
मानसरोवर हुँदै दार्चेनसम्मको यात्रा बसमा नै पूरा भएकाले खासै शारीरिक परिश्रमको जरुरत थिएन। अबको मुख्य यात्रा ट्रेकिङमा आधारित थियो। तीन दिन लगाएर कैलाश परिक्रमा (कोरा) गर्न बिहानै निस्कियौं।
आकाश धुम्म। बादल मडारिरहेको। चिसो सिरेटो उत्तिकै। दार्चेनबाट यमद्वार पुगेपछि पानीका छिट्टा झर्न सुरु भइहाल्यो। यमद्वारबाट अगाडि बढेपछि हामीले पहिलो दिन १२ किलोमिटर दुरी तय गर्नुछ। उच्च हिमाली क्षेत्रमा अक्सिजन पातलो भएकाले जोरजुलुम गरेर हिँड्नु हितकर नहुने। थकाइमात्र मारेर पनि नपुगिने।
बिहान ब्रेकफास्ट लिएसँगै हामीलाई थमाइएको थियो – दिउँसोको खाजा। एउटा स्याउ। एउटा स्निकर्स, सानो पाउरोटी। एउटा प्याकेट जुस। सकेसम्म कम भारी बोक्न सुझाइएको थियो।
यमद्वारबाट अगाडि बढ्दा नबढ्दै झरीले छोपिगयो। पानीकोट लगाएर हामी सुस्तरी सुस्तरी बाटो लाग्यौं। बाटोका कतैतिर पनि हाँगा फैलिएका थिएनन् – अल्मलिन पर्ने ठाउँ थिएन। दुईतिर विशाल पर्वत श्रृङ्खला र बीचमा नदीको किनारैकिनार हामी अगाडि बढिरह्यौं।

तल पठारमा देखिएका भन्दा नितान्त फरक दृश्य देखिए यहाँ। पठारका भेगमा हामीले चीनको पूर्वाधार विस्तारको बाछिटाले कसरी भेटिरहेको छ भन्ने देखेका थियौं। तिब्बत चीनकै दुर्गम भेग। तिब्बतको पनि अति दुर्गममा रहेको कैलाश पर्वत। पूर्वाधारमा कमजोर भए पनि प्रकृतिको बेजोड नजाराले मोहित बनाइरह्यो। बाटोको दायाँतिर पनि झरना, बायाँतिर पनि झरना। तर, यहाँ केरुङ नजिककै भेटिएको झरनामा जस्तो पूर्वाधार छैन। होस् पनि किन, कति नै मानिस आउँछन् र यहाँ?
केही अघि बढेसँगै मानिसहरु सुत्दै कोरामा निस्केको देखियो। झरीले निथ्रुक्क। हिलोले हिलाम्मे। सुत्यो, नमस्कार गर्यो। उठ्यो, तीन पाइला अगाडि सार्यो। फेरि सुत्यो, प्रणाम गर्यो। यसरी यात्रा गर्नेलाई २२ देखि २८ दिन लाग्ने रहेछ कैलाशको पूरै परिक्रमा गर्न। थोरै हिँड्दा पनि थाक्ने हामीसामु उनीहरुको विश्वास र समर्पणको मूल्य तुलनायोग्य थिएन।

तर्पाएँ तर्पाएँ बाटो भएकाले यात्रा असहज थिएन। तर सहज पनि थिएन, किनकि छिनमै झरी त छिनमै घाम। कैलाश पर्वत पनि बादलुको घुम्तोमा। बेलाबेलामा बदल चिर्दै घाम झुल्किने र पर्वत टलक्क टलिक्ने। फेरि धुम्ममै हराइहाल्ने। माथितिरबाट झरेको झरनालाई वर्षाले घनिभूत बनाइरहेको थियो।
लौ बाटो अब छैन।
केहीबेर अघिसम्म गाडीसमेत पार हुने बाटो हेर्दाहेर्दै खोलामा रुपान्तरित भयो। झरी चलिरहेकै छ। माथितिरबाट आउने भेल रोकिने सुरसार छैन।
घोडा चढेर कैलाश परिक्रमा गर्नेहरुबाहेक जुत्ता नफुकाली अब बाटो तय गर्न कठिन भइहाल्यो। जुत्ता खोले पनि सजिलो चाहिँ छैन। चिसोले खुट्टा काटेजस्तो। त्यसमाथि बगाएर ल्याएका चोसेमोसे ढुंगा। नाङ्गा पैतालाले सबै सहनै पर्ने। झरी घट्ला, पानीको भेल सुक्ला भन्ने कुनै भरोसा छैन। त्यसमाथि माथिबाट उखरमाउलो हिसाबले बहेको पानीसँगै आउने ढुंगाको जोखिम।
हिजोसम्म सहज यात्रा गरिरहेका हामीसामु सकसपूर्ण परिस्थिति सामान्ने भइरहेको थियो। यो कसैको वाध्यताको यात्रा थिएन त्यसैले सकसपूर्ण शब्द आफैँमा सहि नहोला।

