समुन्द्री सतहबाट २ हजार ७०० मिटरको उचाइमा छ केरुङ। एउटा सुन्दर र सानो सहर केरुङ छाडेर पठारको यात्रामा छौं। गन्तव्य हाम्रो सागा। सागा अर्थात्, खुशीको भूमि। दक्षिणी तिब्बतको अर्को सानो व्यापारिक केन्द्र। समुन्द्री सतहबाट उचाइ ४ हजार ६०० भन्दा माथि।
केरुङबाट यहाँ पुग्न तीन घन्टाको मात्र ड्राइभ। पठारैपठार अनि पाँच हजार २०० मिटर उचाइको पास पार गर्नुपर्ने। केरुङ काउन्टी पार गरेपछि त आँखाले भ्याएसम्म पठारमात्रै। नजिक देखिएका डाडामा भदौरे झरीले ओढाएको हिउँको च्यादर। अझ दक्षिणी बेल्ट हेर्ने हो भने त हिमालको लहर। कतै प्रष्ट त कतै बादलसँग लुकामारी गरिरहेको।
‘यहाँबाट देख्नुभएको हिमाल सबै नेपालतिरको हो है,’ बसमा रहेका नेपाली गाइडले सुनाए।
नेपालका उपल्लो भेगको भूगोल जस्तो छ त्यसभन्दा नितान्त फरक रहेछ तिब्बती पठार। आँखाले भ्याएसम्म समथर भूगोल। वर्षाको सिजन भएकाले हुनुपर्छ अधिकांश भूगोल हरियो देखियो, भलै दुई फिट उचाइका पोथ्रापोथ्रीसमेत कतै नदेखिएको किन नहोस्। टाढाको दुरी नभएकाले हामीलाई ‘लन्च’पछिमात्र केरुङबाट अगाडि बढाइएको थियो।
पढ्नुस : ट्राभल लग – चीनको देहातमा विकासको रफ्तार, एउटा सानो काउन्टी पनि युरोप झैँ
बाटोमा चेकिङ पोइन्टहरु धेरै हुनाले दुरी कम भए पनि समय लाग्ने रहेछ। त्यसो त केरुङ पुगेसम्मै हाम्रो राहदानी चिनियाँ गाइडले लिइसकेका थिए। चेकिङहरुमा हाम्रो राहदानी र भिसाको रेकर्ड भिडाउने रहेछन्। त्यसैले सहज बाटोमा पनि यात्रा सोचेजति सहज नहुने रहेछ। जहाँसुकै होस् प्रतीक्षा आफैँमा कष्टकर लाग्छ मलाई।
दुई लेनकै भए पनि निकै फराकिलो सडक। त्यही सडकबाट आइरहेका छन् नेपाल भित्रने गाडीहरु बोकेका लरी। गाडीको चाप छैन। तर, छोटो छोटो दुरीमा क्यामरासहित स्पिड निगरानी। चेकिङ पोइन्ट बाहेक प्रहरी न ट्राफिक प्रहरी नै। लामो लामो दुरीमा पनि बस्तीविहीन भूमि। हाइवेमा फाट्टफुट्ट बजार र बस्ती। सबैतिर चिनियाँ झन्डा। भेडा र च्याङ्ग्राका बथान उत्तिकै। तिनका पछाडि गोठालाहरु। गोठाला चाहिँ मोटरसाइकलमा।
अन्ना लिफान। चिनियाँ ब्रान्डको यो मोटरसाइकल नेपालमा पनि निक्कै प्रचारका साथ भित्र्याइएको थियो। तर, नेपाली बजारले यसलाई खासै स्वीकारेन। तिब्बती पठारमा भने अहिले पनि अन्ना लिफान सजधजका साथ हुइँकिइरहेको देखिने। तिब्बती भेषभूषामा मोटरसाइकल सजाउनु र तिनमा स्पिकर जोडेर चर्को स्वरमा गीत घन्काउँदै कुदाउनु सामान्य रहेछ।
