अनुमति लिनुपर्छ। अहिले नेपालबाट कैलाश मानसरोवर जानेले दुई वटा रुटको प्रयोग गरिरहेका छन्। एउटा ल्हास्सा भएर, अर्को केरुङ हुँदै। ल्हास्सा र कैलाश मानसरोवर दुवै जानेका लागि दुई विकल्प छन् – एउटा विमानबाट र अर्को सडक बाटोबाटै। विमानबाट जानेले एक घन्टाको फ्लाइटमा ल्हास्सा ओर्लिएर यात्रा थाल्न सक्छन्। सडक मार्गबाट जाने हो भने केरुङ हुँदै ल्हास्सा जाने र त्यहाँबाट सागा हुँदै फर्किएर मानसरोवर पुग्ने।

ल्हास्सासहित मानसरोवर यात्रा गर्ने हो भने दुवै ठाउँका लागि फरक फरक अनुमतिपत्र चाहिन्छ। मानसरोवरमात्र जाने हो भने एउटा अनुमतिपत्रले पुग्छ। नेपालका ट्राभल एजेन्सीहरुमार्फत् ग्रुप भिसाका लागि यहाँस्थित चिनियाँ दूतावासमार्फत् प्रक्रिया पूरा गर्नुपर्छ। राहदानी बुझाएर भिसाको सबै प्रक्रिया पूरा गरेपछि चिनियाँ दूतावासले पेपर भिसा दिन्छ। चिनियाँ भूमि प्रवेश गर्दा त्यही पेपर र राहदानी पेस गर्नुपर्छ। यसखाले यात्रामा राहदानीमा भिसा, चीन प्रवेशको कुनै पनि छाप लाग्दैन। नेपालको अध्यागमनको भने इन्ट्री र एग्जिटको छाप लगाउँछ।
यात्रा कति सुरक्षित?
नेपालबाट लैजाने ट्राभल एजेन्सीहरुले केरुङ पुगेपछि यात्रुहरुको राहदानी चिनियाँ टुर गाइडलाई बुझाउँछन्। विभिन्न चिनियाँ चेकपोस्टमा पेपर भिसा र राहदानी चेक हुने गर्छ। यो प्रक्रिया बारम्बार हुने भएकाले यात्रामा रहेका व्यक्तिले आफ्नो राहदानी नेपाल फर्किँदामात्र पाउँछन्। यसबाहेक अन्य सुरक्षाका जोखिम यात्रामा छैन।
तिब्बतको केरुङसम्म नेपालीहरुका लागि धेरै असहज हुन्न। २ हजार ७ सय मिटरको केरुङमा पुगेपछि भने ‘अल्टिच्युड सिकनेस’ नहोस् भनेर सबैजसो कम्पनीले यात्रुलाई औषधि खान दिन्छन्। केरुङबाट सागा पुग्दा अत्यधिक उचाइ हासिल हुन्छ। २७०० मिटरबाट झन्नै ४७०० मिटर उचाइ तीन/चार घन्टाको बस यात्रामा हुने भएकाले लेक लाग्न सक्छ।

यसमा पनि ठूलो जोखिम भने हुन्न। यात्रामा प्रयोग हुने बसहरुमा अक्सिजन सिलिन्डर हुन्छन् असहज हुनेले प्रयोग गरुन भनेर। त्यसमाथि ट्राभल एजेन्सीहरुले अतिरिक्त सिलिन्डर पनि लिएर गएका हुन्छन्। साथै आवश्यक औषधिहरु पनि सँगै लगेका हुन्छन्। सबै उमेर समूहका यात्रुलाई लिएर जाने भएकाले पनि कम्पनीहरुले जोखिम कम गराउने सबै उपाय लगाएका हुन्छन्।
यतिसम्म कि कैलाश परिक्रमा गर्दा ५ हजार ६ सय ५० मिटरको पास क्रस गराउँदा पनि अक्सिजन सिलिन्डर बोकेर ट्राभल एजेन्सीका कर्मचारीहरु खटिएका हुन्छन्। उनीहरुले अक्सिमिटरमार्फत् यात्रुहरुको अवस्था मोनिटरिङ पनि गरिरहेका हुन्छन्। त्यसैका आधारमा कैलाश परिक्रमामा जान या नजान सुझाउँछन्।
तिब्बतमा खानाको स्वाद मिल्छ त?
नेपालबाट यात्रा गराउने कम्पनीहरुले यात्रुको अनुपातअनुसार कर्मचारीहरु खटाएका हुन्छन्। यात्रामा उनीहरुले नै खाना पकाएर खुवाउँछन्। नेपाली दालभात, रोटी लगायतका खाना नियमित रुपमा कम्पनीका कर्मचारीले नै तयार गर्छन्। उच्च भेगमा पुगेपछि खान अरुचि हुने समस्या भने आउन सक्छ। त्यसैले राम्रो कम्पनीले कर्मचारीलाई कुन कुन यात्रुले खाना खाइरहेको या नखाएको निगरानी पनि गराइरहेको हुन्छ।
ठोस खाना खान नसकेका यात्रुलाई पर्याप्त तरल खाना खान खटिएका कर्मचारीहरुले नै लगाउँछन्। कम्पनीहरुले सकेसम्म धेरै खुवाउने प्रयास गरेका हुन्छन्। होटलमा बास बसे पनि किचेन चाहिँ नेपाली कर्मचारीहरुले नै सम्हाल्छन्। खाद्यान्नका सबै सामग्री र पानी समेत कम्पनीहरुले नेपालबाट नै लगेका हुन्छन्। त्यसैले खाने कुरामा ठूलो समस्या हुन्न। कसैले आफ्नो रुचिमा स्थानीय खाना खाने हो भने अतिरिक्त खर्च गरेर रेस्टुराँ जान सक्छन्।