‘एड्भेन्चर।’
यो शब्द सहि सुनियो। मनसुन ट्रेकको एड्भेन्चर। हामी त्यही एड्भेन्चर परख गर्दै अगाडि बढ्यौं। केही अघि बढेपछि भने फेरि घामले जित्यो। हामी पुग्यौं – देरापुक।
देरापुक चाहिँ गोसाइकुण्ड जाँदा चन्दनबारी झै लाग्यो। यहाँ केही टी हाउस रहेछन्। त्यहीँ हाम्रो बास। देरापुकमा कैलाश पर्वतको एउटा भेगबाट पानी आइपुग्ने रहेछ। चरणस्पर्सको जल भनिँदो रहेछ यहाँबाट प्रवाह भइरहेको पानीलाई। यहाँ पुग्ने कतिपय चाहिँ कैलाशको बेससम्मै पुग्ने रहेछ चरणस्पर्समा पुग्ने भनेर। पुगेर फर्किन ६ घन्टाजति लाग्ने थाहा लागेपछि हामी त्यतातिर लागेनौं। १२ किलोमिटर दुरी हिँडिसकेकाले थकाइ पनि लागिसकेको थियो। घाम पनि पश्चिमतिर ढल्किँदै थियो।
देरापुक पुगेपछि कैलाशको अर्ध परिक्रमा गरेको मानिने रहेछ। यो पहिलो दिनको हिँडाई सबैका लागि परीक्षा हुने रहेछ – अगाडि ट्रेकिङमा सहभागी हुने या फर्किने। यहाँसम्म पुगेका कतिपय चाहिँ फर्किन समेत कठिन हुने भएपछि जिप बोलाइने रहेछ। १२ किलोमिटर अफरोड यात्रा गरेर दार्चेन पुग्न एकजनाको ५ सय युआन लाग्ने। धेरैजसो चाहिँ त्यहीँबाट हिँड्दै फर्किने रहेछन्।


झिसमिसेमै धेरै मानिसहरु निधारमा अड्याउने टर्चलाइट बालेर परिक्रमातिर लागिरहेका थिए। बिहानी नास्ता भ्याएपछि अघिल्लो दिनमा जस्तै लन्च प्याकेट लिएर हामी पनि कैलाशको बाँकी हिस्सा परिक्रमातर्फ लाग्यौं।
फेरि थोरै उकालो अनि तर्पाएँ तर्पाएँ। अब भने यात्रामा झरीको साथ रहेन। घाम चर्केको भए पनि कठिन हुन्थ्यो, बादलले हामीलाई साथ दियो। देरापुकबाट केही माथि पुगेपछि कैलाशमा बादल हट्यो। निलो आकाश, कपासका थुप्रा झै ठाउँठाउँमा टुक्राटुक्री बादल। भदौमा झरेको हिउँले च्यादर ओडाएको पर्वत।
उकालो लागिरहँदा फरक दृश्य देखियो – ढुंगालाई लगाइएका लुगा। कतै टोपीमात्रै, कतै टी सर्ट। कतै ज्याकेट पनि।
किन होला?
‘उ पारि अझै पनि तपस्वीहरु तपस्यामा छन् भन्ने विश्वास रहेछ,’ हिमालतिर औंला तेर्साउँदै हामीसँगै यात्रामा रहेका गणेश रेग्मीले सुनाए, ‘उनीहरु जसरी नै ध्यानमा बस्न नसक्नेहरुले ढुंगालाई लुगा लगाइदिने रहेछन्। ध्यानको फल मिल्छ भन्ने विश्वास रहेछ।’ वास्तवमा ढुंगालाई लुगा लगाइदिएपछि तिनीहरु सजीव भए झै लाग्दो रहेछ।