शहरी क्षेत्रमा कम देखिने मोटरसाइकलहरु ग्रामीण भेगमा प्रशस्तै भेटिए। कुनै बेला गोठालाको साधन घोडा थिए। अहिले त्यो बाइकमा रुपान्तरित भएको छ। भारी खेप्नेहरु इलेक्ट्रिक रिक्सामा ओसार्दा रहेछन्। गाउँ र बजारलाई यस्तै साधनले जोड्ने रहेछ। यहाँ चलिरहेका इलेक्ट्रिक रिक्सा र मोटरसाइकलमा नम्बर प्लेट भने देखिएन।
५ हजार २०० मिटरको एउटा पास त मोटरबाटै पार हुने। घुम्ती नै घुम्तको उकालो पार गर्दा नेपालकै बाटो याद आउने रहेछ। सडकमा परेका चिराहरु सिल गरिएका दृश्य जताततै देखियो जुन नेपाली सडकमा देखिन्न। सडकको आयु र त्यसको नियमित मर्मतमा चिनियाँ सिपालु रहेछन्।
हामीले पार गरेको चोमालोङ्मा पासभन्दा मुन्तिर सुरुङ तयार भइसकेको छ। झन्डै पाँच किलोमिटर लामो सुरुङले २२ किलोमिटर उकालो र ओरालो बाटो छोट्याउने रहेछ। तिब्बतका पठार जहाँ बस्ती समेत नगन्य छन्, जनसंख्या पनि नगन्य छ, सवारीको चाप पनि नगन्य नै छ – त्यहाँ पनि खर्चिलो प्रविधिबाट बनाइने सुरुङहरु बनिरहेका छन्।
चीनबाट तिब्बततिर चलेको विकासको बाछिटाले यहाँको धर्तीलाई रुपान्तरित गर्दैछ। उकालो लागिरहँदा खुकुला ढुंगाहरु झर्ने र सुक्खा पहिरोको जोखिम तिब्बतमा नभएको होइन। तर, नेपालमा प्रयोगमा आइनसकेको प्रविधि यहाँ देखियो। सिंगो पहाडमा जुन ठाउँमा खुकुलो ढुंगामाटो छ त्यहाँ जालीले सतहलाई जाम गरिएको छ। एक हिसाबले जालीभित्र जोखिमलाई साँघुर्याइउँदो रहेछ। त्यसैले यात्रामा नेपालकै जस्तो जोखिमपूर्ण उकाली ओरालीमा पनि अवरोध कतै देखिएन।
हामी नेपाली भूगोललाई आँखाभरी अटाउँदै हामी खुशीको भूमि अर्थात् सागालाई गन्तव्य बनाउँदैछौं। ब्रह्मपुत्र नदीको नजिकैको सागा उचाइका हिसाबले लेक लाग्ने भूगोल। यो पनि देहाती सहर नै रहेछ तर थोक तथा खुद्रा बिक्रीका लागि बनेको केन्द्र। यहाँ ठूला होटलहरु बनिसकेका रहेछन्। भारतीय पर्यटकका लागि लक्षित गरेर तयार पारिएका होटलहरु केरुङभन्दा स्तरीय रहेछन्।
पहिलोपटक होटलको रुममा अक्सिजन फ्लो गर्ने प्रविधि जडान भएको देखियो। कुनै अस्पतालको लग्जरी रुममा निरन्तर प्रवाह भइरहने अक्सिनजस्तै लाग्ने। सिंगो कोठामा कति मात्रामा अक्सिजन प्रवाह गर्ने हो आफैंले नियन्त्रण गर्न सकिने। अल्टिच्युड सिकनेसले धेरैको ज्यान लिन्छ। त्यसैले यहाँ पुगेका ‘लो ल्यान्ड’मा मानिसलाई सकुशल आतिथ्यता प्रदान गर्न यसखाले सुविधा उपलब्ध रहेछ। अक्सिजनको फ्लो कम हुँदा सुतेको मानिस सधैंका लागि सुतिरहने जोखिम धेरै हुने।