सबै कम्पनीले तीन छाक खानाको प्रबन्ध गरेका हुन्छन्। कुनै ठाउँमा लन्च गर्नका लागि होटलहरुको सुविधा नहुने रहेछ भने बिहानको खानासँगै दिउँसोका लागि तयार पारेर हट केसमा बोकेर लैजान्छन्। स्वाद फेराउनका लागि कम्पनीहरुले फरक फरक खाना दिने गर्छन् – त्यसमा फ्राइ राइसदेखि फलफूल, मिठाई, अचारहरु पनि समावेश हुन्छ।
बसोबासको कस्तो व्यवस्था?
कम्पनीहरुले बसोबासका लागि आफूले लिएको रकमअनुसारको व्यवस्था गरेका हुन्छन्। जाँदा र फर्किँदा कम्तीमा दुई दुई रात बिताइने केरुङ र सागामा राम्रा होटलहरु छन्। सागामा त होटलको रुममा नै अक्सिजन फ्लो हुने सुविधा समेत उपलब्ध छ। राम्रा कम्पनीहरुले यस्तै सुविधा सम्पन्न होटलको व्यवस्था गरेका हुन्छन्। यी दुई ठाउँमा चार रात बिताउनेहरुले दुई जनाको रुम सेयर गर्न पाउँछन्।
दार्चेनमा पनि यस्तैखाले होटलको सुविधा उपलब्ध हुन्छ। कैलाशको पूरै परिक्रमा नगर्नेहरु दार्चेनमै बस्न पनि सक्छन् अथवा देरापुकसम्म पुग्न पनि सक्छन्। मानसरोवर, देरापुक र जुथुलपुकमा भने सामुहिक बासको व्यवस्था हुने गर्छ। कम्तीमा एउटा कोठामा ४ जनादेखि २८/३० जनासम्म अट्ने व्यवस्था गरिएको हुन्छ। डर्मिटरीमा सुत्नेका लागि पनि अलग अलग बेडको व्यवस्था हुने गर्छ।
यसखाले सुविधा हुँदाहुँदै पनि मानसरोवर, देरापुक र जुथुलपुकमा भने सार्वजनिक शौचालयको प्रयोग गर्नुपर्ने हुन्छ। हामी पुग्दाको यात्रामा यहाँका सार्वजनिक शौचालयको अवस्था राम्रो देखिएन। हिमाली भेग भएकाले अधिकांश समय हिउँ पर्ने र त्यसैका कारण शौचालयमा पानी प्रवाह नहुने रहेछ। परम्परागत शैलीका शौचालय जान नसकिने खालका हुनाले ट्राभल एजेन्सीले यात्रुहरुलाई खुला मैदानकै प्रयोग गर्न सुझाउँछन्। यस यात्राको सबैभन्दा कमजोर पाटो भनेकै शौचालय हो।