उनको कुराले केहीबेर थप अड्यायो यहीँ। जता हेरे पनि अनुपम सौन्दर्य। पूर्वीय दर्शनमा असाध्यै धेरै विश्वासका साथ पहिचान गरिएको ठाउँ। कठोर ध्यानका लागि कहलिएको ठाउँ। चुम्मकले ताने झै भनौ या मोहनी लागे झै भयो यस ठाउँको।
केहीबेर अलमलिएपछि फेरि अगाडि बढ्नैपर्ने थियो। किनकि यस दिन हामीले २२ किलोमिटर पैदल दुरी तय गर्नुपर्ने थियो। त्यसभन्दा पनि कठिन चाहिँ ५ हजार ६ सय ५० मिटरको एउटा पास पार गर्नु थियो।
यहाँको पैदलयात्रा नेपालमा भन्दा फरक अनुभूति भइरहेको थियो। हाम्रा हिमाली भेगमा जति धेरै विविधता पाइन्छ यहाँ थिएन। तिब्बती पठारसँग जोडिएको पहाडी यात्रा त्यसैले फरक थियो। यहाँ गोसाइकुण्ड जाँदाको लौरीविनाजस्ता अत्याउने उकालो थिएन। अधिकांश तर्पाएँ तर्पाएँ। तर, डोल्मा ला पास पुग्न चाहिँ उचाई लिनै पर्ने। यात्राको सबैभन्दा कठिन भाग यही थियो।
कतै फोटो र भिडियोमा रमाउँदै त कतै ससाना ढुंगाको चुली बनाउँदै हामी अगाडि बढिरह्यौं। उकालोलाई भुल्याउने सजिलो उपाय यस्तै हो। त्यसपछि चुचुरोतिर नहेरी पाइला चाल्नु सबैभन्दा राम्रो विकल्प। हामी त्यसरी नै चुलीतिर चुलिरह्यौं। धेरै कठिन अनुभव नै नहुँदै पुगियो – डोल्मा ला पास।
यहाँ धुप बाल्ने ठाउँ रहेछ। हिन्दु र बौद्धमार्गी दुवैले धुप बालिरहेका। लुङ्दर पूरै हिउँले ढलिरहेको। भदौको झरीले झारेको हिउँले कतै सेताम्मे।

‘यहाँ धेरै नअल्मलिनु। गइहाल्नुस्।’
डोल्माला पासको सबैभन्दा उचाईमा अलमल गरिरहेका हामीलाई गाइडहरुले सम्झाइरहेका थिए।
‘हस्,’ भन्दै हामी अल्मलिरह्यौं। रमाइरह्यौं।
त्यसपछि हामी थोरै तल झर्नासाथ देख्यौं – गौरीकुण्ड। सुन्दर, शान्त र स्निग्ध। कुण्डतिर झर्ने आँट आएन। नसकेर होइन, कुण्डबाट फेरि उकालिनुपर्ने भएकाले।
‘एकजना त बिते भर्खरै।’
गौरीकुण्डबाट थोरै अगाडि हामी बिश्राम गरिरहँदा कसैले सुनाए। नभन्दै, हामी जुन ठाउँमा फोटो खिचेर धेरै अल्मलिएका थियौं, त्यही एकजनाको इहलीला समाप्त भएछ। लेक लागेर एक तिब्बती ढलेको त आफ्नै आँखाले देखेकै हो। मृत्युको खबर चाहिँ अप्रत्यासित थियो। मृत्युलाई तटस्थ भावले स्वीकारियो। यात्रा अगाडि बढ्यो।

गौरीकुण्डबाट यात्रा ओरालोमात्र थियो। घोडामा सवार भएकाहरु अब पैदल चल्न बाध्य थिए। ओत लाग्न हामी जुथुलपुक् पुग्नुपर्ने थियो। जति उक्लियौं, त्यति नै ओर्लियौं। अनि समथर बाटोमात्र। खोलाको किनारकिनारै। जुथुलपुक् पुगुन्जेल जे जति दृश्य देखिए – क्यान्भासमा उतारिएको सुन्दर चित्र झै लागे।
जुथुलपुकमा एक रात बिताएपछि हाम्रो पदयात्रा ७ किलोमिटरमात्र बाँकी रहन्छ। त्यसपछि हामी फर्किने छौं। हाम्रो फर्काइको थ्रिलिङ पनि यात्राको अन्य पलभन्दा कम रोचक रहेन। त्यसबारे अर्को साता।