मानसरोवर यात्रामा अहिले भारतीय नागरिकले प्रवेश पाउँदैनन्। जुन दिन उनीहरुले अनुमति पाउँछन् त्यसपछि यहाँ रुम पाउन सहज हुनेछैन। किनकि घडीले त्यही संकेत गरिरहेको बुझ्न कठिन थिएन।
यस यात्रामा होटलमा जस्तै अक्सिजनको व्यवस्था हामी चढेका सबै बसमा उपलब्ध थिए। ल्हास्सा ट्रान्पोर्टेसन कम्पनीका गाडीमा अक्सिजनका अलावा हरेक सिटमा सिटबेल्ट। हामीलाई पहिलो चेकिङमा आउने सुरक्षाकर्मीले नै सिटबेल्ट लगाउन भनेका थिए। सुरक्षाका लागि जीपीएस जडित बसमा पूरै सीसीटीभी निगरानी। निगरानी चाहिँ ल्हास्साबाट हुने रहेछ।
चालकले हामीलाई गुडिरहँदा गाडीमा ओहरदोहर निषेध गरेका थिए, संकेतकै भरमा। हामी यात्रारत बसमा अरु कोही थप यात्रु चढ्न निषेध थियो। बाटोमा स्पिड रिड गर्न राखिएका खम्बामा चारैतिर सीसीटीभी क्यामरा थिए जसले बसभित्रको सबै गतिविधि ‘रिड’ गर्ने रहेछ। त्यसैले चालक हामीप्रति अलिक ‘कडक’ देखिन्थे। ट्राफिक नियम पालन गर्नु र लेनको इमान्दारिता कतै पनि विचलनमा गएको देखिएन।
सागामा होटलमात्र होइन, केरुङमा जस्तै ओपन स्पेस र सरकारी कार्यालयहरु पनि रहेछ। ग्रसरी र निर्माण सामग्रीका पसल टन्नै। भौतिक पूर्वाधार बिस्तारका दृश्यहरु पनि धेरै देखिए सागातिर। यो उचाइमा आँप र अन्य फलफूल पनि पाइने। यातायात सुलभ भएपछि चीनको एउटा भूगोलको उत्पादन अर्को भूगोलमा कसरी विस्तार भइरहेको छ भन्ने बुझ्न काफी थियो सागा बजार। साँझपख बजारको रौनक विशेष देखिन्थ्यो। रेस्टुराँहरु भरिभराउ। मूल बजारबाट थोरै ग्रामीण बजारतिर पुग्दा – चकलेट माग्न हात अगाडि बढाउने तिब्बती केटाकेटीले नेपाली केटाकेटीकै स्वभाव बयान गरिरहेका थिए।
केरुङमा जस्तो स्थानीयले यो बजारमा आफ्ना उत्पादन ल्याइरहेको देखिएन। न त यहाँ केरुङमा जस्तो नेपाली रुपैयाँ नै चल्छ। नेपालभन्दा २ घन्टा १५ मिनेट छिटो छ तिब्बतको समय। हामी बसेको होटलको रिसेप्सनमा राखिएको घडीमा नयाँ दिल्लीको समय चलिरहेको थियो। घडीको सुईले दिल्लीको समय देखाइरहे पनि यहाँका होटलले भारतीय पाहुनालाई नदेखेको धेरै भइसक्यो।
मानसरोवर यात्रामा अहिले भारतीय नागरिकले प्रवेश पाउँदैनन्। जुन दिन उनीहरुले अनुमति पाउँछन् त्यसपछि यहाँ रुम पाउन सहज हुनेछैन। किनकि घडीले त्यही संकेत गरिरहेको बुझ्न कठिन थिएन।
‘अक्सिजन फ्लो’ पूरै ‘अन’ गरेर खुशीको भूमिमा रात कटेपछि हाम्रो सबैभन्दा लामो यात्रा तय हुँदैछ। सबैभन्दा लामो बसयात्राको सन्दर्भ अर्को साता।