
नेपाली सीमाबाट ४० किलोमिटर परको एउटा नयाँ सहर –केरुङ। सहरको मध्यभागमा लोभलाग्दो ओपन स्पेस। ठूलो डिजिटल डिस्प्ले पनि। कतै कतै हिन्दी र धेरैजसो ठाउँमा गुञ्जिरहेको नेपाली संगीतको धुन। ब्रान्डेड पसल जमिरहे पनि पुरानो मोडलका आइफोन सडक पेटीमा नै बेच्न बसेका युवक। उनको नजिकै छन् –ज्याकेट बेच्न बसेका व्यापारी। त्यही नजिकै दुई महिला जिम्बु र टिम्मुरका पोकासहित उपस्थित छन्।
साँझ हुँदैछ। एक युवती इलेक्ट्रिक रिक्सा हुँइक्याउँदै चोकभन्दा केही परै अडिइन्। पछाडिबाट डालो निकालिन्। अरु व्यापारीको बीचमा पुगिन् र थालिन् कारोबार गर्न। डालोमा उनले नासपाती र आरु ल्याएकी रहिछिन्।
सानो सहरको बीचमा रहेको यो ओपन स्पेसमा साँझपख युवायुवती नाचगान गर्छन्। केटाकेटी फुटबल नभए साइकल लिएर पुग्छन्। वृद्धवृद्धा टहलिने ठाउँ पनि यही नै हो। यहाँबाट मध्यरातसम्म पनि देखिन्छ ट्राफिक सिग्नल –रातो, पहेंलो र हरियो। ट्राफिक प्रहरी नदेखिए पनि सिग्नल पालन गरिरहेका छन् – चालकहरु। औडीदेखि चिनियाँ ब्रान्डसम्मका हाइ-इन्ड गाडी सडक किनारामा देखिन्छन्। मोटरसाइकल चाहिँ खासै देखिन्न यो सहरमा।
चौडा र फराकिला सडक। सडकमा जतिखेर पनि झाडू लगाउन तयार कामदार। करिब एक किलोमिटरभन्दा कम परिधिको यो सहर देखेपछि सोच्न बाध्य भएँ – सिंगो नेपालमा यत्तिको व्यवस्थित सहर कतै छ त?
विद्युतीय रिक्सामा भर्खरै बारीबाट टिपेर ल्याएको आरुको भाउ इसारामै सोधेँ – कति?
युवतीले क्यालकुलेटर थिचिन् – डिस्प्लेमा देखियो, आठ।
एक किलो आरुलाई ८ युआन (करिब १५० रुपैयाँ) तिरेर आफ्नो बनाएपछि यहाँको बजारतिर टहलिँदैछु। छेवैमा चर्को हिन्दी गीतको धुन बजिरहेको छ। पसल बाहिर कुर्ता डिस्प्लेमा राखिएका छन्। भारतीय मूलका नागरिकलाई पसलतिर तान्न तिब्बतको पनि देहाततिर बलिउडको संगीत गुञ्जिरहेको बुझ्न कठिन थिएन। पसलको भित्र वाईवाई चाउचाउका कार्टुन खात मिलाएर राखिएका थिए। बिक्रीमा राखिएका उपहारका सामग्री त हुने नै भए।

कैलाश मानसरोवर यात्राको दोस्रो रात हामी यही सहरमा बिताइरहेका छौं। पहिलो रात नेपालतिरको टिमुरेमा। नेपालतिर अस्तव्यस्त सडक। बस्ती। घर। अनि अलपत्र छाडिएका झैं लाग्ने नयाँ चिनियाँ गाडीको खात।
चीनसँगको सबैभन्दा ठूलो व्यापारिक नाकामा रहेको अध्यागमनको कार्यालयले नेपालको हैसियत देखाइरहेको थियो। चिनियाँ अध्यागमन नेपालको हवाइ अड्डाभन्दा व्यवस्थित र सुविधासम्पन्न। कुनै कोणबाट पनि तुलना गर्न नमिल्ने।
नेपालबाट चिनियाँ भूमि टेकेसँगै मोबाइल सिग्नलविहीन। नेपाल टेलिकमको रोमिङ लिएर गएको फोनमा चाहिँ टिमुरेदेखि नै चिनियाँ सिग्नल समातिसकेको थियो। त्यसैले चीनको पनि तिब्बत र तिब्बतको पनि देहातको भूमिले मलाई केही प्रभावित पारिरहेको थियो।

‘यो भूकम्पपछि बनेको सहर हो,’ हामीलाई यात्रामा लैजाने नेपाली गाइडले सुनाइरहेका थिए, ‘भूकम्पपछि यसको स्वरुप नै बदलियो।’
सन् २०१५ को भूकम्पले नेपालसँगै तिब्बतको यो भेगमा पनि नमिठो प्रहार गर्यो। पुनर्निर्माण दुवैतिर भयो। केरुङको रुप देखेपछि ठम्याउन कठिन भएन – योजनाबद्ध र व्यवस्थित पुनर्निर्माण चाहिँ सीमापारिमात्र भएछ।
अहिले जगमगाइरहेको यो सानो सहर नेपाल विस्तारका क्रममा एकाध दशक नेपालको मानचित्रभित्र समेटिएको थियो सन् १७८०को दशकतिर। विस्तारित मानचित्रमै पनि गौरवान्वित हुने राष्ट्रवादको रंगले यहाँ छुनेवाला छैन। तर मन छुने दृश्यहरु देखिए। भोटसँगको प्रमुख व्यापारिक नाका भएकाले भेषभुषामा पनि समानता भेटियो।

