
काठमाडौं। भारतको ठूलो व्यापारिक समूह अडानी ग्रुपले जयप्रकाश एसोसिएट्सलाई खरिद गर्न १२ हजार ५०० करोड रुपैयाँको बोली लगाएको छ। जेपी ग्रुप वित्तीय रुपमा टाटा पल्टिएको कम्पनी हो। जसलाई खरिद गर्ने दौडमा वेदान्ता जिन्दल पावर र पीएनसी इन्फ्राटेकजस्ता ठुला उद्योगहरु पनि छन्।
बिजनेस स्टैंडर्डको रिपोर्टअनुसार यो मामिलाका जानकारहरुले अधिग्रहणको दौडमा लागिपरेका औद्योगिक समूहमध्ये धनाढ्य उद्योगी गौतम अडानीको समूह अडानी ग्रुप निकै अगाडि आएको बताएका छन्।
स्रोतका अनुसार अडानी ग्रुपले विना कुनै पूर्व सर्त ८ हजार करोड अग्रिम बुझाउने प्रस्ताव गरिसकेको छ। उक्त कम्पनी खरिदका लागि डालमिया समूह पनि लागिपरेको छ। अडानी समूहको प्रस्ताव स्वीकृत गर्न जेपी ग्रुप सकारात्मक देखिन्छ तर, जेएएलको स्पोर्ट्स सिटी परियोजनासँग सम्बन्धित एउटा मुद्दा भारतको सर्वोच्च अदालतमा छ। खरिदको दौडमा रहेकाहरु त्यो मामिला सुल्झिने प्रतीक्षामा देखिएका छन्।
जयप्रकाश एसोसिएट्सको लगानी रियल इस्टेट, सिमेन्ट, बिजुली र होटल क्षेत्रमा छ। लगानीमा ठूलो सञ्जाल भएको कम्पनी हो। तर, यो यति बेला टाट पल्टिएको अवस्थामा छ।
कम्पनी बिक्रीका लागि बोली लगाउन गत मंगलबार खरिददारहरु भेला भएका थिए। जेएएलका तर्फबाट जारी एक बयानअनुसार खरिदका लागि आएका प्रस्तावहरुको समीक्षा भइरहेको छ। प्रस्ताव गर्नेहरुमा अडानी ग्रुप सबैभन्दा अगाडि देखिएको छ।