यात्रामा जाने कम्पनीका कर्मचारीले यात्रुको झोलाको जिम्मा लिएर व्यवस्थापन गर्छन्। हरेक यात्रुको रुममा लगेज पुर्याउने र निस्किने बेलामा लिन जान्छन्। यसले यात्रुले थप झन्झट बेहोर्न पर्दैन।
केके लिएर जाने?
मानसरोवर र कैलाश यात्रा हिउँदमा सम्भव हुँदैन। वर्षा लाग्नुअघि वा वर्षा सकिएपछि सबैभन्दा सहज यात्रा हुन्छ। वर्षाकै बेला पनि यात्रा गर्न सकिन्छ। गर्मी सिजनमा यात्रा गर्ने हो भने पनि न्यानो लुगाविना यात्रा सम्भव हुन्न। वर्षको आधा त हिउँले पुरिएको हुन्छ यो ठाउँ।
गर्मीकै सिजनमा पनि १ डिग्रीको हाराहारीमा तापक्रम झर्ने गर्छ। त्यो भनेको पुस-माघमा काठमाडौंमा जति चिसो हुन्छ त्यति यहाँ गर्मीमा हुन्छ। त्यसैले बाक्लो ज्याकेट अनिवार्य हुन्छ। कैलाश परिक्रमा गर्ने हो भने ट्रेकिङका लागि आवश्यक लट्ठी र त्यसैअनुकूलका सामग्रीहरु बोक्नुपर्छ। ट्रेकिङमा सकेसम्म कम तौलका सामग्रीमा मात्र लिएर जानु उपयुक्त हुन्छ।
कुनै पनि बेला पानी पर्नसक्ने हुनाले राम्रो खालको रेनकोट भने सँगै हुनुपर्छ। आफ्नो औषधिका अतिरिक्त पोर्टेबल अक्सिजन लिएर गयो भने जोखिम कम हुन्छ। बजारमा ४ सयदेखि ६ सय रुपैयाँमा हलुका पोर्टेबल अक्सिजन उपलब्ध छन्। धेरैजसो ट्राभल कम्पनीले यात्राका लागि ब्याग र ज्याकेट उपलब्ध गराउँछन्।
हिउँले आँखामा असर गर्नसक्ने भएकाले सनग्लास पनि आवश्यक पर्छ। चिसो स्याँठ चलिरहने भएकाले नाक कान ढाक्ने टोपी पनि अनिवार्य लैजानुपर्छ। जुत्ता वाटरप्रुफ भयो भने राम्रो हुन्छ। परिक्रमा गर्ने हो भने कम्तिमा पनि ट्रेकिङ बुट चाहिँ चाहिन्छ। आफूलाई आवश्यक पर्नसक्ने ड्राइफ्रुट र चकलेट भने ट्रेकिङमा जस्तै लैजानु बेस हुन्छ।

जसरी लैजाने कुराको चर्चा गरियो, तिब्बत यात्रामा नलैजाने कुराको पनि सूची बनाउनु पर्ने रहेछ। जस्तोकी चिनियाँ इमिग्रेसनले कुनै पनि खालका किताबहरु रोक्ने रहेछ। नेपालमा फ्री तिब्बतका गतिविधि हुने शंकाका आधारमा मोबाइलका फोटोहरु पनि चेक गर्न सक्ने रहेछन्। त्यसैले चीनको स्वार्थमा असर पर्ने कुनै पनि सामग्री लैजानु हुँदैन। ड्रोन लगायतका उपकरणहरु पनि तिब्बतमा निषेध गरिएको छ।
खर्च कति महँगो? अतिरिक्त पैसा चाहिन्छ?
चीनको मेनल्यान्डका नागरिकका लागि पनि तिब्बत महँगो गन्तव्य हो। हाल हवाई मार्गबाट जाने हो भने ११ दिन र केरुङ हुँदै जाने हो भने १० दिन लाग्छ। त्यसैले यो लामो र महँगो यात्रा पनि हो। हवाई यात्रा गरेर ल्हास्सा हुँदै जानेले औसतमा २ लाख ५० हजार रुपैयाँ एजेन्सीलाई बुझाउँछन् भने सडकबाट ल्हास्सा हुँदै जानेले २ लाख रुपैयाँ बुझाउनुपर्छ। मानसरोवर र कैलाशमात्र जानेले भने सरदरमा १ लाख ५० हजार बुझाउनुपर्छ। त्यसैले यो महँगो यात्रा मानिन्छ।
त्यसबाहेक यात्रुले अन्य खर्च गर्ने हो भने अतिरिक्त पैसा बोक्नै पर्छ। केरुङसम्म नेपाली रुपैयाँ नै चल्छ। त्यसबाहेक सबैतिर युआन मात्र। कम्पनीहरुले कम्तिमा एक यात्रुले २ हजार युआन बोक्न सुझाउँछन्। बाटोमा कफी खान मन लाग्नेका लागि गाडीमा कफी बनाउनेहरु बसेका हुन्छन्। यसखाले खर्च गर्ने हो भने थप रकम बोक्नुपर्छ।

मानसरोवरपछि भस्मासुर जाने हो भने अतिरिक्त ५ सय युआन प्रतिव्यक्ति लाग्छ। त्यसैले जाने हो भने यहाँ अतिरिक्त खर्च आवश्यक हुन्छ। त्यसबाहेक हिँड्न गाह्रो भयो र एम्बुलेन्स मगाउने हो भने ८-१० किलोमिटरको दुरीका लागि पनि एक जनाको कम्तीमा ५ सय युआन खर्च हुन्छ। त्यसैले कम्पनीले सुझाएको रकम पनि कहिलेकाही अपुग हुनसक्छ। अतिरिक्त पैसा आफ्नो खर्च गर्ने शैलीअनुसार लिनु उपयुक्त हुन्छ।
अन्तिममा यात्रा गराउँदा सघाउने ट्राभल एजेन्सीका कर्मचारीको दु:ख र सेवा देखेपछि उनीहरुलाई टिप्स जोकसैले पनि दिने गर्छन्। सघाउनेहरु नेपालीमात्र नभइ चिनियाँ नागरिक पनि हुन्छन्। उनीहरुलाई दिने टिप्स पनि अतिरिक्त खर्चमा समावेश गर्नु बेस हुन्छ।