यहाँको गुम्बामा रहेका मानेमा तिब्बतीसँगै रञ्जना लिपी पनि देखिन्यो। बुढाबुढीहरु अहिले पनि नेपाल भाषामा कुराकानी गर्दा रहेछन्।
कसरी जान्नुभयो?
‘नेपालीले सिकाएर,’ एक वृद्धाले सुनाइन्।
केरुङ नेपालको सीमावर्ती चिनियाँ सहर भए पनि यहाँ नेपाली रुपैयाँ मजाले चल्छ। होटल व्यवसायदेखि ठूलो ग्रसरी पनि नेपालीले नै चलाइरहेको देखिन्छ। वाइवाई चाउचाउमात्र होइन, नेपालका उत्पादन र कतिपय भारतीय सामग्री पनि नेपाल हुँदै यहाँको स्टोरमा सजिएका छन्। कतिसम्म भने लत्ताकपडा समेत।

समग्र चीनमा पिछडिएको क्षेत्र हो तिब्बत। तिब्बतको पनि देहातको गाउँ हो केरुङ। यहाँ पुगेपछि नेपालका सदरमुकामको याद आउनु स्वाभाविक लाग्दो रहेछ।
बौद्ध, ठमेल र केरुङमा एकै ब्रान्डका पसल भेटियो भने अनौठो नमाने हुन्छ। मुस्ताङ थकाली भान्छाघर पनि छ यहाँ। तिब्बती खानासँगै नेपाली स्वाद जिब्रोमा झुन्डिएकाले स्वाद फेर्न पाउँछन् यहाँ। सन्ध्याकालीन डान्सबार पनि चलेको छ –नृत्यङ्गनादेखि तिनका दर्शकसम्म सबै नेपाली नै हुन्छन्। त्यसैले बिहान सीमाको अध्यागमन खुल्नासाथ रसुवाका स्थानीयको ताँती लाग्छ। भारी खेप्नेदेखि होटलमा काम गर्नेसम्म यतैबाट पुग्ने रहेछन्।
चिनियाँ अध्यागमन पार गरेर पहाडी बाटो हुँदै केरुङ पुग्दा अलग दुनियाँमा प्रवेश गरिसकेको अनुभूति भइसकेको थियो। २ हजार ७०० मिटर उचाइमा भदौमा पनि चिसो थियो। सिरेटो जतिसुकै कडा होस् बिहानैदेखि मानिसहरु केबुल मिलाउन र नाली सफा गर्न जुटिसकेको देखियो। मध्य दिउँसो पनि सडकमा धुलो छ भने बडार्ने मानिसहरु सक्रिय भइहाल्ने। चीनको विकासको बाछिटाले यहाँ छोइसकेको रहेछ।
समग्र चीनमा पिछडिएको क्षेत्र हो तिब्बत। तिब्बतको पनि देहातको गाउँ हो केरुङ। यहाँ पुगेपछि नेपालका सदरमुकामको याद आउनु स्वाभाविक लाग्दो रहेछ। उस्तै भूगोलमा यति व्यवस्थित सहर बन्न सक्ने रहेछ, जुन नेपालमा कल्पनासम्म गरिन्न।

चट्टानमा ठोकिँदै तलतिर झरेको पानीले रुझाउने गरि झरना नजिकै जान सकिने पूर्वाधार पनि बनाइएको रहेछ। यसको प्राकृतिक स्वरुपलाई पूर्वाधारले थप चमक दिएको देखियो।
केरुङ काउन्टी पार गरेर अगाडि बढेपछि एउटा झरना देखियो। त्यसो त काठमाडौंको झोरबाट अघि बढेपछि कैयन झरना नदेखिएको होइन। तर, तिब्बततिरको राजमार्गमा देखिएको यो झरना विशेष थियो। चिनियाँ मोडलको विकासको नमुना यहाँ झल्कियो।
‘कोरोनाभन्दा अगाडि केही थिएन। कोरोनामा सबै लकडाउन भनेर बसे। यिनीहरु चाहिँ यस्तैयस्तै ठाउँमा काम गर्न पुगे,’ हाम्रा गाइडले सुनाउँदै थिए, ‘हेर्दाहेर्दै कायापलट भयो।’
झरनालाई थप आकर्षक बनाउन सडक पारी ठूलो खाली स्पेस तयार पारिएको रहेछ। त्यहीँ एउटा सानो टावर पनि बन्दै रहेछ – झरना हेर्न। चट्टानमा ठोकिँदै तलतिर झरेको पानीले रुझाउने गरि झरना नजिकै जान सकिने पूर्वाधार पनि बनाइएको रहेछ। यसको प्राकृतिक स्वरुपलाई पूर्वाधारले थप चमक दिएको देखियो। त्यतिमात्र होइन, झरना छेवैमा विश्राम गरिरहेको कारमै कफी दुकान। ‘मुभेबल’ दुकानमा फ्रेस कफीदेखि स्यान्डविचसम्म।

‘लेफ्ट ह्यान्ड ड्राइभ’ भएकाले युरोपकै झल्को देखियो सडकमा। सफा र व्यवस्थित बाटोसँगै तिब्बती र चिनियाँ परम्परालाई प्रतिधित्व गरिरहेको संरचनाले यो सानो सहर युरोपेली सहरभन्दा कम देखिएन।
सानो र सुन्दर सहर छाडेर अब हाम्रो यात्रा तिब्बतको सागातिर लाग्दैछ –जहाँ जोडिनेछ ब्रम्हपुत्र नदी र ल्हास्साको मूलबाटो। ब्रम्हपुत्र नदीको किनारैकिनारको यात्रा अर्को साता।